नेपालको शान्ति प्रक्रियाबाट सिक्दै द्वन्द्वरत मुलुक
नेपालले अवलम्बन गरेको शान्ति प्रक्रिया द्वन्द्वरत मुलुकका लागि उदाहरणीय बनेको छ । दश वर्षसम्म चलेको सरकार–माओवादीबीचको द्वन्द्व वार्ताको माध्यमबाट समाधान भएपछि नेपालको शान्ति प्रक्रियाको बारेमा बुझ्न द्वन्द्वरत देश इच्छुक देखिएका हुन् ।
म्यानमारको युद्धविराम अनुगमन गर्न बनेको संयुक्त केन्द्रीय अनुगमन समिति नेपालको शान्ति प्रक्रियाको बारेमा अध्ययन गर्न नेपाल आइपुगेको छ ।
काठमाडौंमा १६ र १७ असोजमा संकट व्यवस्थापन अनुसन्धान केन्द्र (सीएमआरसी)ले आयोजना गरेको कार्याशालामा म्यानमारको टोलीलाई नेपालको शान्ति प्रक्रियाका बारेमा जानकारी गराइएको हो ।
टोलीमा सरकारी, विद्रोही पक्ष तथा नर्वेजियन प्रतिनिधि गरी १७ जना सहभागी छन् ।
सीएमआरसीका संस्थापक सुरेन्द्रबहादुर शाहका अनुसार उक्त टोलीलाई द्वन्द्व र त्यसपछिको समयमा नेपालको राजनीतिक अवस्थाका बारेमा पत्रकार युवराज घिमिरे, नेपालको शान्ति प्रक्रियाको इतिहास र शान्ति सम्झाैताको विषयमा पूर्व मन्त्री मिनेन्द्र रिजाल, तत्कालिन माओवादी र सरकारबीच शक्ति बाँडफाँडका बारेमा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।
कार्यशालामा शान्ति स्थापनाको लागि नेपाल सरकारको प्रयास, अन्तर्राष्ट्रिय सहयोग, नेपाली सेना र प्रहरीको भूमिका, संक्रमणकालिन न्याय लगायतका विषयमा म्यानमारको टोलीलाई जानकारी दिइएको छ ।
यसअघि अफगानिस्तानको टोली पनि नेपालको शान्ति प्रक्रिया बुझ्न आएको थियो । उक्त टोलीले राजनीतिक दल तथा सरकारी अधिकारीलाई भेटेर नेपालले अवलम्बन गरेको शान्ति प्रक्रियाका बारेमा जानकारी लिएको थियो ।