रिपोर्टबुधवार, आश्विन १०, २०७५

वायुसेवाको बारेमा इथियोपियाबाट सिक्ने कि !

कुन्द दीक्षित

आफूजस्तै अवस्थाबाट गुज्रेको इथियोपियाभन्दा नेपाल धेरै कुरामा अगाडि भए पनि वायुसेवामा भने धेरै पछाडि छ ।

बोइङ ७८७ ड्रिमलाइनरको ककपिटमा क्याप्टेन प्रदीप श्रेष्ठ । 

नेपाल र इथियोपियाले उस्तै प्रवृत्तिको राष्ट्रिय यात्रा गरेका छन् । दुवै प्राचीन, भूपरिवेष्टित र पहिले राजतन्त्र भएका देश हुन् । दुवै देशले लामो आन्तरिक युद्धको सामना गर्नुपर्‍यो । लामो समयदेखि भ्रष्टाचार विरुद्ध संघर्ष गरेका दुवै देशमा अहिले जीवन्त लोकतन्त्र छ । गरीबी र रोगले दुवै देशमा जरा गाडेका छन् । 

यद्यपि इथियोपियाभन्दा नेपालको प्रतिव्यक्ति आय धेरै छ, स्वास्थ्य सूचकमा नेपालले राम्रो सुधार गरेको छ भने व्यावसायिक वातावरण पनि नेपालमै सहज छ । तर, एउटा यस्तो क्षेत्र छ जहाँ नेपालभन्दा इथियोपिया धेरै माथि छ ।

त्यो हो उसको अन्तर्राष्ट्रिय वायुसेवा । नेपाल एअरलाइन्स सरकारी हस्तक्षेप र अव्यवस्थाको दलदलमा फँसेको छ भने राज्यको स्वामित्व भएको इथियोपियन एअरलाइन्स प्रतिष्ठित र धेरै पुरस्कार हासिल गरेको कम्पनी हो ।

“इथियोपियन एअरलाइन्सले यति ठूलो उडान भर्न सक्नुको कारण हाइली सेलासी (पूर्व बादशाह) कै पालादेखि यसलाई राजनीतिक हस्तक्षेप मुक्त राखिनु हो” इथियोपियन एअरका नेपाली क्याप्टेन प्रदीप श्रेष्ठ भन्छन्, “यो राज्यको स्वामित्वमा भए पनि राज्यमा निर्भर छैन ।”

करीब चार दशकसम्म नेपाल एअरलाइन्सका विमान उडाएका श्रेष्ठ यी दुई देशका एअरलाइन्सलाई तुलना गर्दै भन्छन्, “इथियोपियाका नेताले राष्ट्रिय ध्वजावाहक विमानलाई आफ्नो देशको राजदूतका रूपमा देखे र त्यसै अनुसारको व्यवहार गरे, जबकि नेपालको ध्वजावाहक राजनीतिक हस्तक्षेपले नै खत्तम पार्‍यो ।”

इथियोपियन एअरलाइन्स गत वर्ष अफ्रिकाकै सर्वोत्कृष्ट एअरलाइन्स छनोट भएको थियो र यो यस क्षेत्रकै सबैभन्दा बढी मुनाफा आर्जन गर्ने एअरलाइन्स पनि हो । सरकारी स्वामित्वको भए पनि पूर्ण स्वतन्त्रता पाएको यो एअरलाइन्सप्रति अन्य अफ्रिकी देशहरूले इष्र्या गर्छन् ।

इथियोपियन एअरलाइन्ससँग बोइङ ७७७, बोइङ ७८७ र एअरबस ३५० जस्ता नवीनतम मोडेलका १०३ विमान छन् जसमध्ये एउटाको नाम माउण्ट एभरेष्ट राखिएको छ । यसको आफ्नै विशेष मर्मत ह्याङ्गर र चालक दलका लागि अत्याधुनिक प्रशिक्षण केन्द्र छ ।

शुरूआतदेखि नै इथियोपियाले एअरलाइन्सलाई वैश्विक एअरलाइन बनाउने दृष्टिकोण राख्यो र त्यसै अनुरूप राष्ट्रियता, प्रतिबद्धता र पारदर्शितासँग जोडेर यसलाई अघि बढायो । कुनै बेला शाही नेपाल वायु सेवा पनि उसले दिने सेवा र विमानका कारण आफ्नो क्षेत्रको उत्कृष्ट एअरलाइन्स मानिन्थ्यो । सन् १९८५ मा बोइङ्ग ७५७ सञ्चालन गर्ने एशियामै नेपाल पहिलो थियो जुन अहिले बोइङ्ग ड्रिमलाइनर किन्नु जस्तै हो । 

“वास्तवमा, इथियोपिया जस्तै हामीकहाँ पनि सम्भावनाहरू छन्” क्याप्टेन श्रेष्ठ भन्छन्, “इथियोपियाले देशको अवस्थितिको लाभ लिइरहेको छ, जबकि नेपालले गन्तव्यको लाभ लिन सक्छ ।” इथियोपियन एअरलाइन्सले अदिस अबाबालाई अफ्रिका प्रवेश गर्ने मुख्य द्वारका रूपमा विकास गरेको छ । चीन, दक्षिण एशिया, युरोप र अमेरिकाबाट हुने आफ्ना उडानहरूलाई उसले अफ्रिकी महादेशका करीब ३० मुख्य गन्तव्यसँग जोडेको छ ।

सन् १९८२ मा क्यानाडाबाट पाइलट प्रशिक्षण लिइसकेपछि नेपाल फर्किएका श्रेष्ठले तत्कालीन शाही नेपाल वायु सेवा निगमका ट्विन अटर र त्यसपछि बोइङ ७५७ उडाए । उनले दुर्गमका विमानस्थलमा काष्ठमण्डप एअरलाइन्सका ‘सर्ट टेक अफ ल्याण्डिङ’ विमान पनि उडाए ।

तर, इथियोपियन एअरलाइन्सले पाइलट माग गरेपछि ड्रिमलाइनर उडाउने सपना साँचेका उनले तुरुन्तै आवेदन दिए । त्यहाँ गइसकेपछि सबैभन्दा पहिले उनले यूएनले चार्टर गरेको इथियोपियन एअरलाइन्सको ७६७ उडाए । त्यसबेला सुडान, हैटी र पूर्वी टिमोरमा तैनाथ नेपाली शान्ति सेनालाई ल्याउन लैजान उनले परिचित काठमाडौं विमानस्थलमा पनि उडान भरे ।

नेपाल वायुसेवालाई फेरि गति दिनका लागि के गर्ने भन्ने बारे श्रेष्ठ सोचिरहेका हुन्छन् । उनका अनुसार वाइड बडी विमान भित्र्याउनु पहिलो कदम हो तर, त्योभन्दा पनि महत्वपूर्ण दूरदर्शी नेतृत्व, सरकारी हस्तक्षेप बन्द, अनुशासन र योग्यतामा आधारित व्यवस्थापन नै हो । श्रेष्ठ भन्छन्, “इथियोपियाले गर्न सकेको नेपालले नसक्ने कुनै कारण छैन ।”

प्रतिकृया दिनुहोस