नेपालले थाइल्याण्डलाई १४० रनले हरायो, सन्दीपले लिए ५ विकेट
आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनाएको थियो। नेपालका लागि करन केसीले अविजित ४०, शरद भेषावकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ र विनोद भण्डारीले १५ रन बनाए।
१७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाएँदै १८ रन बनायो। वर्षाका कारण खेल रोकिएपछि डिएल नियमका आधारमा नेपाललाई विजयी घोषणा गरिएको हो।
थाइल्याण्डलाई न्यून योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले तीन ओभरमा एक मेडन राख्दै आठ रन खर्चे । खेलका म्यान अफ द म्याच करण केसीले एक दशमलव पाँच ओभरमा दुई रन खर्चेर तीन विकेट लिए। ललितनारायण राजवंशीले एक विकेट लिए। नेपाल तीन खेलमा विजयी हुँदै ६ अङ्कका साथ शिर्ष स्थानमा छ। – रासस