एकै दिन चार शव फेला
प्रदेश १ को झापा, मोरङ, सुनसरी र उदयपुरमा शुक्रबार चार जनाको शव फेला परेको छ। चार मध्ये तीन पुरुष र एक नवजात शिशुको शव रहेको छ।
झापा भद्रपुर नगरपालिका १० स्थित सब्जी लाईनमा ज्याला मजदुरी गर्ने जेबेन राजबंशी (४०) को शव फेला परेको प्रहरीले जनाएको छ । आज बिहान सोही क्षेत्रमा हिडिरहेको देखिएको राजबंशीलाई केही बेरमै स्थानीयले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
यस्तै मोरङ सुन्दर हरैचा नगरपालिका ५ खोक्सी स्थित सार्वजनिक चौतारोमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ५०–५५ वर्षीय पहाडीमुलका व्यक्तिको शव फेला परे पनि सनाखत हुन नसकेको मोरङ प्रहरीले जनाएको छ।
यसैगरी सुनसरी कोशी गाउंपालिका ४ मा भर्खरै जन्मेको नवजात शिशुको शव आज फेला परेको प्रहरीले बताएको छ। बालुवामा आधा गाडिएको अवस्थामा शिशु फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए। कसले शिशु जन्माएर फालेको भन्ने विषयमा ईलाका प्रहरी कार्यालय लौकहीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी उदयपुर त्रियुगा नगरपालिका ३ स्थित गैरुन खोलाको छेउमा आज बिहान त्रियुगा ९ बस्ने मोहम्मद वकिल (४०) मृत अवस्था फेला परेका थिए। वकिलको मृत्युको कारण पत्ता नलागेको र घटना बारे जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
– कमल रिमाल