‘उपत्यकामा खानेपानीको माग मेलम्चीले मात्रै नधान्ने’
काठमाडौं उपत्यकाको डाँडापाखा केन्द्रित बसाइले खानेपानीमा थप समस्या देखापर्न सक्ने जानकारहरुले बताएका छन् ।
आजदेखि काभ्रेको धुलिखेलमा शुरु भएको ‘स्थानीय स्तरमा पानीको व्यवस्थापन’ विषयक सम्मेलनमा सहभागी अधिकांशले अव्यवस्थित बसाइले खानेपानीमा समस्या देखापर्ने चेतावनी दिएका हुन् ।
बढ्दो जनसंख्याका कारण खानेपानीको माग हरेक वर्ष बढ्दै गएको र स्रोत घट्दै गएकाले पानीको समस्या विकराल बन्न सक्ने उनीहरुको भनाइ छ ।
जलस्रोत अध्येता आशुतोष शुक्लले उपत्यकामा खानेपानीको स्रोतलाई बचाई राख्नका लागि काठमाडौं वरपरको वातावरण जोगाइराख्नु बाहेक अर्को विकल्प नभएको बताए ।
उनकाअनुसार प्रति एक हेक्टर जमिनमा करीब एक लाख लिटर बर्खाको पानी रोक्नुपर्दछ । यसो गर्दा भुमिगत पानीको स्रोतलाई बचाउन सकिन्छ ।
शुक्लकाअनुसार काठमाडौंका हरेक वर्ष करीब १० मीटर भुमिगत पानीको सतह घटिरहेको छ ।
मेलम्चीको पानीले मात्रै उपत्यकामा खानेपानीको माग धान्न नसक्ने पनि उनले बताए ।
कार्यक्रममा बताइएअनुसार उपत्यकामा हरेकवर्ष चार करोड लिटर पानीको माग बढिरहेको छ ।
आज शुरु भएको कार्यक्रम १७ असोजसम्म सञ्चालन हुनेछ । सम्मेलनमा जलस्रोतसँग सम्वन्धित आठवटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
प्रस्तुत कार्यपत्रमाथि छलफल गरी धुलिखेल घोषणापत्र जारी गरिने जनाइएको छ ।