ब्लगबुधवार, आश्विन १०, २०७५

डाग हामरस्कल्डका चार हाइकू

कनकमणि दीक्षित

हामरस्कल्डले जनवरी १९६१ को ‘नेशनल जोग्राफिक’ पत्रिकामा ‘ए न्यू लूक एट एभरेष्ट’ शीर्षकको लेख छापे, जसमा आकाशबाट खिचेका सगरमाथा, अन्नपूर्ण, धवलागिरि लगायत हिमालका तस्वीर पहिलोपल्ट विश्वका हिमाल पारखीमाझ राखे ।

यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । यस सन्दर्भमा राष्ट्रसंघका दोस्रा र तेस्रा महासचिवलाई सम्झनु उचित हुन्छ । तेस्रा महासचिव थिए बर्माका उ थान्ट, जसले लुम्बिनी पुगेर आँसु झारे ।

लुम्बिनीमा खुट्टा टेक्नु आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको पनि बताए । उ थान्टकै कारण जापानी वास्तुकलाविद् केञ्जो टाङ्गेको ‘लुम्बिनी मास्टरप्लान’ बन्यो, जसले गर्दा लुम्बिनीको सम्पदा जोगिएको छ, यदाकदा उपद्रव हुँदा पनि ।

उ थान्टकै कार्यकालमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा एउटा समूह गठन गरियो– लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति । यसले लुम्बिनीको सम्पदास्थितिमा ध्यान दिने र आवश्यक पूँजी जुटाउने काम गर्‍यो । संयुक्त राष्ट्रसंघको मुख्यालयमै एउटै अर्को विश्व सम्पदा सम्बन्धी समिति रहेन, मात्र लुम्बिनीको । उक्त समितिमा बौद्ध धर्मसँग गाँसिएका १६ मुलुक सदस्य छन् ।

अफसोच, यो समितिको बैठक नबसेको १५ वर्ष भइसकेको छ । लुम्बिनी र बृहत् कपिलवस्तुमाथि हुने बजार अतिक्रमण तथा विभिन्न भूराजनीति तथा सामाजिक प्रवाहबाट सुरक्षित राख्न पनि यस समितिको पुनर्जागरण आवश्यक छ । आशा गरौं, प्रम ओलीले राष्ट्रसंघको मुख्यालयमा महासचिव आन्टोनियो गुटरेजसँगको भेटमा यो कुरा उठाउने छन् ।

उ थान्ट भन्दा अगाडि राष्ट्रसंघका महासचिव थिए स्वीडेनका कवि, दार्शनिक तथा कूटनीतिज्ञ डाग हामरस्कल्ड । उनको नेपालसँगको सम्बन्धको एक पाटो त्रासदीपूर्ण छ । सेप्टेम्बर १९६१ मा रहस्यपूर्ण हवाई दुर्घटनामा उनको कंगोमा निधन भएपछि छानबिन समितिको अध्यक्ष नेपालका संयुक्त राष्ट्रसंघस्थित स्थायी प्रतिनिधि हृषीकेश शाह तोकिएका थिए ।

माथिको प्रसंगसँगै स्तम्भकारलाई थाहा भएको अर्को कुरा हो, मार्च १९५९ मा नेपाल भ्रमणमा आउँदा हामरस्कल्डले राजा महेन्द्रको डिसि–३ डाकोटा हवाईजहाज लिएर हिमालको दृश्यावलोकन गरे । शायद यो नै नेपालको पहिलो ‘माउन्टेन फ्लाइट’ थियो ।

उक्त उडानको भरमा हामरस्कल्डले जनवरी १९६१ को ‘नेशनल जोग्राफिक’ पत्रिकामा ‘ए न्यू लूक एट एभरेष्ट’ शीर्षकको लेख छापे, जसमा आकाशबाट खिचेका सगरमाथा, अन्नपूर्ण, धवलागिरि लगायत हिमालका तस्वीर पहिलोपल्ट विश्वका हिमाल पारखीमाझ राखे ।

हामरस्कल्डले नेपाल आउँदा हाइकू लेखेको कुरा भर्खर मात्र थाहा पाएँ । यी कविताले नेपालको छोटो बसाइमा उनी कति प्रभावित भए भन्ने कुरा झल्किन्छ । टिपनटापन लेखन तथा हाइकूहरू हामरस्कल्डले आफ्ना एक मित्रलाई पठाएका थिए, ‘यो सामग्रीलाई जे गर्छौ गर’ भन्दै । उनले थपेका थिए, “यी टिपोटलाई मेरो आफैंसँगको र भगवानसँगको संवादको रूपमा बुझिदिनु” ।

सन् १९५९ मा लेखिएका १११ हाइकू लगायत हामरस्कल्डको पद्य लेखन सन् १९६३ मा स्वीडिस भाषामा छापियो । पछि अंग्रेजीमा उल्था भई ‘वेमाक्र्स’ (Waymarks) शीर्षक अन्तर्गत पनि प्रकाशन भयो ।

हामरस्कल्ड काठमाडौं र लुम्बिनी गरी मार्च १९५९ को अन्तिम हप्ताको दुई–तीन दिन इस्टर पर्वको बेला बसेको हुनुपर्छ । शायद काठमाडौं उत्रेकै दिन उनी साँझपख स्वयम्भू पुगे र यो हाइकू लेखेः

Himalaya’s icy cliffs

Beyond the hills

In Easter’s Vezelay.

नागार्जुन–शिवपुरी पहाड उत्तर देखिने हिमशृङ्खलाको सन्दर्भ जोड्दै हामरस्कल्डले अन्यत्र लेखेका छन्, ‘(फ्रान्सको) बर्गण्डी जस्तै नेपालमा पनि चिसो–चिसो मौसम रहेछ, इस्टर विदाको यो बेला’ । ‘भेजेले’ भनेको पेरिस शहरको १४० माइल दक्षिणपूर्वमा बर्गण्डी क्षेत्रमा रहेको टुप्पामा अवस्थित इसाई गिर्जाघर हो, जसलाई स्वयम्भूको परिवेशले उनलाई सम्झायो ।

‘मङ्किज्’ (बाँदरहरू) शीर्षकको हाइकूमा उनी लेख्छन्ः

The moon woke them –

Round the earth’s navel

Turned the ladder’s prayer wheels.

यस सन्दर्भबारे उनी लेख्छन्, “चन्द्रमाको उज्यालोले स्वयम्भूका बाँदरलाई ब्युँझाउँछ, जतिबेला दुई–तीन भुटिया श्रद्धालुले स्तूप वरिपरिका लहरै रहेका माने घुमाइरहेका छन् ।” पश्चिमा सभ्यतामा धार्मिक महत्वका स्थललाई विश्वको नाइटोसँग तुलना गरिए अनुसार स्वयम्भू स्तूपलाई पनि हामरस्कल्ड त्यसैगरी चित्रण गर्छन् ।

तेस्रो हाइकूमा बालाजुका बाइसधारा तथा स्वयम्भूलाई उनी नेपालमण्डलको धार्मिक ‘सिन्क्रेटिजम्’ सँग तुलना गर्छन् । ‘रेस्ट प्लेस’ (पाटी) नाम दिइएको हाइकूमा शायद स्वयम्भू मुनिको पाटीको चर्चा छ, जहाँ भिक्षुहरू आगो तापिरहेछन् । बाइसधारा छेउको जलाशयका शयन मुद्राका विष्णु तथा यी भिक्षुको चर्चा गर्दै हामरस्कल्ड लेख्छन्, “(विष्णु र भिक्षुको यो सान्निध्यताले) पर्वत र मानवको सम्बन्धबाट उब्जिएका दुई विशाल आध्यात्मिक प्रवाहहरूको उद्गम उजागर गर्छ” . . .

Charcoal fires are lit –

Submerged in the mirror pond

Vishnu rests.

लुम्बिनी पुगेर डाग हामरस्कल्डले उतारेको हाइकू मेरो लागि सबैभन्दा चम्किलो छ । शाक्यमुनि गौतम जन्मथलो बगैंचामा बाँसुरीको धुन यसरी माथि भगवानसामु पुग्छ, सूर्यको चम्किलो प्रकाश जसरी . . .

Like glittering sunbeams

The flute notes reach the gods

In the birth grotto.

प्रतिकृया दिनुहोस