असन्तुष्टि पोख्न नेपालले बोलाएको स्थायी समितिको बैठक बस्दै
नेपाल कम्यूनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले बाेलाएकाे स्थायी समिति सदस्यहरुको भेला अहिले ३ बजेदेखि बस्दैछ।
वानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सुरु भएको भेलामा राजधानीमा उपलब्ध २० जना स्थायी समिति सदस्य उपस्थित छन् । नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार “राजधानीमा उपलब्ध र अरु कुनै कार्यक्रममा ब्यस्त नरहेका नेताहरु उपस्थित हुनुहुन्छ ।”
स्थायी कमिटीको वैठकका लागि पटक–पटक मिति तोकिने तर, स्थगित भइरहेका बेला नेता नेपालले आयोजना गरेको चियापान भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्थायी समिति लगायत पार्टी कमिटीका वैठक आयोजना नगर्ने र महत्वपूर्ण निर्णय दुई अध्यक्षले मात्र गर्ने गरेकाले पार्टी नेताहरु आक्रोशित छन् ।
५१ सदस्यीय स्थायी समिति मध्ये ५ जना देशबाहिर छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल समेत देश बाहिर भएका बेला नेता नेपालले बोलाइएको भेलालाई चासोको रुपमा हेरिएको छ । यद्यपी नेता नेपालका स्वकिय सचिव गौतम भन्छन्, “यो सामान्य भेटघाट र चियापान मात्रै हो, मिडियाले ठूलो बनाएका हुन् ।”
नेता नेपालले बिहिबार मात्रै संसद वैठकमा सरकारको काम कार्वाहीप्रति असन्तुष्टि जनाउँदै सरकारको आलोचना गरेका थिए । स्थायी समिति सदस्यहरुलाई बिहीबार साँझ् मात्र चियापानको निम्तो दिइएको थियो ।
–मुकेश पोखरेल