'ए' डिभिजन लिगः मिलेमतोमा खेले कडा कारबाही
१३ असोजदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले खेल मिलोमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताए।
लिग संयोजक विज्ञानराज शर्माले भने, “हामीले लिग हुने दुवै मैदानमा सिसी क्यामेरा राख्नेछौँ, यस्तै अर्को क्यामेरा पनि हुनेछ, म्याच फिक्सिङ भए फिफा र एएफसीको नियमअनुसार कारवाही गर्छाैँ ।” लिगका खेलहरु सातदोबाटोस्थित एन्फा मैदान र हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ।
साङ्गीतिक प्रस्तुतिका साथ लिगको उद्घाटन हुने जानकारी एन्फाले दिएको छ। नेपालका चर्चित कलाकारको प्रस्तुति रहने उक्त साङ्गीतिक प्रस्तुति ४५ मिनेटको हुनेछ।
उद्घाटनका अवसरमा विश्व फुटबल महासंघ (फिफा)का दक्षिण एशिया ‘रिजनल डेभलपमेन्ट अफिसर’ प्रिन्स रफस समेत नेपाल आउने एन्फाले जनाएको छ।
हल्चोकमा हुने लिगका खेलहरुको रु २०० र एन्फा कम्प्लेक्समा हुने खेलका लागि रु २०० र ५०० टिकट मूल्य राखिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।
‘ए’ डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले लिगअघि शुक्रबार सबै १४ क्लबका प्रशिक्षकलाई राखेर ‘प्रि म्याच कन्फ्रेन्स’ आयोजना गरिने बताए।
उनका अनुसार, यसबाट सबै क्लबलाई आफ्नो तयारी र लिगको टार्गेटको बारेमा जानकारी हुनेछ ।
लिगको मार्के्टिङ र प्रमोसन पार्टनरको रुपमा रहेको रामसार मिडियाले पल्सर बाइकसँग ‘ए’ डिभिजन लिगको लागि टाइटल स्पोनसरको सम्झौता गरिसकेको छ । सम्झौतापछि लिग पल्सर शहीद स्मारक ए डिभिजन लिगको नामबाट सञ्चालन हुनेछ ।
चार वर्षपछि हुन लागेको लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्र्नेछन्।
लिगको दोस्रो खेल आइतबार संकटा क्लब र सरस्वती क्लबले प्रतिस्पर्धा गर्नेछन्। दुई खेलपछि नेपालले बङ्गलादेशमा हुने बङ्गबन्धु अन्तर्रा्ष्ट्रिय गोल्डकपमा सहभागिता जनाउने भएपछि केही समयका लागि लिग स्थगित हुनेछ।
१४ ’ए’ डिभिजन क्लबले १६ माघसम्म खेल्ने लिगमा कुनै पनि क्लब रेलिगेसनमा जाने छैनन् ।
लिगमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब रहेका छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ।
लिगको विजेताले रु ५० लाख पाउनेछ। यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने छन्। लिगको उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउने जनाएको छ।
लिगको चौँथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन्। फेयर प्ले टिमले रु एक लाख पाउने छन्। प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिने छन् ।
लिगको तयारीका लागि एन्फाले क्लबहरुलाई रु २० लाख उपलब्ध गराइसकेको छ ।
’ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो। पछिल्लो पटक विसं २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो।
- रासस