रिपोर्टबिहिवार, आश्विन १८, २०७५

‘अवैध’ मुलुक इराक जान महिलाहरुको ओइरो

हिमालखबर

कल्पना भट्टराई, सिन्धुपाल्चोकबाट फर्केर

रोजगारीका लागि प्रतिबन्धित मुलुक इराक नगएका सदस्य भएको घर भेटाउनै मुस्किल छ, मार्मिङ गाउँमा । अहिले इराकमा रहेका यस वडाका २४७ जनामध्ये महिलाको संख्या १५९ छ ।

मार्मिङको छ्यादी गाउँ । तस्वीरहरु: कल्पना भट्टराई

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङ छ्यादीका बहादुर तामाङ (२६) ६ वर्षसम्म नेपाली कामदारका लागि प्रतिबन्धित मुलुक इराकमा बसेर २०७४ मा स्वदेश फर्किए । उनको गाउँका थुप्रै साथी अझै इराकमै छन् । साथीहरूले कमाइ राम्रो हुन्छ भनेपछि उनले इराक पठाउने काठमाडौंका एक दलाललाई रु.१ लाख ५० हजार नगद र पासपोर्ट बुझाएका थिए । 

दलालले उनलाई भिजिट भिसामा काठमाडौंदेखि दुबई हुँदै इराक पुर्‍यायो । उनी भन्छन् “दलालको काम नेपालबाट इराक छिराउने मात्रै हो । त्यहाँ पुगेपछि सबै रिक्स आफैं लिनुपर्छ । मैले रु.३५ हजार मासिक तलबमा एयरपोर्टमा सिसा पुस्ने काम पाएँ ।”

२०६८ सालमा इराक पुगेका उनले आफू गएको एक वर्षपछि बहिनी छिरिङ र श्रीमती छेयलमुलाई पनि इराक बोलाए । उनीहरू गाउँकै एक दलालमार्फत इराक पुगे । इराकमा महिलाका लागि जोखिम छ भन्ने जान्दाजान्दै पनि घर–व्यवहार चलाउन र ऋण तिर्न नपुगेपछि बहिनी र श्रीमतीलाई घरेलु कामका लागि इराक बोलाएको उनको भनाइ छ ।

त्यस्तै, मार्मिङकै निशा तामाङ (१९) अहिले इराकमै छन् । उनलाई गाउँकै नातामा काका पर्ने सार्की तामाङले घरेलु कामदारका रुपमा दिल्लीबाट इराक पुर्‍याएका हुन् । भूकम्पमा ढलेको घर उठाउन र हजुरआमालाई उपचारका लागि लागेको खर्च तिर्नका लागि छोरीलाई इराक पठाएको आमा सोङ्गी तामाङ बताउँछिन् ।

यी त उदाहारण मात्रै हुन् । मार्मिङ त्यस्तो गाउँ हो, जहाँ इराक नगएको सदस्य भएको घर भेटाउनै मुस्किल छ । गत हप्ता त्यस गाउँका अधिकांश घरमा पुग्दा कति घरबाट त तीन जनासम्म इराक गएको भेटियो ।

मार्मिङ वडा स्तरीय महिला सञ्जालले १३ असार २०७५ सम्म संकलन गरेको तथ्यांक अनुसार, उक्त वडाबाट अहिले ४४४ जना कामको खोजीमा विदेश गएका छन् भने इराक जाने मात्रै २४७ जना छन् । जसमा महिलाको संख्या १५९ छ ।

पुरुषलाई कम्पनीको काममा लैजाने गरे पनि महिलालाई घरेलु कामदारका रुपमा मात्रै लैजाने गरेको छ्यादीका बहादुर तामाङ बताउँछन् । जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि गरीबीका कारण यहाँका महिला र पुरुष इराक गइरहेको र कतिपयले देशमै बसी दलाली गरिरहेको उनको भनाइ छ ।

वडा–५ का वडाध्यक्ष सुब्बा लामाका अनुसार, भूकम्प अघिसम्म यस वडाबाट निकै कम युवा विदेश जान्थे । केहीले खेती–किसानी गर्थे, केही खासा र तातोपानी नाकामै बसेर व्यवसाय गर्थे भने धेरैजसो खासामा भरियाको काम गर्थे । भूकम्पले घर ढल्नु र तातोपानी नाका पनि बन्द भएपछि युवाहरूले विदेश ताकेको उनको भनाइ छ ।

भोटेकोशी गाउँपालिका– ५ मार्मिङको छ्यादी, गोल्छे, चन्द्रखु, तामाङ टोल, हेङले, ट्याङथली, चाकु लगायत गाउँहरूबाट विपन्न र अशिक्षित महिलालाई मानव तस्करले आफ्नो फन्दामा पारिरहेको माइती नेपाल सिन्धुपाल्चोककी कार्यक्रम संयोजक पवित्रा घिमिरे बताउँछिन् । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भीम बस्नेत, राहदानी बनाउने सेवाग्राहीसँग ।

नेपालीहरू रोजगारीका लागि कहिलेदेखि इराक जान थाले भन्ने यकिन तथ्यांक नभए पनि ३० हजार भन्दा बढी नेपाली हाल इराकमा छन् । १६ भदौ २०६१ मा वैदेशिक रोजगारीका लागि जोर्डन लैजाने भन्दै इराक पुर्‍याइएका १२ नेपालीलाई विद्रोही समूहले हत्या गरेपछि नेपाल सरकारले रोजगारीका लागि इराक जान प्रतिबन्ध लगाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार शाखाका उपसचिव दीपक ढकाल बताउँछन् । सरकारले प्रतिबन्ध लगाए पनि रोजगारी खोज्दै दलालहरुको सञ्जालमार्फत अवैध बाटोबाट इराक पुगेका महिलाहरू बढी जोखिममा परेको उनको भनाइ छ ।

घरेलु कामदारका रूपमा इराक गएर हिंसामा परेका कतिपय नेपाली चेलीको उद्धार गरिएको छ । उद्धार हुनेहरुका अनुसार, अवैध किसिमले इराक पुगेका कतिपय नेपाली चेली किनबेच हुनेदेखि यौनशोषणमा परेका छन् ।

अवैध बाटोबाट प्रस्थान
असार २०७५ मा सिन्धुपाल्चोककी रिया तामाङ (२३) (नाम परिवर्तन) लाई वर्क फर नेपाल फाउन्डेशन सिन्धुपाल्चोक, इराकका नेपालीहरु र अध्यागमन विभागका प्रहरीको सहयोगमा इराकको बग्दादस्थित एक घरबाट उद्धार गरी नेपाल फर्काइयो ।

इराकबाट बेचिएर फर्किएकी एक युवती ।

फाउन्डेसनका कार्यवाहक अध्यक्ष दावा तामाङका अनुसार, इराकको अध्यागमन विभागको प्रहरीलाई १५०० डलर घुस खुवाएर उनीहरूकै सहयोगमा रियाको उद्धार गरिएको हो ।

रियालाई ६ वर्षअघि गाउँकै एक दलालले किर्गिस्तान पठाइदिने भन्दै झुक्याएर इराकको बग्दाद पुर्‍याएको थियो । सुरक्षा गार्डको काम गर्ने श्रीमान्को कमाइले घर–व्यवहार धान्न कठिन भएपछि रियाले श्रीमान्कै सल्लाहमा इराक जाने योजना बनाएकी थिइन् । श्रीमान्ले नै आफन्त पर्ने एक दलाललाई पासपोर्ट र पैसा बुझाएपछि उनी अवैध बाटो भारत हुँदै इराक पुगिन् ।

उनका अनुसार, काठमाडौंको जोरपार्टीबाट हिँडेको बस आफूलाई थाहा नभएको नाका हुँदै भारतको एउटा गाउँमा पुग्यो । उक्त बसमा उनीसहित सिन्धुपाल्चोककै अन्य चार महिला र काठमाडौंका एक नेपाली दलाल थिए । ती दलालले चार महिलालाई एक वृद्धाको जिम्मा लगाए ।

मार्मिङकी सोङ्गी तामाङ । उनकी छोरी निशा चार महिना अघि इराक पुगेकी हुन् ।

वृद्धाले हिन्दीभाषामा “बाटोमा पुलिसले सोध्यो भने आफन्तलाई भेट्न आएको भन्नु” भनेर सिकाइन् । ती वृद्धाले भोलिपल्ट उनीहरूलाई कुनै रेलवे स्टेशन पुर्‍याएर अर्को दलालको जिम्मा लगाइन् । रेलबाट भारतको कुनै गाउँको एक घरमा एक हप्ता राखेपछि दिल्ली एयरपोर्टमा पुर्‍याएको रिया सम्झन्छिन् । उनी भन्छिन् “दिल्लीमा फेरि अर्को दलालको जिम्मा लगाइयो । त्यहाँ पुग्दासम्म हामी महिलाको संख्या १० पुगेको थियो ।”

दिल्ली एयरपोर्टबाट उनीहरू भिजिट भिसामा दुबईका लागि उडे । दुबईमा एक दिन बसेपछि एक अरबी दलालले उनीहरूलाई कुवेत पुर्‍याएर अर्को अरबी दलालको जिम्मा लगायो, त्यही दलालले उनीहरूलाई इराक पुर्‍यायो । 

इराक पुगेपछि मात्रै उनीहरूले पासपोर्ट र अन्य कागजात पाए । अर्को एक अरबी दलालले उनीहरूलाई इराकको सुलेमानियास्थित कुनै घरमा तीन दिन राखेर इराकको बग्दाद पुर्‍यायो । रिया भन्छिन् “बग्दादमा चार दिन राखेपछि एक व्यक्तिले मलाई इराकको बचरास्थित एक घरमा लग्यो । त्यस घरको मालिकले काममा अनुभव भए ३५० डलर तलब दिने र नभए ३०० डलर मात्रै हुने बताएको थियो ।”

रियाले मालिकका दुई वटा घरको सरसफाइ लगायत काम गर्नुपथ्र्यो । त्यहाँ काम सुरु गरेकै दिनदेखि यातना सहनुपर्‍यो । उनी भन्छिन् “मालिककी श्रीमतीले अनेक आरोप लगाएर कुटपिट गर्थिन् । दुई वर्षसम्म काम गर्ने सहमति भएकाले सहेर काम गरेँ ।” दुई वर्षपछि नेपाल फर्कन खोज्दा मालिकले ‘१२ हजार डलरमा किनेर ल्याएकाले जे भन्यो, त्यही मान्नुपर्छ नत्र मारिदिन्छु’ भन्दै धम्की दिएपछि मात्रै रियाले आफू बेचिएको थाहा पाइन् ।

एक दिन मालिकले पासपोर्टको म्याद सकिएकाले कागजात बनाउन बग्दाद जानुपर्ने बतायो । उनको पासपोर्ट लगायत कागजात मालिकले नै राखेको थियो । पासपोर्ट बनाउने बहानामा मालिकले बग्दादको एक दलालसँग उनको भेट गरायो । उक्त दलालले बग्दादको एक घरमा काम गरे मात्रै पासपोर्ट लगायत कागजात बनाइदिने भन्यो । रिया भन्छिन् “मलाई त फेरि १० हजार अमेरिकी डलरमा बेचिएको रहेछ । मैले फेसबुक, इमोमार्फत उद्धार गर्न आग्रह गरेँ ।” त्यही घरबाट उनलाई उद्धार गरिएको हो ।

दलालहरूले प्रहरीसँग सेटिङ मिलाएर नेपाली चेलीलाई दिल्ली, श्रीलंका, दुबई र कतारको विमानस्थल हुँदै इराक पुर्‍याउने गरेको फाउण्डेशनका दावा तामाङ बताउँछन् ।

अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेल प्रतिबन्धित देशहरूमा भिजिट भिसामा वैदेशिक रोजगारमा जाने कामदारलाई रोक्न विभागले भिजिट भिसा सम्बन्धी मापदण्ड–२०७५ बनाउँदै गरेको बताउँछन् ।

त्यस्तै, प्रतिबन्धित देशमा जानदेखि कसरी रोक्न सकिन्छ भनी गृह र परराष्ट्र मन्त्रालयसँग छलफल भइरहेको तर तत्काल नियन्त्रण गर्ने विषयमा कुनै योजना बनिनसकेको वैदेशिक रोजगार शाखाका उपसचिव ढकालको भनाइ छ ।

बाटोदेखि नै यौन शोषण
काठमाडौंमा ज्यामी काम गर्दै आएकी सिन्धुलीकी सीता लामा (नाम परिवर्तन) लाई चिनजानकै एक दलालले दुबई लैजाने भन्दै फागुन २०७४ मा इराक पुर्‍यायो । एसएलसी उत्तीर्ण सीतालाई दलालले रु.५० हजार तलब पाउने गरी दुबईमा अफिसमा काम लगाइदिने बताएको थियो । 

थुप्रै नेपाली चेलीसहित भारत पुगेकी सीताले आफू बेचिएको चाल पाइन् र फर्कने कोसिस गरिन् । तर, दलालले रु.४–५ लाख खर्च भइसकेकाले फर्कने भए त्यो रकम तिर्नुपर्ने बतायो । उनी दलालले भने अनुसार गर्न बाध्य भइन् ।

दुबई लैजाने भनिए पनि उनलाई दिल्ली हुँदै श्रीलंका, श्रीलंकाबाट दुबई, दुबईबाट इराक पुर्‍याइयो । उनी भन्छिन् “श्रीलंकामा एउटै कोठामा २०० जति महिलाई एकै ठाउँमा कोचेर दुई महिनासम्म राखियो । अरबी दलालहरूले त्यहाँ मन लागेका बेला यौन शोषण गर्थे ।”

श्रीलंकामा उनीहरूलाई जंगल बीचको एक घरमा राखिएको थियो । एक दिन सीतामाथि पनि यौन शोषणको प्रयास भयो । उनी भन्छिन् “त्यो रात म रूखमा चढेर बचें । पूरै रात रूखमै बिताएँ ।”

उनका अनुसार, श्रीलंका पुगेपछि दलालको यौन शोषणबाट गर्भवती भएका महिलाहरूले त्यहीँ नै आत्महत्या समेत गरेका छन् ।

दलालहरूले नेपालबाट आएका चेलीहरूलाई बेच्न सजिलो होस् भनेर इराकमा सम्पर्क कार्यालय खोलेका थिए । त्यहाँ महिलाहरूको रूप, उमेर, बैंश र शरीर हेरेर बिक्री गरिने सीता बताउँछिन् । उनका अनुसार, एक महिलालाई आठ हजारदेखि १५ हजार अमेरिकी डलर सम्ममा बिक्री गरिन्छ ।

उनी भन्छिन् “मेरै आँखा अगाडि दलालले रु.१३ लाख जति बुझ्यो र मलाई एउटा घरमा घरेलु काम गर्नका लागि पुर्‍याइयो । घरको सरसफाइ लगायत काम गर्नैपथ्र्यो, सँगसँगै त्यस घरको मालिकले यौन प्रस्ताव पनि राख्थ्यो, नमाने कुटपिट गथ्र्यो ।”

त्यस घरमा मासिक रु.३० हजार जति तलब दिने भनिए पनि सीतालाई आठ महिनाको तलब दिइएन ।

उनलाई पनि वर्क फर नेपाल फाउण्डेशन सिन्धुपाल्चोकले इराकस्थित नेपालीहरूको सहयोगमा त्यहाँको अध्यागमन विभागका प्रहरीलाई १७०० डलर घुस खुवाएर ६ महिना अगाडि उद्धार गरेको हो ।

फाउण्डेशनका कार्यवाहक अध्यक्ष तामाङ भन्छन् “इराकमा नेपाली दूतावास नहुँदा कुवेतस्थित नेपाली दूतावासबाट उनको नागरिता र फोटोको आधारमा ट्राभल डकुमेण्ट बनाएर नेपाल फर्कायौँ ।”

महिला विरुद्ध मुद्दा बढी
जिल्ला अदालत सिन्धुपाल्चोकको अभिलेख अनुसार, ७५ वर्षअघि १७ फागुन २००० मा परेको एक मुद्दा नै मानव बेचबिखन सम्बन्धित जिल्लाकै पहिलो मुद्दा थियो । र, यो एक महिला विरुद्ध थियो । अदालतको मिसिल अनुसार, सिंहबहादुरले कुसुमकुमारी विरुद्ध जाहेरी दिएका थिए । महिलालाई महिलाले नै बेचेको यस मुद्दाको फैसला ८ भदौ २००१ मा भयो ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार, पक्राउ पर्न बाँकी पछिल्लो मुद्दामा पनि महिला नै प्रतिवादी छिन् । २०७१ सालमा दर्ता भएको सो मुद्दामा प्रतिवादी रहेकी पांग्रेटारकी एक महिला अझै फरार छिन् ।

७५ वर्षयता मानव बेचबिखन गरेको आरोपमा जिल्लामा दर्ता भएका झ्ण्डै १०२ मुद्दामध्ये आधाजसोमा महिला प्रतिवादी छन् । अदालतको तथ्यांकअनुसार, २६ चैत २०२५ मा दर्ता भएको मुद्दामा प्रमिला लामा प्रतिवादी रहेको देखिन्छ । यो मुद्दा जिल्लामा उजुरी परेको मानव बेचबिखन अन्तर्गतको तेस्रो हो ।

त्यस्तै, ५ असोज २०२९ मा कान्छी तामाङ विरुद्ध मुद्दा दर्ता भएको छ । जुन अदालतमा दर्ता भएकोमध्ये पाँचौं मुद्दा हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमलराज कँडेल महिलाले महिलाकै कुरामा बढी विश्वास गर्ने भएकाले यो अवस्था आएको बताउँछन् । उनी भन्छन्, “पुरुषले ढाँट्न र छल्न सक्ने हुँदा महिलाका लागि महिलालाई नै प्रयोग गरिएको हुनसक्छ ।”

उनका अनुसार, विकट गाउँका अधिकांश महिला निरक्षर भएकै कारण पनि बेचबिखनमा परेको देखिन्छ । केही साक्षर र सहरमा बस्ने गरेका महिलाप्रति उनीहरूको विश्वास र अपेक्षा बढी हुन्छ । कँडेल भन्छन् “सानो लालचमा पनि सहजै विश्वास गरेर सहरमा बस्ने महिलासँगै जाने हुँदा गाउँका महिलाहरू बेचबिखनमा परेका छन् ।”

मानव बेचबिखनको अभियोगमा विभिन्न अदालतबाट सजाय सुनाइएका मध्ये जिल्लाका ४५ भन्दा बढी अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् । तीमध्ये पनि १५ जना जति महिला छन् । पुरुषको तुलनामा फरार महिला अभियुक्तलाई पक्राउ गर्न कठिन हुने प्रहरीको भनाइ छ ।

सिन्धुपाल्चोकमा पछिल्लो १० वर्षमा बेचबिखनको मुद्दा कम परेको छ । सिन्धुपाल्चोक प्रहरी कार्यालयका अनुसार, आर्थिक वर्ष ०६४/०६५ देखि चालू आव ०७४/०७५ सम्म १० वर्षको अवधिमा बेचबिखनका ३१ मुद्दा दर्ता भएका छन् । प्रहरी नायब उपरीक्षक कँडेलका अनुसार, तीमध्ये २७ मुद्दाको फैसला भइसकेको छ भने चार मुद्दा फैसला हुन बाँकी छ ।

पछिल्लो समय भारतको कोठीमा लगेर बेचबिखन गरेका मुद्दा कम परे पनि कामको खोजीमा रहेका विपन्न महिलालाई विदेश–मोह देखाएर इराक लगायतका खाडी मुलुकमा बेच्ने गरेका उदाहरण ज्यादा छन् ।

फास्ट ट्र्याकमा राहदानी
सिन्धुपाल्चोकमा राहदानी बनाउने युवाहरूको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला प्रकाशन कार्यालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६९/२०७० देखि ०७४/०७५ सम्म ६ वर्षको अवधिमा राहदानी बनाउने युवाको संख्या ७७ हजार १३७ रहेको छ ।

जसमध्ये जिल्लाबाट सिफारिस लिई ‘फाष्टट्र्याक’मा नागरिकता बनाउनेको संख्या ३८ हजार ८५७ रहेको कार्यालयका प्रशासकीय अघिकृत भीम बस्नेत बताउँछन् । बस्नेतका अनुसार, ‘फाष्टट्र्याक’मा राहदानी बनाउन सिफारिस लिन आएका धेरैजसो महिलाले आफू साइप्रस जान लागेको बताउँछन् ।

प्रतिकृया दिनुहोस