पन्ध्र वर्षपछि अन्त्येष्टि
बाँकेबाट पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ ।
तत्कालीन नेकपा माओवादीको अपहरणमा परेका डाँगी शान्ति प्रक्रिया शुरु भएको दशक बित्दा पनि घर फर्किएका छैनन् ।
राप्तीसोनारी गाउँपालिका–२ अगैयाका डाँगी परिवारले १५ वर्षसम्म पनि घरमूली नफर्किएपछि धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरेका छन् ।
“बुबा फर्किने आशामा १५ वर्ष बित्यो, न बुबा फर्किनुभयो, न त उहाँको केही खबर प्राप्त भयो । त्यसैले हामी अन्त्येष्टि गर्ने निष्कर्षमा पुग्यौँ,” लालबहादुरका जेठा छोरा प्रेमप्रकाशले भने ।
२ असोज २०६० मा अपहरणमा परेका लालबहादुरको परिवारले सास र लास दुवै खोजी गर्यो । केही पत्तो लागेन ।
प्रेमप्रकाशले भने “बुबाको केही खबर पाउन नसकेपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्यौं ।”
तत्कालीन स्थानीय शान्ति समिति बाँकेको तथ्याङ्कअनुसार जिल्लाभर १२१ जना वेपत्ता छन् । रासस