जर्सी नम्बर २२
सन् १९४८ मा गुल्मीको भार्सेमा जन्मेका श्याम थापा नेपालमा भन्दा भारतमा चर्चित छन् । सन् १९७० देखि १९७४ सम्म भारतीय राष्ट्रिय टीमका स्ट्राइकर रहेका उनी लामो समय इष्ट बङ्गाल क्लब र मोहन बगान क्लबमा आवद्ध रहे । लाहुरे परिवारका उनी देहरादुनको गोर्खा स्कूलबाट सुव्रतो मुखर्जी कप खेल्न कोलकाता जाँदा १३ वर्षका मात्र थिए । पारिवारिक दबाबमा उनी भारतीय सेनामा सन् १९६७ मा भर्ती पनि भए, तर साढे दुई वर्षमै जागिर छाडेर इष्ट बङ्गाल क्लबमा अनुबन्धित हुन पुगे । इष्ट बङ्गालमा उनी सन् १ ९७० देखि ६ वर्षसम्म रहे ।
त्यो बेला थापाले एक सिजनमा भारु ४५ हजार पाउँथे, जुन त्यो बेलाको सर्वाधिक ठूलो राशी थियो । त्यसपछि सन् १९७७ मा थापा भारु ७० हजार पारिश्रमिक लिने गरी मोहन बगानमा अनुबन्धित भए । देहरादुनमा मोहन बगानसँग सम्झैता गर्न उनी प्रहरीको भ्यानमा जानु परेको थियो, क्लबहरूको तानातान र समर्थकहरूको भीडका कारण । “बढी पारिश्रमिक भन्दा पनि फूटबलका बादशाह पेलेसँग खेल्न पाउने लालसाले मोहन बगानमा गएको थिएँ”, उनी सम्झ्न्छन्, “त्यतिबेला अमेरिकाको कसमस क्लबबाट आएको पेलेको टीमसँग मोहन बगान भिड्दै थियो ।”
नभन्दै, मैदानमा २–१ ले पछाडि परेको मोहन बगानलाई थापाको गोलले बराबरीमा पुर्यायो, जुन उनको खेल जीवनको सबभन्दा सम्झ्नलायक क्षण बन्न पुग्यो । थापा जुनसुकै क्लबबाट खेल्दा पनि २२ नम्बरको जर्सी लगाउँथे । खेल सकिएपछि कुन खेलाडी मन प¥यो भनेर सोधिएको प्रश्नमा पेलेले ‘जर्सी नम्बर २२ इज द वेस्ट’ भनेपछि थापाको ख्याति सगरमाथाको उचाइमा पुगेको थियो ।
सन् १९७० को ब्याङ्कक्मा भएको एसियन गेममा भारतलाई फूटबलमा कास्य पदक जिताए बापत थापाले अहिले मासिक भारु ६ हजार पेन्सन बुझ्रिहेका छन् । रुपन्देहीको मङ्गलापुरमा पनि घर छ, तर उनी कोलकातामा भारत सरकारले उपलब्ध गराएको घरमा बस्छन् । नेपाली भएर भारतका लागि खेल्दा उनले अपमानबोध पनि गर्नु पर्यो । सन् १९७६ र १९७७ को हाइस्कोरर भएर पनि उनलाई सन् १९७८ को एसियन गेममा छनोट गरिएन । त्यसअघिका दुई वटा एसियन गेममा लगातार खेलेको अनुभव भएका थापा टीमको कप्तानको एक मात्र हकदार थिए । “तर, एसियन गेम खेलेको टीम कप्तानलाई स्वतः अर्जुन पदक दिनुपर्ने भएकाले मलाई टीममै राखिएन”, थापा भन्छन् ।
उनी राष्ट्रिय टीममा नपर्दा चौतर्फी विरोध भएपछि क्लोज क्याम्पमा आउन पत्र पठाइयो तर थापा गएनन् । त्यतिबेला टीममा नफर्कनुलाई उनी आफ्नो गलत निर्णय ठान्छन् । सन् १९९० को विश्वकप हेर्ने बेलामा पनि उनले यस्तै निर्णय गरे । इटाली जान देहरादुनको जग्गा भारु २ लाखमा बेचेर कोलकाता पुग्दा सरकारी खर्चमा विश्वकप हेर्ने सूचीमै उनको नाम रहेछ ।
सन् १९८३ मा इष्ट बङ्गाल क्लबमा फर्किएको एक वर्षपछि उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिए । र, सन् १९८५ देखि त्यही क्लबबाट सहायक प्रशिक्षकको रूपमा नयाँ करिअर शुरु गरे । सन् १९८७ मा लण्डनबाट डिप्लोमा इन कोचिङ गरे । त्यसपछि अल इन्डिया फूटबल फेडेरेसनमा प्रशिक्षक भए । सन् १९९० देखि २००२ सम्म किशोर खेलाडी तयार गर्ने विलियम मेगर कम्पनीको परियोजना निर्देशक रहेका उनी सन् २००४ मा प्रशिक्षक भएर नेपाल आउनु अगाडि मोहन बगानमा प्राविधिक निर्देशक थिए । नेपालमा उनी यु–१६, युथ–१९ हुँदै राष्ट्रिय टीमको प्रशिक्षक बने । माओवादी द्वन्द्व र एन्फा आफैं विवादमा फँसिरहेका बेला नेपाली फूटबलमा चाहे जति गर्न नसकेको थापा बताउँछन् ।
अहिले कोलकाताको पाइलन वल्र्ड स्कूलमा फिफाको युवा विकास कार्यक्रमका निर्देशक छन्, उनी । उनी नेपाली फूटबलको विकास नभएको भन्दा पनि कछुवागति भन्न रुचाउँछन् । उपयुक्त वातावरण बनाउन सके नेपाल फूटबलबाटै विश्वमा चिनिन सक्ने उनको आकलन छ । थापा भन्छन्, “कम्तीमा १५–२० वर्षको योजना बनाएर अघि बढ्ने हो भने फूटबलबाटै नेपाल विश्वमा चिनिन सम्भव छ ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट साभार