रिपोर्टसोमवार, आश्विन २२, २०७५

खाडीमा घरेलु कामदार प्रतिबन्धकाे असर, बिदामा आएका फर्किन पाएनन्

रामु सापकोटा

सरकारले खाडी मुलुकमा घरेलु काममा कामदार पठाउन प्रतिबन्ध लगाएका कारण बिदामा घर आएकाहरू फर्किन पाएका छैनन् ।

सिन्धुपाल्चोकका रमेशलाल श्रेष्ठ परिवारका साथ ।

यम्खा–१ खोटाङका किशोर विश्वकर्मा (४१) पाँच वर्षदेखि कतारको अदेजियामा एक राजपरिवारको घरमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका थिए । त्यहाँ मासिक रु.६० हजार कमाउने विश्वकर्माको कमाइले खोटाङको नौ जनाको परिवार पालिएको थियो ।

उनको कमाइ बाहेक घरमा आयस्रोतको अन्य माध्यम थिएन । राजपरिवारका सदस्यको घरमा रमाएर काम गरिरहेका विश्वकर्मा बाबु सिकिस्त बिरामी भएको खबर पाएपछि बिदा मिलाएर ९ साउन २०७५ मा नेपाल फर्किए ।

बिरामी बाबुको उपचार भयो । बाबु निको भए । उनी आफ्नो दुई महीनाको बसाइ सकेर कतार फर्किने निधो गरे । तर नेपाल सरकारले घरेलु कामदारका रूपमा खाडी मुलुक जान चैत २०७३ देखि नै प्रतिबन्ध लगाइसकेको थियो । आफूले पहिलेदेखि रोजगारी गरिरहेको ठाउँमा जान पाऊँ भन्दै श्रम विभागदेखि मन्त्रालयसम्म चहारेका उनी अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताउन थालेको बताउँछन् । विश्वकर्मा भन्छन्, “अब कि त सरकारले स्वदेशमा राम्रो रोजगारी दिनुप¥यो, होइन भने कतार जान दिनुपर्‍यो ।”

उनी जस्तै घरेलु कामदारको रूपमा साँगाचोक–४ सिन्धुपाल्चोकका रमेशलाल श्रेष्ठ (३६) ले बहराइनको जल्लाकस्थित रोयल कोर्टमा सरसफाइको काम गर्थे । ५ जेठ २०७५ मा ७५ दिनको बिदा मनाउन घर आएका उनी बिदा सकिए पनि बहराइन फर्किन पाएका छैनन् । बहराइनमा मासिक रु.४७ हजार तलब र राम्रो बस्ने सुविधा भएको बताउने उनी अहिले १० जनाको परिवार कसरी पाल्ने भनेर चिन्तित छन् ।

खोटाङका किशोर विश्वकर्मा ।

नेपालमा चश्माको लेन्स बेच्ने काम गरेर राम्रो कमाइ नभएपछि श्रेष्ठ ७ फागुन २०७० मा घरेलु कामदारको रूपमा बहराइन गएका थिए । त्यसको दुई वर्षपछि बिदामा नेपाल आएर फर्केका उनी अर्को पटक आएपछि भने फर्किन पाएनन् । उनी भन्छन्, “अब छोराछोरीको पढाइ खर्च कसरी जुटाउने भनेर चिन्तित छु ।”

श्रेष्ठले पुनः बहराइन जान पाउनु पर्‍यो भन्दै गएको २ असोजमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा निवेदन दिएका छन् । मन्त्रालयका अधिकारीले खाडीमा घरेलु कामदारका रूपमा श्रम स्वीकृति दिने कानूनी व्यवस्था नभएकाले अनुमति दिन नसक्ने जवाफ दिएका छन् ।

यससँगै मन्त्रालयले कानून संशोधन गरेर फर्किन नपाएकालाई पठाउने व्यवस्था गर्ने तयारी गरिरहेको छ । श्रममन्त्री गोकर्ण विष्ट राम्रो सेवासुविधा पाइरहेका कारण फर्किन चाहनेहरूका लागि मात्र बाटो खोल्न आफूले संसदीय समितिमा छलफलका लागि अनुरोध गरेको बताउँछन् । मन्त्री विष्ट दुई देशबीच सेवा, सुविधा, तलब र सुरक्षाको विषयमा सहमति भएपछि मात्र संसदीय समिति मार्फत प्रतिबन्ध फुकुवा गर्न सकिने बताउँछन् । उनी भन्छन्, “कामदारको सुरक्षाको ग्यारेन्टी नभएसम्म खाडी लगायतका मुलुकमा घरेलु कामदार पठाउन सकिंदैन ।”

स्विफ्ट इभालुएसनले सन् २०१७ डिसेम्बरमा प्रकाशित गरेको एक अध्ययन प्रतिवेदन अनुसार नेपालबाट खाडी लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि जानेमध्ये अधिकांश घरेलु कामदार छन् । उक्त अध्ययनले अवैध बाटोबाट त्यहाँ पुगेका अधिकांश नेपाली महिला शोषणमा परेको पनि उल्लेख गरेको छ । खाडी लगायतका मुलुकबाट काम गरेर फर्किएका करीब ९८ प्रतिशत महिलाले मालिकले प्रहरीकहाँ रिपोर्ट गर्ने धम्की दिएर शोषण गर्ने गरेको बताएको पनि अध्ययनमा उल्लेख छ ।

सरकारले खाडीका कुनै पनि मुलुकमा घरेलु कामदारको रूपमा काम गर्न जान प्रतिबन्ध लगाएपछि ठूलो संख्यामा कामदार विदेशमै बस्न बाध्य छन् । स्विफ्ट इभालुएसनको उक्त अध्ययनमा घरेलु कामदारलाई खाडी लगायतका मुलुकमा जान प्रतिबन्ध लगाएका कारण मालिकले पासपोर्ट जफत गरेर राख्ने क्रम बढेको र त्यसले कामदारलाई बँधुवा मजदूर बनाएको उल्लेख छ ।

कतारमा १८ वर्षसम्म घरमा काम गरेर फर्केका खोटाङका किशोर विश्वकर्मा धेरै कामदारहरू प्रतिबन्धका कारण नै नेपाल फर्किन नसकेको बताउँछन् । उनका अनुसार बिदा पाएर पनि नेपाल आउन नपाएकाहरूले पुनः फर्किने व्यवस्था मिलाउन कतारस्थित दूतावासमा निवेदन दिएका छन् ।
सिन्धुपाल्चोकका रमेशलाल श्रेष्ठ बहराइन फर्किन नपाएको थाहा पाएपछि बिदामा घर आउन ठिक्क परेका उनका साथीहरू नेपाल आउन सकेका छैनन् । श्रेष्ठले काम गर्ने घरमा अन्य १० नेपाली कार्यरत छन् । श्रेष्ठ भन्छन्, “लामो समयदेखि कतारमा रहेका मेरा साथीहरूले परिवार भेट्न पाएका छैनन् । सरकारले कहिले नेपालबाट पुनः बहराइन फर्किने स्वीकृति देला भनेर कुरेर बसिरहेका छन् ।” उनका अनुसार नेपाल आएर फर्किन नपाइने डरका कारण बालबच्चा र श्रीमान् छाडेर बहराइन पुगेका महिलाहरू उतै बसिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस