वाई १२ विमान नियमित उडाउने निगमको योजना, दशैंको टिकट सकियाे
नेपाल वायु सेवा निगमले चिनियाँ विमान वाई १२ सिमरा, पोखरा र भैरहवामा उडाउने योजना बनाएको छ।
जहाज ल्याएको ४ वर्षपछि लुक्ला, जोमसोम, रोल्पा, सिमिकोट, मुगु र जुम्लामा परीक्षण उडान गरेको निगमले दशैंलाई लक्षित गर्दै अहिले सिमरा, पोखरा र भैरहवामा नियमित उडान गर्ने योजना रहेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए।
हाल निगमसँग ४ वटा वाई १२ जहाज भए पनि २ जहाज बिग्रेर थन्किएका छन्।
सिग्देलले दशैं लगत्तै नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएर परीक्षण उडान गरिएका ठाउँमा पनि वाई १२ को नियमित उडान गर्ने योजना बनाएको जानकारी दिए।
एम ६० विमान अझै उडेनन्
निगमसँग भएका दुई वटा एम ६० मोडलका विमान १ महिनादेखि बिग्रेर थन्किएको छ। अज १२ असोजसम्म पनि सञ्चालनमा आउन सकेका छैनन्।
निगमका प्रवक्ता सिग्देल एउटा एम ६० मोडलको विमान आगामी सातासम्म सञ्चालनमा आउने बताउँछन्।
उनका अनुसार अर्को एम आई ६० मोडलको विमान मर्मत गर्न करिब १ महिना समय लाग्ने छ।
दशैंको टिकट सक्कियो
निगमले धनगढी, भद्रपुर, विराटनगर सेक्टरमा घटस्थापनापछिका सबै टिकट बिक्री भएको जनाएको छ। प्रवक्ता सिग्देल दशैंलाई लक्षित गर्दै राति थप उडान गर्ने विषयमा छलफल भइरहेको बताउँछन्।
सुन्धारास्थित काउन्टरमा टिकट खोज्दै यात्रु आउने गरे पनि निगमले थप टिकट खोलेको छैन।
धनगढी, भद्रपुर, विराटनगर क्षेत्रमा निगमको एम ६० विमानले उडान भर्दै आएको छ।