टिप्पणीबुधवार, आश्विन १७, २०७५

बहुरी सदाको बह

चन्द्रकिशोर

अरूको घरमा मजदूरी गरेर ऊर्जावान उमेर रित्याए पनि पुस्तौंदेखि ऋणको भार बोक्दै दीन–हीन बाँचिरहेका बहुरी सदाहरूले कहिले पाउलान् आत्मसम्मानको जीवन ?

तस्वीरः चन्द्रकिशोर

‘हात अबदाह छै, कामो नै होइछै’ अर्थात् हात कमजोर छ, त्यसैले काम गर्न गाह्रो हुन्छ । उनी हुन् सिरहाको धनगढीमाई नगरपालिका–९ मुसहरनियाकी बहुरी सदा (६८) । घरको नाममा जेनतेन फुसले छाएका दुइटा झुप्रा छन् । विवाह गरेर आएदेखि गिरहत (जग्गाधनी) कहाँ काम गर्नु उनको जीवनचर्या हो । उनका पति जगरु सदा सानैदेखि त्यही काम गर्थे ।

गिरहतको गाईबस्तु चराउने, हलो जोत्ने, खेतखलिहान रेखदेख गर्नमै जगरुले जिन्दगी बिताए । बाउबाजेले उनलाई यही कला सिकाए । जगरु बितेपछि बहुरीका लागि गिरहत नै छायाँ भएका छन् । 

“पहिले कागज करैले रहै, आब कागज नै छै” पहिला कागज गरेर ऋण लिइएको थियो, अब त त्यो पनि छैन । कति ऋण अझ् बाँकी छ, त्यो त गिरहतलाई नै थाहा होला । गिरहतकहाँ बिहानको काम सकाएर घर फर्किएकी उनलाई चार नातिलाई खुवाएर फेरि काममा फर्किने चटारो छ ।

एउटा छोरा थियो, गाउँकै अन्य युवाको लहैलहैमा भारतको पञ्जाब गएको तीन वर्ष भयो । उसको कुनै अत्तोपत्तो छैन । घरमा बुहारी भए पनि आफूखुशी अन्यत्र काम गर्छिन् । यसैले नातिहरूको हेरचाहको जिम्मा वृद्धा बहुरी माथि छ ।

गिरहतले कस्तो व्यवहार गर्छ ? जवाफमा बहुरी भन्छिन्, “छेवैको मिर्चैयाबाट बिहे भएर आएकी हुनाले सबैले मिर्चैयावाली भनेर बोलाउँछन् । गिरहतका बच्चाहरूले भने मौसी भन्छन् ।” गिरहतकी बुहारी पनि मिर्चैयातिरकी भएकीले मौसी (सानिमा) को साइनो जोडिएको रहेछ । उनको काम बिहान गएर घर सफा गर्ने, भाँडाकुडा माझ्ने, फुर्सदमा फूलबारीको रखबारी गर्ने र गिरहतका परिवारहरू बाहिर गएको बेला घर कुरिदिने हो ।

गिरहतबाट ऋण पनि लिएकोले काम अब जिम्मेवारी नै बनेको छ । बिरामी पर्दा साहूले नै औषधिमूलो गरिदिन्छन् । वर्षमा दुई थान नयाँ/पुरानो लत्ताकपडा पनि दिन्छन् । उनी भन्छिन्, “आब गिरहत के बेजाय केना कहु” अर्थात्, गिरहतलाई नराम्रो कसरी भनूँ ?

जवानीमा पतिको पछि लागेर एउटै गिरहतकहाँ काम गरेकी बहुरीसँग यो उमेरमा अरू ठाउँमा बनिबुतो गर्ने उत्साह र ऊर्जा दुवै छैन । गिरहतले विश्वास गर्छन् र त्योभन्दा पनि दुःख–सुख हेरिदिएका छन् । तर, घरको मर्मत गराइदेऊ भन्दा गिरहतले नमानेको उनको गुनासो छ । कारण खुलाउँदै भन्छिन्, “गिरहतले पहिलेकै ऋण बढी छ भने ।” वर्षामा झुप्रो चुहिने भएकोले बहुरीले आफ्नो नागरिकताको प्रमाणपत्र अर्काको घरमा राखेकी छन् ।

देहातमा बहुरी जस्ता पात्र धेरै छन् । उनीहरूसँग धेरै विकल्प छैन । शरीर कमजोर भए पनि सखारै गिरहतकहाँ पुग्नुपर्छ । हराएको छोरो फर्किने आश मर्दै गएको छ । त्यसैले नातिहरू हुर्काउनुमा उनले भविष्य देखेकी छन् । गिरहतकहाँ खाना र खाजामा जेजति भेटिन्छ, ल्याएर चार जना नातिलाई बाँडीचुँडी खुवाउन उनी घर फर्किन हतारिन्छिन् ।

बहुरीको बहले उब्जाएको सवाल के हो भने, मधेशी दलितहरूको ठूलो हिस्सा अहिले पनि भूमिहीनतामा बाँचिरहेका छन् । गिरहतको घरमा काम गरेर यिनीहरूको जीविका चल्छ । कृषि ज्यालाको कुनै न्यायपूर्ण दर छैन । ठाउँ अनुसार कृषि मजदूर र गिरहतबीचको मोलमोलाइमा ज्याला निर्धारण हुन्छ ।

पुर्खाले लिएको ऋण जति तिर्दा पनि सकिंदैन । जहाँ कमाएर जवानी गुजार्‍यो, बुढेसकाल पनि त्यहीं ओत लाग्दै सकी–नसकी घोटिएर बाँच्नुपर्ने बाध्यता हुन्छ । यस्तोमा गिरहतले देखाएको थोरै सदासयताले पनि सबै दुःख बिर्साइदिन्छ । यसैले बहुरीहरू अरू जेजस्तो गनगन गरे पनि भन्न बाध्य छन्, “आखिर हेर्ने त गिरहत नै हो ।”

बहुरीलाई गिरहतबाट छुटाउनुपर्छ भन्ने आसय लेखकको होइन । तर, बुढ्यौलीले अझै गाँजेपछि उनको भरणपोषण कसरी होला ? उनी ऋणमुक्त भएर सास लिन पाउँछिन् कि पाउँदिनन् ? सस्तो ज्यालाका लागि अपहेलित भएर काम गर्नुपर्ने अवस्था कहिलेसम्म रहन्छ ? त्यसको जवाफ रोजगारी र समान अवसर सृजनामै छ ।

यस्ता परिवारको हेरचाहको जिम्मा लिन स्थानीय सरकारहरूले योजना बनाउनुपर्छ । मधेशका दलित बस्तीतिर पस्यो भने धेरै बहुरीहरू आत्मसम्मान गुमाएर आँसुको तापमा सेकिइरहेको देख्न सकिन्छ ।

औसत जीवनको खोजीमा बाँचेका बहुरीहरूलाई देख्दा प्रश्न स्वतः उब्जिन्छ, उनीहरूका लागि न्याय भनेको के हो ? कहिले पाउँछन् न्याय ? जतिसुकै पसिना बगाए पनि उनीहरूको भविष्य गिरहतकै कब्जामा छ । वर्षौंदेखि बसेको जग्गा आफ्नो नाममा नहुनु अर्को विडम्बना हो ।

ऋणको पासोमा पुस्तौं गुजार्नुपर्ने हुन्छ । यस्तो दीन–हीन जीवन बाँचे पनि उनीहरूको नियति कस्तो भइदिन्छ भने, जसको मियोमा पुस्तौं जोतियो, त्यो नै आफन्त र आत्मीय लाग्न थाल्छ ।

प्रतिकृया दिनुहोस