पूँजीगत खर्च दुई प्रतिशत
चालू आर्थिक वर्षको दुई महिनामा दुई प्रतिशत पूँजीगत खर्च भएको छ ।
चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको द्वैमासिक समीक्षाको क्रममा भदौ मसान्तसम्म दुई प्रतिशत पूँजीगत खर्च भएको जनाइएको हो ।
यो अवधिमा चालू खर्च रु ९६ अर्ब २५ करोड भएको छ । आव २०७४/७५ मा त्यस्तो खर्च रु एक खर्ब १९ अर्ब १८ करोड रहेको थियो ।
चालू आवको दुई महिनामा रु पाँच अर्ब ८५ करोड पूँजीगत खर्च भएको छ । आव २०७४/७५ मा रु चार अर्ब २७ करोड खर्च भएको थियो ।
त्यस्तै वित्तीय व्यवस्थातर्फ चालू आवमा रु एक अर्ब १८ करोडको हिसाब देखिएको छ । आव २०७४/७५ मा त्यस्तो व्यवस्था ८२ करोड मात्रै भएको थियो । चालू आवमा आठ प्रतिशत खर्च भएको छ भने आव २०७४/७५ मा कूल खर्च दश प्रतिशत भएको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट कार्यान्वयनमा सबै निकायले थप सक्रियता बढाए र कार्य सम्पादनमा अन्तर मन्त्रालय समन्वयलाई अझ बढी प्रभावकारी बनाएमा बजेटले राखेका उद्देश्य पूरा हुने बताएका छन् । रासस