सरकारले जनतालाई सुरक्षाको अनुभूति दिन सकेनः पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनतालाई सुरक्षाकाे अनुभूति दिन नसकेको बताएका छन् ।
यूरोपियन मुलुकको भ्रमणपछि स्वदेश फर्कने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै पौडेलले सरकार हरेक कोणबाट असफल भइरहेको बताएका हुन् ।
उनले भने, “बलात्कार र हत्याका घटना दिनहुँ बढेका छन् । राजधानीमै पूर्वराजदूतको हत्या हुँदासमेत सरकार चुप छ ।”
पौडेलले सरकारले कुरा मात्रै धेरै गरेको र जनताका कुनै पनि आवश्यकता सम्बोधन गर्न नसेकेको बताएका छन् । वर्तमान सरकार नाम मात्रैको शक्तिशाली भएको पनि उनले बताए ।
त्यस्तै उनले संशोधन हुन लागेको पार्टीको विधानमा जनसम्पर्क समितिलाई पार्टीको महाधिवेशनमा भाग दिन पाउने अधिकार कटौती गर्न नहुने पनि बताए ।