मापसेमा खोसिएको लाइसेन्स फिर्ता लिन परीक्षा दिनुपर्ने
मोरङ प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा पक्राउ परेका व्यक्तिलाई सचेतना परीक्षा पास गरे मात्रै लाइसेन्स फिर्ता दिने भएको छ ।
जिल्ला प्रहरी कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर मापसे कारवाही सम्बन्धी व्यवस्था सार्वजनिक गरेको हो ।
मोरङ प्रहरीको ‘एप’मार्फत परीक्षा घरमै बसेर दिन पाइने छ । परीक्षामा ८० प्रतिशत अंक ल्याएर पास गरेपछि मात्रै कारवाहीकाे अन्य प्रक्रिया अगाडि बढ्नेछ ।
लाइसेन्स फिर्ता पाउन परीक्षा अनिवार्य पास गर्नुपर्ने मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
परीक्षा दिने अर्को व्यक्ति नहोस् भनेर एपमा भिडियो रेकर्डको व्यवस्था समेत गरिएको केसीले बताए ।
नयाँ व्यवस्था २३ असोजबाट लागू हुने प्रहरीले जनाएको छ ।
कमल रिमाल