रिपोर्टबिहिवार, आश्विन १८, २०७५

सैनिक तालीममा ज्यान जाने लापरवाही

रामेश्वर बोहरा

कमाण्डो तालीमका क्रममा भएको उपसेनानी शौभाग्य देउजाको मृत्यु प्रकरण नेपाली सेनामा चुलिँदो घातक लापरवाही र अव्यवस्था झल्काउने दृष्टान्त हो ।

रुपन्देहीको सालझण्डीस्थित नेपाली सेना व्याटल स्कूलमा सञ्चालित कमाण्डो तालीमका क्रममा गम्भीर विरामी भइ मृत्यु भएका उपसेनानी शौभाग्य देउजा । तस्वीर सौजन्यः परिवार

९ असार २०७५ । नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी यादव देउजा रुपन्देहीको सालझण्डीमा कमाण्डो तालीम सकेर फर्केका छोरा, उपसेनानी शौभाग्य देउजालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । बेलुकी ८ बजे मात्र भैरहवाबाट उडेको जहाज अवतरण भयो ।

तर, साथीहरूसँगै आएका शौभाग्यलाई देखेर यादव स्तब्ध बने । शौभाग्य राम्ररी हिँड्न सक्ने अवस्थामा थिएनन् । शरीर लल्याकलुलुक र पसिनाले भिजेको थियो । ज्वरो हनहनी थियो । 

यादवले छोरालाई गाडीमा राखे र त्यहाँबाट मध्यबानेश्वरस्थित घरतर्फ नलगी सिधै भरोसा अस्पताल पुर्‍याए । उनलाई इमर्जेन्सीमा राखेर स्लाइन दिइयो, राति अस्पतालमै राखियो । दायाँ कानबाट पिप बगिरहेकाले भोलिपल्ट बिहानै कानका डाक्टर आएर हेरे ।

पिप बगिरहे पनि कानमा दुखाइ नभएकाले ६–६ घण्टामा कानबाटै एन्टिबायोटिक दिने, त्यसका लागि घरबाटै आउजाउ गर्न सकिने भन्दै ११ असारमा उनलाई ‘डिस्चार्ज’ गरियो । तर, १४ असारमा ज्वरो आएपछि पुनः अस्पताल भर्ना गरियो । भोलिपल्टसम्म पनि ज्वरो नघटेपछि र बान्ता समेत भएपछि उनलाई छाउनीस्थित सैनिक अस्पताल पुर्‍याइयो ।

सैनिक अस्पताल पुर्‍याएको राति शौभाग्यलाई उच्च ज्वरो आयो । भोलिपल्ट बिहान नाक, कान र घाँटी (ईएनटी) का विशेषज्ञ डाक्टरले हेरेपछि उनलाई तत्काल सघन उपचार कक्ष (आईसीयु) मा सारियो । त्यसपछि सिटी स्क्यान र एमआरआई गरेर हेर्दा ‘हेड अब्सेन्स’ देखिएपछि ईएनटी र न्युरोलोजीसँगै फिजिसियन र रेडियोलोजिस्ट बसेर निक्र्योल गरे– संक्रमण अन्यत्र फैलिन सक्छ, तत्काल कानको शल्यक्रिया गर्नुपर्छ । १७ असारमा उनको शल्यक्रिया त सफल भयो, तर उनी कोमामा गए । उनलाई भेन्टिलेटरमा सारियो ।

छाउनीमा सुधार नभएपछि नक्खुस्थित मेडिसिटी अस्पताल पुर्‍याइयो । त्यहीँ २६ असारमा शौभाग्यको मृत्यु भयो । “छाउनी अस्पतालमा अपरेशन सकिनासाथ ईएनटी सर्जन डा. किरण राईले भनेका थिए– कानको जाली फुटेको रहेछ, मैले फेरिदिएको छु” यादव भन्छन्, “मेरो ध्याउन्न छोरालाई कसरी बचाउने भन्ने मात्र थियो । छोरो बितिसकेपछि मैले डाक्टरले भनेको कुरा खोजी गरें । त्यस क्रममा थाहा भो– मैले सिंगो जीवन गुजारेको संगठन भित्रकै मनपरीले मेरो एक मात्र छोरालाई खोसेर लगेछ ।”

जेहेन्दार सिपाहीको अवसान
युद्धकार्यका निम्ति दक्ष सैनिक अधिकृत तयार पार्ने कमाण्डो तालीमलाई सेनामा सबैभन्दा कठिन मानिन्छ । उपसेनानी (लेफ्टिनेन्ट) बाट सहसेनानी (क्याप्टेन) मा पदोन्नतिका लागि अनिवार्य मानिने युवक अधिकृत तालीम (वाइओज) अन्तर्गतको कमाण्डो तालीम पूरा गरेपछि नै अधिकृत क्याडेटका रूपमा सैनिक सेवा प्रवेश गरेकाहरू सेनाको उच्च तहमा पुग्ने सपना देख्न थाल्छन् ।

छाउनीस्थित सैनिक अस्पतालले गरेको उनको विमारीको डायग्नोसिस ।

भर्खर २३ वर्ष पुगेका शौभाग्य तिनै मध्येका थिए । भारतको देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमीबाट अधिकृत क्याडेट तालीम पूरा गरेका उनी कमाण्डो तालीममा सहभागिताका लागि सञ्चालित प्रतियोगितात्मक तालीम उत्तीर्ण गर्ने ९० जनामध्ये छैटौं नम्बरमा थिए ।

ए–लेभल विशिष्ट श्रेणीमा उत्तीर्ण गरेपछि अमेरिका र युरोपका विश्वविद्यालयले दिएका छात्रवृत्ति पन्छाउँदै सेनामा भर्ती भएका उनी आमाबुबा र साथीहरूसँग भन्ने गर्थे, ‘लगनले सेनाको नेतृत्वमा पुग्ने हो, कहाँ विदेश जानू !’ 

नगरकोटस्थित सैनिक शिक्षालयमा सञ्चालन हुँदै आएको कमाण्डो तालीम केही समयअघि रुपन्देहीको सालझण्डीस्थित नेपाली सेना ब्याटल स्कूलमा सारिएकाले यो ब्याचका ९० जना पनि त्यहाँ पुगे । पूर्वनिर्धारित ५२ दिनको तालीममा ४९औं दिनसम्म उनी सबै हिसाबले ‘पर्फेक्ट’ थिए ।

४९औं दिनमा यो तालीमकै सबभन्दा कठिन मानिने ‘सर्भाइभल फेज’ शुरु हुन्छ, जुन अवधिमा तालीमे सैनिक अधिकृतहरूलाई भोकभोकै राखेर गाउँबस्ती र जंगलमा पठाइन्छ । अधिकतम ४८ घण्टाको यो अवधिमा उनीहरूमाथि ‘इन्स्ट्रक्टर’को कडा निगरानी हुन्छ ।

त्यही क्रममा सालझण्डीबाट पहाड चढ्दै अर्घाखाँचीको सुपा देउराली मन्दिर पुगेको तालीमे टोलीले मन्दिरको प्रसाद खायो । इन्स्ट्रक्टरले थाहा पाएपछि पूरै टोली सजायको भागिदार बन्यो– लात्ती, मुक्कादेखि बाँसको भाटाले कुटियो । “त्यही बेला शौभाग्यले ‘उनीहरूको केही दोष छैन, प्रसाद मैले ल्याएर बाँडेको हुँ’ भन्यो” तालीममा सहभागी एक उपसेनानीले भने, “त्यसपछि त सम्पूर्ण सजाय ऊ एक्लैलाई भयो ।

उसले बोक्ने भारीमा थप आठ केजी बालुवा थपियो । अगाडि बढेपछि बालुवाको तौल घट्यो भनेर फेरि कुटियो । बेलुका पनि उसलाई एक्लै राखेर कुटियो ।” त्यही पिटाइका क्रममा शौभाग्यको कानको जाली फुटेको हुन सक्ने यादव बताउँछन् ।

५०औं दिनमा ‘सर्भाइभल फेज’ सकेर सालझण्डीस्थित बेस क्याम्प फर्केपछि सोही राति करीब ३ बजे कमाण्डो टोलीलाई अँध्यारोमै हिलोमा हालियो । सहभागीमध्येका एक उपसेनानीका अनुसार हिलोमा हाल्दा सुरक्षाका कुनै उपाय अपनाइएन । ती उपसेनानी भन्छन्, “त्यही क्रममा शौभाग्यको कानबाट खतरनाक ब्याक्टेरिया पसेको हुनुपर्छ, जुन पछि गएर छाउनी अस्पतालमा डायग्नोसिस भयो ।”

हिलोमा पसेको भोलिपल्ट ३ असारमा शौभाग्यले कान दुखेर रगत आएको भन्दै इन्स्ट्रक्टरलाई खबर गरेका थिए, तर वास्ता गरिएन । ४ असारमा कमाण्डो तालीमका सम्पूर्ण प्रक्रिया पूरा भएपछि शौभाग्य पुनः कान धेरै दुख्यो भन्दै मेडिकल रुममा पुगे, तर त्यस दिन पनि कान सफा गरी सामान्य औषधि दिएर पठाइयो ।

राति दुखाइ असह्य भएपछि उनलाई मेडिकल रुममै भर्ना गरी स्लाइन दिइएको थियो । त्यसको तीन दिनपछि ७ असारमा मात्र अरु दुई जनाको स्वास्थ्यमा पनि समस्या देखिएपछि उनीसहित तीन जनालाई एम्बुलेन्समा राखेर भैरहवास्थित युनिभर्सल मेडिकल कलेज पठाइएको थियो । त्यहाँ जाँचेपछि अस्पतालले ‘औषधि खानू, एक हप्तापछि फेरि देखाउनू’ भनेर पठाइदियो । 

८ असार त्यत्तिकै बित्यो । ९ असारमा कमाण्डो तालीम समापन हुँदै थियो । तर, शौभाग्यको स्वास्थ्य यतिसम्म बिग्रिइसकेको थियो, प्रमाणपत्र बुझ्न उनलाई स्ट्रेचरमा राखेर ल्याउनुपर्‍यो । शौभाग्यको यो अवस्था परिवारजनले ९ असार साँझ उनी काठमाडौंमा अवतरण गरेपछि मात्र थाहा पाए ।

छाउनी अस्पतालले गरेको उनको स्वास्थ्य परीक्षण रिपोर्टमा ‘बर्कहोल्डरिया स्यूडोमल्ली’ नामको ब्याक्टेरियाको संक्रमण भएको डायग्नोसिस गरिएको छ, जुन माटो र पानी (हिलो)मा हुन्छ । चिकित्सा विज्ञानमा यसलाई निकै खतरनाक ब्याक्टेरिया मानिन्छ । शौभाग्य अस्पताल भर्ना हुँदा ब्याक्टेरियाको संक्रमण मेरुदण्डदेखि मस्तिष्कसम्म पुगिसकेको थियो ।

“कमाण्डो तालीम कठिन हुन्छ, कैयौं कष्ट व्यहोर्नुपर्छ भन्ने कुरा तीन दशकभन्दा लामो समय सेनामै बिताएकाले म राम्रोसँग बुझ्छु” शौभाग्यका बुबा यादव भन्छन्, “तर, यति गम्भीर बिरामी पर्दा उसलाई किन बेलैमा अस्पताल लगिएन ? ऊ बिरामी भएकोबारे परिवारलाई किन खबर गरिएन ? मैले आफ्नो जीवन बिताएको संगठनबाट यही प्रश्नको उत्तर खोजिरहेको छु ।” 

उनलाई तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ‘छानबिन गरेर दोषीलाई कारबाही गरिने’ आश्वासन दिएका थिए । त्यही अनुसार सैनिक मुख्यालयले यो घटनाको छानबिनका लागि उपरथी देवेन्द्र मेघासीको अध्यक्षतामा ‘सैनिक कोर्ट अफ इन्क्वायरी’ पनि गठन गर्‍यो । यो घटनाबारे जानकारी माग्दा सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने, “छानबिन समिति गठन भएकाले त्यसबारे मैले केही बोल्न मिल्दैन ।”

ज्यानै लिने कस्तो तालीम !
कमाण्डो तालीमका क्रममा ज्यान गुमाएका शौभाग्य देउजाको मृत्यु प्रकरणले कमाण्डोसँगै सेनाका अरु तालीममा हुने लापरवाही तथा त्यसबाट निम्तिने दुर्घटनालाई बहसमा ल्याइदिएको छ । बाहिर नआए पनि यसले सेनाभित्र ठूलै तरंग ल्याएको छ ।

त्यसको एउटा कारण मृतक शौभाग्य पूर्व जर्नेलको छोरा हुनु पनि हो । “यसभन्दा पहिले पनि कमाण्डो तालीममा धेरै क्याजुअल्टी भएका छन्, तर ती सबै दुर्घटनाका रूपमा सामसुम भए” एक उपरथीले भने, “यसपालि जर्साबकै छोरा परेकाले यो विषय यत्तिकै सेलाएन, जंगी अड्डाले कोर्ट अफ इन्क्वायरी बोर्ड नै गठन गर्नुपर्‍यो ।”

सैनिक तालीमभित्र भइरहेको मनपरी सालझण्डीको कमाण्डो तालीम प्रकरणले नै देखाउँछ । सैनिक जीवनकै सर्वाधिक कठिन तालीममा सहभागी कमाण्डोहरूलाई ५२ दिनको तालीम सकिइसकेपछि पनि विनाकारण थप पाँच दिन त्यहीँ राखियो ।

सम्भवतः त्यो पाँच दिन नबढाइएको भए शौभाग्यको कानमा भएको संक्रमण मृत्युको कारण नबन्न सक्थ्यो । “सामान्यतः यस्तो कडा तालीम सिद्धिएपछि कमाण्डोहरूलाई तत्कालै छाडिदिनुपर्छ, ‘लिंगरिङ’ गरेर त्यहीँ राखिराख्नु राम्रो भएन” आठ वटा कमाण्डो तालीमको इन्स्ट्रक्टर रहिसकेका पूर्व महासेनानी रतीन्द्र खत्री भन्छन् ।

सालझण्डीमा शौभाग्यसँगै कमाण्डो तालीममा सहभागी ९० जना लेफ्टिनेन्ट थिए । सैनिक स्रोतका अनुसार, तीमध्ये २७ जनाले बीचमै तालीम छाडे । कमाण्डो तालीम बीचमै छाड्नु भनेको सेनाको माथिल्लो तहमा पुग्ने सपना देखेकाहरूले आफ्नो करिअर नै दाउमा राख्नु हो । किनभने, लेफ्टिेनन्टबाट क्याप्टेनमा बढुवा हुन यो तालीम गर्नैपर्छ ।

कमाण्डो तालीममा सहभागीहरूले बीचमै छाडेको यो पहिलो घटना होइन । सैनिक अधिकारीहरूका अनुसार, पछिल्लो समय तालीम छाड्नेहरूको संख्या ठूलो छ । यसको कारण के हो ? “सामान्यतः कमाण्डो गर्न जानेहरू मानसिक रूपमा पनि सबैखाले कष्ट व्यहोर्न तयार हुन्छन्, एकाध व्यक्तिले त्यसलाई सहन नसकेर छाड्नु फरक कुरा हो” एक उपरथीले भने, “जब ठूलै संख्याले तालीम छाड्दैछ भने त्यहाँ पक्कै केही गडबडी छ भन्ने बुझ्नुपर्‍यो ।”

सेनामा कमाण्डो तालीमको औपचारिक शुरुवात २०३२ सालतिर भएको हो । त्यसअघि इजरायली सैनिकहरू आएर ‘मार्सल’ भनिने तालीम दिन्थे । त्यो तालीम ‘प्यारा’ का सैनिकले मात्र पाउँथे । नेपाली सेनामा २०२२ सालतिर इजरायली सेनाकै सहयोगमा प्यारा यूनिट स्थापना भएको थियो ।

सैनिक अधिकृतहरू २०५८ सालको संकटकालपछि कमाण्डो तालीममा भद्रगोल शुरु भएको, माओवादी कार्यकर्तामाथि दमन गरे झैं तालीममा सहभागीमाथि हातपात शुरु भएको र पछिल्लो समय सेनामा ‘जसले जे गरे पनि हुने’ अवस्था मौलाएको बताउँछन् ।

एक उपरथीका भनाइमा ठूलो संख्याले कमाण्डो तालीम छाड्न थाल्नुको एक प्रमुख कारण तालीमका इन्स्ट्रक्टरहरू हुने गर्छन् । अर्थात्, आलाकाँचा वा पूर्वाग्रही स्वभावका इन्स्ट्रक्टर परेमा सिंगो तालीम नै डामाडोल हुन सक्छ । सैनिक अधिकारीहरूका अनुसार, इन्स्ट्रक्टरका रूपमा खटिने फिल्ड अफिसर कम्तीमा गुल्मको कमाण्ड गर्ने सेनानी (मेजर) हुनुपर्छ, तर व्यवहारमा त्यस्तो छैन । कमाण्डो तालीमका इन्स्ट्रक्टर प्रायः नम्बर १० वाहिनीका क्याप्टेन हुन्छन् ।

सैनिक स्रोतका अनुसार, सालझण्डीको कमाण्डो तालीमका इन्स्ट्रक्टरहरू ४९, ५० र ५१ बेसिकका थिए भने तालीम लिने कमाण्डोहरू ५२, ५३, ५४ र ५५ बेसिकका हुन् । सेनामा अहिले चलिरहेको बढुवाको ‘फास्ट ट्र्याक’ प्रणाली अनुसार तालीम गराउने र गर्ने दुवै प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) मा बढुवा हुँदा एकापसमा प्रतिस्पर्धा हुने समूह हो । यसरी सैनिक सेवाका प्रतिस्पर्धीहरू नै तालीम गर्ने र गराउने भएपछि त्यहाँ धेरै कुरा ठीकठाक रहँदैन ।

प्रतिस्पर्धी भावना मात्र होइन, कतिपय इन्स्ट्रक्टरको नियत नै ठीक हुँदैन । पूर्वमहासेनानी खत्रीसँग त्यसको अनुभव छ । “म इन्स्ट्रक्टर हुँदा पनि कतिपय इन्स्ट्रक्टरको तालीम गराउने शैली मलाई ठीक लाग्दैनथ्यो” उनी भन्छन्, “म तालीमेहरूको सातो लिए पनि दुःख दिने नियत नराखी उनीहरूले केही सिकून् भन्ने सोच्थें । कतिपय इन्स्ट्रक्टरले चाहिँ अनावश्यक रूपमै दुःख दिन खोज्थे ।” 

सैनिक स्रोतका अनुसार, यसअघिका कमाण्डो तालीममा सहभागी केही व्यक्तिको मुटुमा पेसमेकर राख्नुपरेको छ भने केहीको मेरुदण्ड भाँचिएको छ । ज्यान गुमाउने संख्या छँदैछ, तालीमका क्रममा अंगभंग हुनेको संख्या पनि बढिरहेको छ ।

जंगी अड्डाकै एक सैनिक अधिकृत भन्छन्, “तालीमले कमाण्डो अफिसरलाई सैन्य र युद्ध कलामा निपुण पार्ने हो, तर यसले धेरैलाई रोगी बनाउन थालेको छ ।” अफिसरहरूको आत्मविश्वास बढाउन कमाण्डो तालीमका केही असाध्यै कठिन बिन्दु पार गर्नैपर्ने भए पनि त्यसबाट हुनसक्ने क्षतिको सम्भावना न्यून गर्न सुरक्षाका सबै उपाय अपनाउनुपर्ने र जेसुकै भए पनि मान्छे मर्न दिन नहुने उनी बताउँछन् ।

लगाम फुस्किएको संगठन !
सेनाको अधिकृतस्तरमा सञ्चालन हुने विभिन्न तालीम छन् । अधिकृत क्याडेटमा भर्ना हुनेहरूले भक्तपुरस्थित खरिपाटी तालीम केन्द्रमा २४ महीनाको तालीम सकेपछि सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) को दर्जा पाउँछन् ।

भारतको देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमीबाट अधिकृत क्याडेट तालीम पुरा गरेपछि आमाबुबा र प्रशिक्षकका साथ शौभाग्य ।

त्यसको निश्चित समयमा उपसेनानी (लेफ्टिनेन्ट) भएपछि त्यहाँबाट सहसेनानी (क्याप्टेन) मा पदोन्नतिका लागि उनीहरूले युवक अधिकृत तालीम गर्नैपर्छ । क्याप्टेनले सेनानी (मेजर) मा बढुवाका लागि सीसीएससी (कम्पनी कमाण्डर एन्ड स्टाफ कोर्स/गुल्मपति तथा स्टाफ कोर्स) तालीम गर्नुपर्छ, तर सीसीएससी गर्न वारफेयर (जंगल वारफेयर या माउन्टेन वारफेयर) तालीम गरेको हुनैपर्छ । सेनानीबाट प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा हुन कमाण्ड तथा स्टाफ कोर्स वा ‘यूनिट कमाण्ड एन्ड स्टाफ कोर्स’ गर्नुपर्छ ।

यसरी ‘मेरिटोक्रेसी’ (योग्यता) का आधारमा प्रमुख सेनानी र प्रमुख सेनानीबाट महासेनानीमा बढुवा हुन्छ । महासेनानीले सहायकरथीमा बढुवाका लागि ‘हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स’ गर्नुपर्छ । सहायकरथीबाट उपरथी वा त्यसभन्दा माथिल्लो पदमा बढुवाका लागि भने नेशनल डिफेन्स कोर्स (एनडीसी) गर्नुपर्ने हुन्छ ।

तर, नेपालमा एनडीसी हुँदैन, यसका लागि विभिन्न मित्रराष्ट्रले दिने कोटा वा आफैंले सशुल्क कोटा किन्नुपर्छ । नियमित यी तालीमबाहेक परिस्थितिजन्य अन्य तालीम पनि हुन्छन् । सेनामा सबैखाले तालीमको प्रमुख लक्ष्य दक्ष सैनिक अधिकृत तयार पार्नु हो । यी कुनै पनि तालीम÷कोर्स सहज हुँदैनन् । तर, त्यसमा मुख्यतः अधिकृत क्याडेट, सहायकसेनानी, उपसेनानी र सहसेनानीले गर्ने तालीम जोखिमपूर्ण हुन्छन् । सबभन्दा ठूलो भद्रगोल र लापरवाही पनि त्यसमै छ ।

जस्तो कि, कमाण्डो जस्तो ज्यानकै जोखिम हुने तालीममा निकै कनिष्ठ डाक्टरलाई खटाइन्छ । सामान्य रक्तचाप र मुटुको गति मात्र जाँचेर उनीहरूलाई तालीममा पठाइन्छ । अनि यस्तै तालीममा पहिलो वा दोस्रो नम्बरमा आउनेहरूलाई नै इन्स्ट्रक्टर बनाइन्छ, जो शारीरिक रूपमा बलिया हुन्छन् । यस्तै इन्स्ट्रक्टरको कार्यशैलीका कारण दीर्घरोगी भएका, जागिर छाडेका र बढुवा रोकिएका सैनिक अधिकृत थुप्रै छन् ।

तालीममा कतिसम्म लापरवाही हुन्छ भने कतिपय अधिकृतहरू तालीमकै क्रममा सर्पले टोकेर मर्छन् । अधिकृत क्याडेट मात्र होइन, उपसेनानी र सहसेनानी दर्जाका अधिकृत समेत यसको शिकार भएका छन् । केही वर्षअघि बाराको अमलेखगञ्जस्थित नेपाली सेना जंगल वारफेयर स्कूलमा सर्पले टोकेर क्याप्टेन विवेक कडायतको मृत्यु भयो । सेनाले तराईका जिल्लामा सर्वसाधारणका लागि सर्पदंश उपचार केन्द्र चलाइरहेको दाबी गरिरहँदा ९० दिनको वारफेयर कोर्स चलाउँदा सर्पदंशको उपचार व्यवस्था समेत सैनिक संयन्त्रभित्र नरहेको यसले देखाउँछ ।

अफिसरका यस्ता कुरा आक्कलझुक्कल बाहिर आउँछन्, तर सैन्य तालीम र सिपाहीका विभिन्न तालीमका घटना भने भित्रै सामसुम हुन्छन् ।

अवकाशप्राप्त सैनिक अधिकृतहरू तालीम र ड्युटीका क्रममा हुने लापरवाहीबाट ज्यान गुमाउने तथा अंगभंग हुने अन्य दर्जाको संख्या अझै ठूलो रहेको बताउँछन् । “एक ठाउँबाट अर्को ठाउँ लैजाँदा ट्रकमा गुम्सिएर ६–७ जना सिपाही एकैपटक मरेका घटना पनि छन्” एक पूर्वसैनिक अधिकृत भन्छन्, “परिवारलाई दुर्घटना भनेर क्षतिपूर्ति दिइन्छ, जति नै दर्दनाक भए पनि घटना त्यसै सामसुम हुन्छ ।”

सैनिक प्रवक्ता, सहायकरथी गोकुल भण्डारी सैनिक तालीमका क्रममा दुर्घटना जहाँ पनि हुने, तर नेपाली सेनामा सावधानी अपनाइएकाले क्षति अत्यन्त न्यून रहेको दाबी गर्छन् । “तालीममा अधिकतम सावधानी अपनाउनैपर्छ, मान्छेको ज्यान सबभन्दा महŒवपूर्ण कुरा हो”, उनी भन्छन्, “तालीमका क्रममा क्याजुअल्टी छैन भनेर म भन्दिनँ । तर, सकेसम्म कम गर्न सावधानी अपनाइएको छ ।”

पूर्वउपरथी विनोज बस्न्यात माथिल्लो पदमा पुग्न, भोलिको जिम्मेवारी र विशिष्टीकृत अपरेशनका लागि तयार पार्न सञ्चालन गरिने सैन्य तालीमहरू पूर्णतः सुरक्षित हुनुपर्ने बताउँछन् । उनी भन्छन्, “तालीमका क्रममा दुर्घटना हुन सक्छ, तर त्यो दुर्घटना नियतवश, भूलचुकले वा केही मापदण्ड पूरा नभएकाले हुन भएन ।”

पूर्वसैनिक अधिकृतहरू २०६५ सालको सेनापति कटवाल प्रकरणपछि सेना लगामविहीन जस्तै बनेको, राजनीतिक नेतृत्व सेनालाई रिझउन मात्र लागिपरेको र त्यही कारण सेनामा सिस्टम नभई व्यक्तिविशेषको लहड हाबी हुँदा यस्तो अवस्था आएको बताउँछन् । “हिजो राजपरिवारका सदस्य सैनिक ब्यारेक र तालीम केन्द्र घुमेर त्यहाँको अवस्था बुझ्थे, त्यसो हुँदा सेनापति र जर्नेलहरू पनि ब्यारेक अवलोकन गर्न पुग्नुपथ्र्यो, अहिले राष्ट्रपति र प्रधानमन्त्रीहरू जंगीअड्डा पुगेर पावरप्वाइन्ट प्रस्तुति मात्र हेर्छन्” एक पूर्वउपरथी भन्छन्, “राजा ठीक थिए भन्ने होइन, तर एउटा डर थियो । डर भएपछि गलत काम हुँदैनथ्यो । अब त्यो प्रणाली भताभुंग भयो, डर नभएपछि जसले जे गरे पनि हुने भयो ।”

‘छोरा मर्‍यो आश मरेको छैन’
सैनिक तालीम सनकमा चल्ने विषय होइन, यसको निर्धारित प्रक्रिया हुन्छ । कमाण्डो तालीमका क्रममा कुटाइबाट मेरो छोराको कानको जाली फुटेको र त्यहीँबाट भएको संक्रमणले उसको ज्यान गएको स्पष्ट भइसकेको छ । मैले आफ्नो सिंगो जीवन सेनामै बिताएँ ।

यादव देउजा, पूर्व सहायकरथी

छोरा गुमाएपछि त्यही संगठनलाई म सोधिरहेछु– तालीमका क्रममा म्यानह्याण्डलिङ किन गरियो ? के त्यो तालीमको सेलेबसमा थियो ? जेनेभा कन्भेन्सन अनुसार, युद्धबन्दीलाई त म्यानह्याण्डलिङ गर्न पाइँदैन भने तालीममा आफ्नै सदस्यलाई झन् त्यसो गर्न मिल्छ ? म्यानह्याण्डलिङ कमाण्डेन्टको आदेशमा भएको हो या इन्स्ट्रक्टरले आफूखुसी गरेको हो ?

तालीम शुरु र समापन हुने मिति पहिल्यै निर्धारित हुन्छ । ५२ दिनका लागि निर्धारित तालीम ५७ दिन किन पुर्‍याइयो ? के त्यसका लागि जंगीअड्डा (प्रधानसेनापति) बाट स्वीकृति लिइएको थियो ? कमाण्डो बिरामी भएको सात दिनसम्म किन वास्तै गरिएन ? भैरहवाको अस्पतालले कानमा संक्रमण भएको भनिसकेपछि त्यो संक्रमण ब्रेनसम्म पुग्न सक्छ भन्ने सैनिक डाक्टरहरूले किन बुझेनन् ?

कमाण्डो गम्भीर बिरामी परेको कमाण्डेन्टलाई थाहा थियो कि थिएन ? थाहा भए किन केही गरेनन् ? अवस्था गम्भीर थियो भने इभ्याकुएट गरेर काठमाडौं किन पठाइएन ? अझ गम्भीर कुरा, परिवारलाई यसबारे किन खबर गरिएन ?

तालीममा दुर्घटना हुन सक्छ, यो अस्वाभाविक होइन । तर, यहाँ कुटेर ज्यान गएको छ । कुटेकै भए पनि स्वास्थ्य स्थिति गम्भीर बनेपछि उपचार गर्नुपर्छ कि पर्दैन ?

मैले चिफसा’ब (राजेन्द्र क्षेत्री) लाई भेटेर कुरा गरें । त्यसपछि छोराको दाहसंस्कारमा आउनुभएका तत्कालीन कायममुकायम प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि बोर्डबाट सत्यतथ्य छानबिन हुन्छ भन्नुभएको छ । छोरा त अब फर्केर आउँदैन । मलाई आशा छ, सेनाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्नेछ ।

प्रतिकृया दिनुहोस