टिप्पणीआइतवार, आश्विन २१, २०७५

माधव, केपी र बानेश्वरका दुई पियक्कड

शेखर खरेल

माधवकुमार नेपाल सहित सत्तापक्षका नेताहरू आफ्नै दलको सरकारमाथि जाइलाग्दा प्रम ओलीको प्रतिक्रिया के हुने हो, प्रतीक्षाको विषय बनेको छ।

संघीय संसदको बर्खे अधिवेशनको अन्तिम दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टीको सरकारमाथि निर्मम प्रहार गरे। नेता नेपाल जसरी आफ्नै दलको सरकारमाथि जाइलागेका थिए, त्यो संसदीय अभ्यास भएका मुलुकहरूमा अत्यन्त दुर्लभ रूपमा देख्न सकिने परिघटना हो। सत्तापक्षका नेपालले सरकारको १८० डिग्रीको ‘पानोरामिक’ आलोचना गरेपछि उनी पछि बोल्ने पालोमा रहेका प्रतिपक्षी सांसदहरू निरुपाय झैं बनेका थिए। जुन जोश, कटाक्ष र दृष्टान्तका फेहरिस्त सहित नेपाल रोष्ट्रममा पेश भएका थिए, उनी पछि बोल्ने प्रतिपक्षी सांसदका निम्ति कुनै शब्द बाँकी रहेन।

‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि कोही किनारा लगाइदेऊ’ भन्दै नयाँबानेश्वरस्थित संघीय संसद भवनबाट नेपालले गरेको अमूक माझ्ीको पुकाराबाट न्यूयोर्कस्थित राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री खड्गप्रसाद ओली यतिसम्म झ्स्किए, उनले एक स्थानीय समाचार संस्थासँगको अन्तर्वार्तामा हाजिरीजवाफको शैलीमा बताए, ‘म दुईचार दिन संयुक्त राष्ट्रसंघतिर के आएको थिएँ, कतिपय नेताहरूले बोलेको सुनियो, लौन देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ। म फर्केर गइहाल्छु, आत्तिनुपर्ने केही छैन।’

यता नेता नेपालको माझ्ीको खोजी र उता ओलीको स्वयंलाई तारणहारको दावीले पंक्तिकारलाई उसको बाल्यकालतिर फर्काउँदै बानेश्वरको एक बहुचर्चित चुट्किलाको सम्झ्ना दिलायो। बानेश्वरका दुई पियक्कड आफ्नो मदहोशीमा अनेकौं हर्कत गर्थे रे ! एक साँझ् ती दुईमध्येका एक अधिक सुरापान पछि बानेश्वरका गल्ली र चोक नाप्दै फलाक्न थालेछन्, ‘म बानेश्वर किनिदिन्छु।’ जसै ती पियक्कड अर्का सुराप्रेमीको घर छेउ पुगेर उही राग अलाप्न थालेछन्, घरमै घ्याम्पो रित्याएर मदहोश उसको मित्र झयालबाट टाउको बाहिर निकाल्दै चिच्याएछन्, ‘म बानेश्वर मरिगए पनि बेच्दिनँ’।

वरिष्ठ नेता नेपालले बोलेको स्थान, संसद मात्र नभई उनको अभिव्यक्तिको समय समेत अर्थपूर्ण छ। ओलीले हिजो स्वेच्छाचारी ढंगमा सरकार चलाउँदा नेपाल लगायत ओली इतरका नेताहरू चूँसम्म बोल्न सकेका थिएनन्। पार्टीको नेतृत्वमा समेत ओली नै भएकोले सरकारमाथि पार्टीको अंकुश देखिएन। हुन त नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल नभएका होइनन्। तर, दाहाल न त सरकारको रवैयाप्रति कठोर देखिन्छन्, न त सरकारमाथि हुने प्रहारको प्रतिरक्षा नै गर्छन्। नेकपामा असन्तुष्ट समूहका नेता नेपालले सरकारमाथि त्यस्तो बेला प्रहार गरे, जुन बेला प्रम तथा पार्टी अध्यक्ष ओली अमेरिका तथा अर्का अध्यक्ष दाहाल सिङ्गापुरमा थिए। नेपालको अभिव्यक्तिको प्रत्युत्तर तत्कालै ओलीले न्यूयोर्कबाट एक अन्तर्वार्ता मार्फत दिए भने दाहालले चाहिं नेपालसँग सिङ्गापुरबाट टेलिफोन संवाद गरे। सबैभन्दा रोचकचाहिं, आफ्नो प्रहारले राजनीतिक मैदानमा तरङ्ग पैदा गरिरहँदा नेपाल फुत्त छिमेकी चीनको भ्रमणमा निस्किए।

ओलीको स्वेच्छाचारी शासनप्रति नेपाल शुरूदेखि नै असन्तुष्ट थिए। पार्टीको सानो वृत्तमा ओलीप्रति नेपाल लगायतका नेताहरूले असन्तुष्टि प्रकट गर्दै आए तापनि स्वयं ओलीका सामुन्ने उनीहरूको वक् कहिल्यै फुटेन। पार्टी भित्र आफ्नो खुला आलोचनामा उत्रिने हैसियत कुनै नेतामा नदेखेपछि ओली पनि सरकार संचालनमा बेलगाम अघि बढे। उता, ओली र सरकारको स्वेच्छाचारिताप्रति असन्तुष्ट रहँदारहँदै पनि पार्टी एकतापछि गाउँ–इकाईदेखि स्थायी समितिको निर्माण प्रक्रिया चलिरहँदा उनीहरूले कोपभाजनको डरले मुख खोलेनन्। यसबीच ओलीले महŒवपूर्ण मुद्दाहरूमा केन्द्रीय समितिको बैठक डाक्नु त परै जाओस्, सुझवका लागि स्थायी समिति समेत जरूरी देखेनन्। बरू, आफू अनुकूलका निर्णय उनले सचिवालय बैठकबाटै गर्दै आए। जसको पछिल्लो कडी प्रदेश इन्चार्ज र सह–इन्चार्जको नियुक्ति थियो। सचिवालयका अर्का सदस्य नेपाल अफ्रिकी महादेशको भ्रमणमा रहेका बेला ओलीले आफू र अर्का अध्यक्ष दाहाल अनुकूलका इन्चार्ज र सह–इन्चार्ज नियुक्त गरे।

ओली–दाहाल जोडीको यसै रवैयाबाट मर्माहत नेपालले लामो समयदेखिको आफ्नो मौनता यस्तो स्थान र समयमा तोडे, जुन बेला निर्मला पन्तको बलात्कारपछिको हत्या, एसिड प्रहारका कारण सम्झ्ना दासको मृत्यु, कास्कीकी अर्की १० वर्षीया बालिका श्रीया सुनारको बलात्कार पछिको हत्या, शान्ति सुरक्षाको खस्कँदो स्थिति, सार्वजनिक यातायातको सिण्डिकेटको पुनर्जीवन, दशैंको मुखमा चर्को मूल्य वृद्धि जस्ता अनेकौं कोलाहलका कारण पूरै राष्ट्र आक्रान्त भइरहेको थियो।

संयोगचाहिं, नेता नेपालले सरकारको चर्को आलोचना गर्दै गर्दा नेकपाका अन्य नेताहरू घनश्याम भुषाल, योगेश भट्टराई, विरोध खतिवडा, जगन्नाथ खतिवडा लगायत समेत खुलेरै आलोचनामा उत्रिएका छन्। प्रम ओली विदेशमा रहेकै कारण हो वा उनीप्रति असन्तुष्टहरू साँच्चै जाइलागेका हुन्, ओलीको स्वदेश फिर्ती भइसकेकाले त्यो छिट्टै प्रष्ट हुनेछ। उता, ओली आफू उपरका आलोचना र टिप्पणीलाई स्वाभाविक रूपमा लिंदै असन्तुष्टिको सम्बोधन गर्दै डेलिभरीतिर लाग्ने छन् वा आफ्नो स्वभाव अनुरूप असन्तुष्टहरूप्रति जाइलाग्नेछन्, त्यो प्रतीक्षाको विषय बनेको छ। यी दुई प्रश्नको उत्तर समयको गर्तमा रहे तापनि पार्टी इतर आलोचकहरूप्रति अरिङ्गाल झैं जाइलाग्न आह्वान गरेका ओलीमाथि पार्टीभित्रकै कामरेडहरू अरिङ्गालको भाँती आइलाग्नु उनका निम्ति पक्कै विडम्बना हो।

 

प्रतिकृया दिनुहोस