रिपोर्टमंगलवार, आश्विन ९, २०७५

हात्ती र मानिसबीचको द्वन्द्व कसरी रोक्ने ? यस्तो छ प्रस्ताव

गोपाल गडतौला

नेपालमा करिब साढे चार दशकदेखि शुरु भएको हात्ती र मानिसबीचको द्वन्द्व हात्तीको आवागमन मार्ग र वासस्थनमा अतिक्रमण नै हो । यो रोक्न यसै क्षेत्रमा काम गरिरहेको संस्था ग्रिन जेनेरेशनले नयाँ प्रस्ताव अघि सारेको छ ।

झापाको बाहुनडाँगीमा जंगली हात्तीको हुल । तस्वीर: कृष्ण सिंजाली 
  • गएको १९ भदौ बिहान पूर्वी झापाको मेची नगरपालिका ९ का रोहितकुमार ढुंगानाको धानबारीमा एउटा हात्ती मृत फेला पर्‍यो ।
  • ७ साउनमा पनि मेचीनगर ३ का तेलपानी सामुदायिक बनमा अर्काे एउटा हात्ती मृत भेटिएको थियो ।

पूर्वाेत्तर झापाको बाहुनडाँगीबाट मान्छेले हात्ती वा हात्तीले मान्छे मारेको खबर बारम्बार आइरहन्छ । २०३४ सालयता हात्तीले १९ जना मान्छे र मान्छेले ११ वटा हात्ती मारेको तथ्यांक सुनाउने अर्जुन कार्की (४९) मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा २२ वर्षदेखि खटिएका सामाजिक कार्यकर्ता हुन् ।

अन्नबली नष्ट गरिरहेको हात्ती खेद्न जाँदा हात्तीको आक्रमणबाट मृत्यु भएका मेचीनगर ४ का शम्भु थापा, लालबहादुर मगर, मनोरथ ढुंगेल, प्रेम बराल आदि समेत गरी १९ नेपाली र १ भारतीयको मलामी गएको सम्झिँदै ग्रिन जेनेरेशनका अध्यक्ष समेत रहेका उनी भन्छन्, “बाहुनडाँगी क्षेत्रका सबैजसो घर हात्तीको बिजाइँबाट पीडित छौं, तर यो मानव सिर्जित समस्या हो ।” जिल्ला वन कार्यालयका अनुसार पछिल्लो ८ वर्षमा मात्र १० हात्ती मारिएका छन् ।

भारतको आसाम काजिराँगको घना जंगल एशियामै हात्तीका ठूलो बासस्थानमध्येमा गनिन्छ । काजिराँगबाट सहबास र खानाका लागि हात्तीको लस्कर भारतको पश्चिम बंगाल हुँदै नेपालको कोशीटप्पुसम्म आउने गर्छ ।

अर्जुन कार्की 

वर्षायाम हात्ती उत्ताउलो हुने सिजन पनि मानिन्छ । नेपालमा चुरे फेंदीको बाटो लम्किन रुचाउने हात्तीकोे आनिबानी याद गरेका कार्की यो ठूलो जन्तु एकपटक हिँडेको बाटो नछोड्ने बताँउछन् । तर हात्ती हिँड्ने क्षेत्रमा मानव वस्ती बढ्दै गएको, अनाज उत्पादन गर्न थालिएको र अन्य संरचना निर्माण गरिएकाले हात्ती र मान्छेबीच टकराव हुने गरेको सुनाउँछन् ।

“हात्ती हिँड्ने ठाँउमा मान्छेको उपस्थिति बढेपछि द्वन्द्व बढेको हो,” कार्की भन्छन् । पूर्वी झापाको साविकका २७ गाविस र ३ नगरपालिकाका वासिन्दा हात्तीको उपद्रोबाट पीडित छन् । बितेको ८ वर्षमा हात्तीको आक्रमणबाट झापामा ३५ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म थाहा भए अनुसार २०३४ साल साउनमा बाहुनडाँगी– ९ की यशोदा बिक हात्तीको आक्रमणमा परी ज्यान गुमाउने पहिलो हुन । त्यसयता झापाका बाहुनडाँगी, बुधबारे, पृथ्वीनगर, अर्जुनधारा, शनिश्चरे, शान्तिनगर, खुदुनाबारी, राजगढ, दमक, लगायतका क्षेत्रमा हात्तीले वर्षेनी मानिसको ज्यान लिइरहेको छ ।

द्वन्द्व घटाउने, आम्दानी बढाउने
भदौ दोस्रो साता काठमाडौं पुगेका कार्कीले प्रधानमन्त्री केपी ओली, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, पर्यटन मन्त्री रविन्द्र अधिकारी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र पर्यटन बोर्डका अधिकारीहरुलाई भेटेर एउटा योजना सुनाए– सीमानाको मेची बगरमा करिब १ हजार विगाह जमिनमा हात्तीले खाने फलको खेती गर्ने र त्यहाँ आउने हात्ती पर्यटकलाई देखाएर आम्दानी गर्ने ।

बगरमा बनाइने वनमा हात्तीले रुचाउने केरा, नरिवल, बडहर, कटहर जस्ता फलका रुख हुर्काउने, मारिएका हात्ती र मानिसको तस्वीरसहितको स्मृति बाटिका निर्माण गर्ने र चितवनको सौराहामा झैं सधाइएका हात्ती र मोटर चढेर पर्यटकलाई जंगल सफारी गराउने । यसो गर्दा हात्तीले गाउँ वस्तीमा पसेर नोक्सान नगर्ने र आम्दानी पनि उनको भनाई छ ।

आफूले गाँउमा बसेर बनाएको योजनाबाट मन्त्री र अधिकारीहरु सकारात्मक भएको खबर बोकेर कार्की झापा फर्किए ।

उनको योजनामा हात्ती हिंडने बाटो र जम्मा हुने स्थानमा हात्ती आएको थाहा दिने सूचना प्रणाली जडान गर्ने, हात्ती हिड्नका लागि चुरे क्षेत्रको खास ठाँउको बाटो खुला गरिदिने, चुरेको विनाश रोक्ने र हात्तीलाई खान्की पुग्ने गरी जंगलमै आहार खेति गरिदिने पनि छन् ।

केही बर्षदेखि बाहुनडाँगीमा हिउँदमा आयोजना गरिने कृषी तथा पर्यटन महोत्सवमा हात्तीलाई त्रासको रुपमा हेर्ने गाँउलेलाई सधाएको हात्तीमा चढाएर सस्तोमा घुमाउने पनि उनको सुर छ । त्यसका लागि आँउदो हिँउदमा सौराहाबाट दुई वटा हात्ती भाडामा झापा लैजान उनले पर्यटन बोर्ड मार्फत कुरा अघि बढाइसकेका छन् ।

१९ भदौमा बाहुनडाँगी ९ का रोहितकुमार ढुंगानाको धानबारीमा भेटिएको मृत हात्ती । तस्वीर: गोपाल गडतौला

तर बितेको अढाई दशक यता सरकारले जिल्ला वन कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापा मार्फत हात्ती लखेट्ने, बाटो छेक्ने र पीडितलाई आर्थिक सहयोग गर्ने काम मात्र गरिरहेको छ । यो काममा बार्षिक २ करोड बढि खर्च भइरहेको छ ।

मानिस र हात्तीबीचको द्वन्द्व कम गर्न हात्तीको कहर भोगिरहेको सीमापारी भारतको समुदायसँग हातेमालो गर्न पनि उत्तिकै जरुरी हुन्छ ।

त्यसो त झापाको मेचीनगरदेखि दक्षिण इलामको सलकपुरसम्म र सीमापारी भारतका पानीटंकी क्षेत्रमा प्रत्येक वर्ष हिउँद याममा पर्यटन महोत्सव, छलफल र अन्तरक्रियाहरु आयोजना भइरहन्छन् । तिनमा सक्रिय भारतीय संस्था हेल्प टुरिजम कञ्जरवेसन र पानीघट्ट फरेस्ट डिभिजन सह–आयोजक रहन्छन । यस्तो छलफलको लागि भारतको कोलाकातास्थित नेपाली महावाणिज्य दूतावासले समन्वय गर्छ ।

योजना सुनाँउदा प्रधानमन्त्री ओलीले खुशी हुँदै राम्रो योजना रहेछ, सरकारले साथ दिन्छ भनेको सम्झिँदै अर्जुन विश्वस्त स्वरमा भन्छन्, “सरकार अलिक दाहिने भयो भने बाहुनडाँगीमा हात्ती त्रास होइन, खुशीको स्रोत बन्नेछ ।”

प्रतिकृया दिनुहोस