पानीको स्रोत व्यवस्थापन र संरक्षणमा जोड
पानीको उपलब्धता र स्रोत व्यवस्थापन कठिन बन्दै गएकाले स्रोतको दिगो व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ ।
काभ्रेको धुलिखेलमा आयोजना गरिएको ‘स्थानीय पानी व्यवस्थापन’ सम्बन्धी सम्मेलनमा माथिल्लो र तल्लो तटिय क्षेत्रको संरक्षण र सुधारमा जोड दिनुपर्ने निश्कर्ष निकालिएको हो ।
१६–१७ असोजमा भएको सम्मेलनले जारी गरेको ९ बुँदे ‘धुलिखेल प्रतिबद्धता पत्रमा’ पानीको किफायती प्रयोगका लागि प्रेरित गर्ने र पानी बचतका उपाय अपनाउन पहल गर्ने उल्लेख गरिएको छ ।
स्वच्छ पानी जनताको नैसर्गिक अधिकारको रुपमा संविधानले व्यवस्था गरेकाले पानीको व्यवस्थापन तथा नियमन गर्ने निकायको स्पष्ट कार्ययोजना हुनुपर्ने जोड दिइएको छ ।
दिगो पानी आपुर्तिका लागि स्थानीय स्तरको परम्परागत ज्ञानको प्रयोगलाई प्रोत्साहित गर्ने प्रतिबद्धता पनि पत्रमा उल्लेख छ ।
नेपाल नगरपालिका संघ तथा पानीको अध्ययन अनुसन्धानमा क्रियाशिल गैरसरकारी संस्थाको आयोजनमा भएको उक्त सम्मेलनमा प्राज्ञिक, निजी तथा सामुदायिक क्षेत्रका सरोकारवाला सहभागी थिए ।