टिप्पणीसोमवार, आश्विन २२, २०७५

किशोरकिशोरीलाई मार्गदर्शन

हिमालखबर

डा. अरुणा उप्रेती

किशोर–किशोरीले अत्यावश्यक प्रजनन र यौन शिक्षा नपाउँदा उनीहरू आफ्नो शरीरको अधिकारको कुरामा सीमित छन्, शरीरको आदर गर्न जानेका छैनन् ।

किशोर–किशोरीलाई यौन शिक्षा दिनुपर्छ कि पर्दैन भनेर समाजमा विभिन्न टिप्पणी हुने गरेका छन् । अहिले यस्तो टिप्पणीमा समय खेर फाल्नुको अर्थ छैन । बरु कुन उमेरदेखि र कसरी यौन शिक्षा दिने भन्ने बहस आवश्यक देखिन्छ । किनकि शारीरिक र मानसिक रूपमा स्वस्थ रहन किशोर–किशोरीलाई प्रजनन शिक्षासँगै यौन शिक्षा जरूरी छ ।

त्यसो त विद्यालय शिक्षाका पाठ्यपुस्तकमा कक्षा ६ देखि नै प्रजनन स्वास्थ्य सम्बन्धी पाठ राखिएको पाइन्छ । तर, प्रायः शिक्षकले संकोचका कारण ‘आफैं पढ’ भनेर विद्यार्थीलाई छोडिदिने गरेको उदाहरण धेरै देखिएको छ । त्यसमा पनि यौन शिक्षा कसरी दिने भनेर अधिकांश शिक्षकलाई नै जानकारी छैन ।

प्रजनन र यौन शिक्षाको अभावमा समाजमा धेरै आपराधिक घटना भएका छन् । तर, यो समस्यालाई कसरी समाधान गर्ने भनेर खोजी भएको छैन । यसको मारमा प्रायः किशोरी पर्छन् । कतिपय किशोरी पढ्ने अवसरबाटै वञ्चित भएकाले विद्यालय तहमा प्रजनन र यौन शिक्षा राम्रै दिइए पनि उनीहरूले त्यसको लाभ पाउने कुरै भएन । अर्कातिर; पत्रिका, रेडियो, टीभी र इन्टरनेटका सामग्रीबाट किशोरकिशोरीले यौनबारे आधा–अपूरो ज्ञान प्राप्त गरिरहेका छन् ।

बढ्दो खुलापन र देखासिकीका कारण आज धेरै किशोरीहरू आफैंमाथि दुःख बिसाइरहेका हुन्छन् । कतिपय स्कूले किशोरीहरूले ‘ब्वाइफ्रेन्ड भएन भने त अरूको अगाडि लाज हुन्छ’ भन्ने सोचेको पाइन्छ । किशोरावस्थासँगै शारीरिक परिवर्तन किन हुन्छ, गर्भवती कसरी भइन्छ, यो उमेरमा यौन सम्पर्क किन गर्नुहुँदैन भन्ने ज्ञानको अभावमा गर्भपतन गराउने अवस्थासम्म पुग्नेहरू धेरै हुन्छन् । प्रायः यस्ता गर्भपतन असुरक्षित हुन्छन् ।

देशमा कानूनी रूपमा गर्भपतनको सुविधा हुनुपर्छ भन्दै लामो समय संघर्ष गरेपछि २०५९ सालमा यसले कानूनी मान्यता पाएको हो । तर, यो अधिकारको अँध्यारो पाटो के छ भने, अविवाहित किशोरीहरूले गर्भपतन गराउने क्रम बढिरहेको देखिन्छ । सानो उमेरमा यौन सम्पर्क गरेर गर्भ रहने अवस्था सृजना गर्नुको अर्थ हो, ती किशोरीहरू आफ्नो शरीरलाई आदर गर्दैनन् ।

उनीहरूले ‘यौन सम्पर्क गरेर के भो, गर्भपतन गराइहालिन्छ नि’ भन्ने सोचेको पाइन्छ । तर, यस्तो गर्भपतन सबै सुरक्षित नै हुन्छ भन्ने हुँदैन । कहिलेकाहीं गर्भ पाठेघरमा नभई गर्भनलीमा बस्न सक्छ । त्यस्तो अवस्थामा गर्भपतन गराउने औषधि प्रयोग गर्दा आन्तरिक रक्तस्राव भएमा तुरून्त शल्यक्रिया नगरिए ज्यान नै जोखिममा पर्छ ।

किशोरीहरूले यौन सम्पर्क गर्दा आफ्नो शरीरमाथि केके समस्या हुन सक्छ भन्ने कुरा बुझेका हुँदैनन् । कमैलाई थाहा होला, सानो उमेरमा गरिने यौन सम्पर्कले पाठेघरको क्यान्सर हुने जोखिम दोब्बर बनाउँछ । साथै, असुरक्षित यौन सम्पर्कले विभिन्न यौन रोग लाग्ने र एचआईभी संक्रमण समेत हुन सक्छ ।

हाम्रो सामाजिक संरचनाका कारण पनि किशोरीहरूलाई गाह्रो छ । यदि कुनै किशोरी गर्भवती भए घरका मानिसलाई भन्न सक्दिनन् । त्यो स्थितिमा उनले ‘अब के गर्ने’ भनेर मानसिक प्रताडना खेप्नुपर्ने हुन्छ । उनलाई प्रेम गर्ने युवक वा किशोर त्यो बेला जिम्मेवारीबाट पन्छिन्छन् ।

केही समयअघि १७ वर्षीया एक किशोरीलाई पेट दुख्यो भनेर राति १० बजे काठमाडौं मेडिकल कलेज ल्याइयो । आकस्मिक कक्षमा जाँच गराउँदा त उनी नौ महीनाकी गर्भवती रहिछन् । उनी गर्भवती रहेको घरका कसैलाई थाहा थिएन । रक्तचाप १८०/११० रहेको उनको अवस्था साह्रै नाजुक थियो । कति प्रयास गर्दा पनि उनलाई बचाउन सकिएन । उनी विवाहित भएको भए मृत्युपछि अस्पतालमा आफन्तजनले होहल्ला गर्ने थिए होलान् । तर, अविवाहित किशोरीको सुत्केरी अवस्थामा मृत्यु भएकोले परिवारका सदस्य केही बोलेनन् ।

स्त्रीरोग विशेषज्ञ डा. सरस्वती पाध्येले यो घटना सुनाउँदा मलाई पनि पुरानो घटना याद आयो । ३२ वर्षअघि भर्खर डाक्टरी पास गरेर प्रसूति गृहमा काम गर्दा मैले यस्ता घटना धेरै देखें । एउटा घटना त मेरो छिमेकमै भएको थियो । एक महिलाले अरूको घरमा भाँडा माझेर १६ वर्षीया छोरीलाई स्कूल पढाइरहेकी थिइन् ।

छोरी प्रेममा परिन् र कतै घुम्न जाँदा शारीरिक सम्पर्कपछि गर्भवती भइन् । ५–६ महीनापछि किशोरीकी आमाले छोरीलाई बान्ता भइरहन्छ, हेरिदिनोस् न भनिन् । मैले जाँच गरें । पेट ठूलो भएको देखे पनि आफू सिकारु नै भएकाले गर्भ रहेको शंका नै भएन । प्रसूति गृहमा स्त्रीरोग विशेषज्ञलाई जाँचिदिन आग्रह गरें । जाँच गरेपछि डाक्टरले भनिन्, “उनी गर्भवती छिन् ।” म चकित परें ।

ती किशोरीलाई सोध्दा बल्ल उनले बेलीविस्तार लगाइन् । एउटा निजी क्लिनिकमा लगेर उनको गर्भपतन गराइयो । त्यो घटनापछि ती किशोरीको जीवन नै बदलियो । उनी परिवारबाट अपहेलित भइन्, पढाइ छोडिन् । ३२ वर्षपछि पनि उनी मानसिक पीडामा छिन् । उनी त काठमाडौंमा थिइन् र सुरक्षित रूपमा गर्भपतन भएको थियो, गाउँघरमा कति यस्ता किशोरीहरूले असुरक्षित तरिकाले गर्भपतन गराउँदा ज्यान गुमाए होलान् ।

पछिल्लो समय किशोरीहरूले ‘आकस्मिक गर्भनिरोधक पिल्स’ लाई यौन सम्पर्क गरेपछि परिवार नियोजनको औषधि जसरी नियमित खाने गरेका छन् । तर, जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा कति गम्भीर र दीर्घकालीन असर पर्छ, कसैले विचार गर्दैन । ‘आकस्मिक चक्की’ कहिले र कसरी खाने भन्ने चेतना सबैतिर फैलिन सकेको छैन । त्यस्तो औषधिले किशोरीको शरीर तथा विवाहपछि प्रजननमा समेत नराम्रो असर पर्ने स्त्रीरोग विशेषज्ञले औंल्याउने गरेका छन् ।

पूर्वका एक शिक्षकले दुई साताअघि भनेका थिए, “गर्भपतनको सहज उपलब्धता भएकै कारण अहिले किशोर–किशोरीहरू सहजै यौन सम्पर्क राख्छन् र कुनै क्लिनिकमा गई गर्भपतन गराउँछन् । यसले गर्दा समस्या परेको छ ।” तर, म भन्छु– गर्भपतनको सहज सुविधाले होइन, किशोर–किशोरीलाई राम्रो मार्गदर्शन नभएकोले यस्तो भएको हो ।

यौन सम्पर्कलाई नैतिकता र अनैतिकताको पल्लामा जोख्नु भन्दा पनि यसलाई उमेरगत रूपमा जोड्दै स्वास्थ्यमा पर्ने असर हेरिनुपर्छ । त्यसरी हेर्दा किशोरीहरूले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यका लागि यौन सम्पर्क नगर्नु नै बुद्धिमानी हुन्छ । प्रेम गर्नु नराम्रो होइन । तर, प्रेमले ऊर्जा भर्दै जीवनलाई अगाडि बढाउन उत्साह दिनुपर्छ । किशोर अवस्थाको यौन सम्पर्कले जीवनलाई अँध्यारो बनाउने भएकाले सजग हुनुपर्छ ।

प्रेम भनेको जिम्मेवारी हो । यो कुरा किशोरीले आफ्नो प्रेमी वा साथीलाई बुझाउन सक्नुपर्छ । जब किशोरीहरू जीवनको एउटा चरण पार गरेर जिम्मेवारी लिन सक्षम हुन्छन्, अनि मात्र परिपक्व सोचले जीवनको रङ नै बदलिन्छ ।

यो लेख पढेर कति किशोरीहरूले ‘जे हुनु भइहाल्छ, यस्तो कुराको अर्थ छैन’ भन्लान् । तर, स्वास्थ्यकर्मी भएको नाताले र छोरीहरूको आमा पनि भएकीले छोरीहरूलाई जे सिकाएँ, देशका चेलीहरूलाई त्यो बाँड्नु आफ्नो जिम्मेवारी सम्झेकी हुँ ।

पढ्नुहाेस् । 

सम्बोधन नभएको बाल यौन जिज्ञासा

प्रतिकृया दिनुहोस