टिप्पणीशुक्रवार, आश्विन १९, २०७५

उत्खनन्‌का कमजोर पक्ष

वसन्त महर्जन

दक्ष जनशक्तिको अभावमा हुने गलत उत्खनन् पद्धतिले एकातिर प्रमाणहरू नष्ट हुनेछन् भने अर्कोतिर विषय क्षेत्रको ज्ञान नभएका कारण प्राप्त पुरावशेषको अपव्याख्या हुने खतरा रहन्छ ।

फाइल तस्वीर ।

काठमाडौं उपत्यका कुनै बेला तलाउको रूपमा रहेको कुरामा प्रायः सबै सहमत छन् । पानीले निकास पाएर बनेको उपत्यकामा मानव बसोबास वा गतिविधिका विषयमा खासै अध्ययन भने भएको पाइँदैन । धार्मिक ग्रन्थहरूमा उल्लिखित तिलस्मी कथा–कहानीलाई नै इतिहास मानेर बस्नु र त्यसैलाई प्राज्ञिक कर्म भन्ठान्नु उदेकलाग्दो कुरा हो । यसका लागि पुरातात्विक अध्ययनको दरकार पर्दछ तर हामीकहाँ यसको शिक्षण कार्य निकै नै कमजोर छ । 

नेपालमा २००९ सालमा पुरातत्व विभागको स्थापना भएको हो । विभागको गठन र संचालनका सम्बन्धमा पहिलो महानिर्देशक सत्यमोहन जोशी पुरातत्व के हो भन्ने कुरा थाहै नपाइकन विभाग चलाउनु परेको बाध्यता सुनाउँछन् ।

विभागलाई अगाडि बढाउनका लागि नीलरत्न बनर्जी, ए. घोष लगायतका भारतीय पुरातत्वविद्हरूको सहयोग लिनु परेको र भारतमै पुरातत्वको अध्ययन गरेर फर्केका नेपाली जनशक्तिबाट लामो समयसम्म विभाग धानिएको थियो ।

त्रिभुवन विश्वविद्यालयमा पुरातत्वको पठनपाठन शुरू भए पनि पर्याप्त थिएन र विभागले थप अध्ययनका लागि भारतमै पठाउँथ्यो । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट काठमाडौंमा संचालित एक वर्षको पीजीडी कोर्स ‘आर्कोलोजी एण्ड बुद्धिस्ट कलेक्शन’ बाट केही आशा गर्न सक्ने ठाउँ थियो तर विश्वविद्यालयका अन्य कार्यालयहरू काठमाडौंबाट हटाउने क्रममा यो शैक्षिक कार्यक्रम पनि स्थगन गर्ने सोचमा रहेको बुझिन्छ , जुन पुरातत्व क्षेत्रका लागि सुखद होइन ।

‘स्वयम्भूपुराण’ लगायत नेपालको साहित्यले गौतम बुद्ध काठमाडौं उपत्यकामा पनि आएको र धार्मिक कार्यमा संलग्न भएको वर्णन गरे पनि ऐतिहासिक दृष्टिमा यो कुरा पुष्टि हुँदैन । तर बुद्धको अन्तिम समयतिर कपिलवस्तुमा कोशल नरेश विडूडभको आक्रमण भएको र त्यस आक्रमणबाट प्रभावित शाक्यहरू काठमाडौं उपत्यकामा पसेको प्रसङ्गलाई भने नकार्न सकिन्न ।

तिनै शाक्यहरूलाई भेट्न गौतम बुद्धका उपस्थापक (निजी सचिव) भिक्षु आनन्द व्यापारीहरूका साथ काठमाडौं आएको र काठमाडौंमा चिसोका कारण जुत्ता नलगाउने भिक्षुहरूलाई गाह्रो भएको वृत्तान्त बुद्धलाई सुनाएको ‘मूलसर्वास्तीवादविनयसूत्र’ नामक ग्रन्थमा उल्लेख छ ।

यस वर्णनबाट काठमाडौं एक व्यापारिक केन्द्रका रूपमा उहिल्यै विकास भइसकेको, कपिलवस्तु लगायत क्षेत्रको जनजीवनको आउजाउ काठमाडौं उपत्यकामा भइसकेको, बौद्ध धर्म दर्शनको अभ्यास गर्नेहरू पनि रहेको तथा दूरदराजको सभ्यतासँग पनि परिचित भइसकेको थाहा हुन्छ । काठमाडौं उपत्यकाको इतिहास अध्ययनका लागि यो सूचना बडो महत्वपूर्ण छ ।

लिच्छविकालीन अभिलेखहरूमा उल्लेख भएको ‘गुंविहार’ लाई नेपालको पहिलो बौद्ध विहार मानिन्छ । सबै विहारहरू संस्कृत भाषामा रहेको तर यो विहारको नाम मात्र गैरसंस्कृतमा रहेका कारण काठमाडौंमा संस्कृत भाषा व्यवहारमा आउनु अघिको भन्ने मान्यता राखिनु स्वाभाविक हो ।

गुंविहार जस्तै गैरसंस्कृत भाषामा रहेका ठाउँ, अड्डा अदालत तथा विभिन्न निकायहरूको नामले प्राचीन नेपालको समृद्धिबारे जानकारी दिन्छ । यस अर्थमा गुंविहार एउटैलाई पहिलो विहार भनिहाल्नु उचित होइन । लिच्छविकाल वा संस्कृत भाषाको प्रयोग हुनुअघि नै यहाँ बौद्ध विहारहरू बनिसकेका र तीमध्ये एउटाको नाम गुंविहार भनी अथ्र्याउँदा इतिहास अझ स्पष्ट खुल्ने हुन्छ ।

पुरातात्विक महत्वका वस्तुहरू भेटिंदा नेपालमा आजभोलि त्यसको निरीक्षणसम्म गर्ने जनशक्तिको अभाव छ । पुरातत्व सम्बद्ध सीमित जनशक्तिले सबै ठाउँ भ्याउन सकिन्न र एउटै व्यक्ति सबै कुरामा पारंगत हुँदैन पनि ।

यस अवस्थामा पुरातत्वको विषय क्षेत्रभन्दा बाहिरको व्यक्तिले पनि यस सम्बन्धमा आफ्नो धारणा व्यक्त गरिरहने तथा गैरजिम्मेवारपूर्वक निर्णयहरू लिने गर्नाले कतिपय ऐतिहासिक प्रमाणहरू नष्ट हुने गरेका छन् । पुरातात्विक स्थल उत्खनन्को कुरा आउनासाथ यस सम्बद्ध व्यक्तिहरू सशंकित हुनाको मुख्य कारण हो, दक्ष जनशक्तिको अभाव ।

गलत उत्खनन् पद्धतिले एकातिर प्रमाणहरू नष्ट हुन्छन् भने अर्कोतिर विषय क्षेत्रको ज्ञान नभएका कारण प्राप्त पुरावशेषको अपव्याख्या हुने खतरा छ । विदेशीको आर्थिक सहयोगमा उत्खनन् हुँदा उनीहरूकै वर्चस्व रहने र स्वदेशीको भूमिका दृष्टिसाक्षी बस्नमा नै सीमित हुने गरेको छ ।

पुरातात्विक उत्खनन्मा आजभोलि त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका पुरातत्व सम्बद्ध विद्यार्थीलाई संलग्न गराउन थालिएको छ । २०७२ सालपछि काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा भएका उत्खनन् कार्यमा यी दुई विश्वविद्यालयका विद्यार्थीको संलग्नता थियो ।

लुम्बिनी र कपिलवस्तुमा भएको उत्खनन्मा पनि संलग्न हुनसक्नुले पुरातत्वको क्षेत्रमा केही आशा गर्न सकिन्छ । यी विद्यार्थी भोलि पुरातत्व क्षेत्रमा नै संलग्न हुन्छन् वा अन्यत्र लाग्छन् बेग्लै कुरा हो, तर यहाँ पाएको ज्ञान कला, साहित्य, संस्कृति तथा पर्यटन लगायत अन्य क्षेत्रमा उपयोग गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस