समाचारशनिवार, आश्विन २०, २०७५

जुवाखालबाट भाग्न तीनतलाबाट हाम्फाल्दा दुईको मृत्यु

हिमालखबर

काठमाडौंको, कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम्फाल्दा शुक्रबार राति दुईजनाको मृत्यु भएको छ । उनीहरुको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा स्थानीय ४१ वर्षीय सरोज घले र सिन्धुपाल्चोक भोटेचौर निवासी सुमन लामाको मृत्यु भएको हो।

प्रहरीले जुवाखालबाट एक महिलासहित २३ जनालाई पक्राउ गर्नाका साथै रु चार लाख ५८ हजार र केही थान सुनका गरगहना बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिए । उक्त स्थानबाट केही खुकुरी र मोटरसाइकलका साथै जुवा खेलाउन प्रयोग गरिने केही सामग्री समेत बरामद गरिएको छ। - रासस

प्रतिकृया दिनुहोस