आर्थिक स्वतन्त्रता सूचकांकमा नेपाल पाँच स्थान उक्लियो, चीनभन्दा अगाडि भारतभन्दा पछाडि
आर्थिक स्वतन्त्रता सूचकांकमा पाँच स्थान माथि उक्लिँदै नेपाल १०२औं स्थानमा आइपुगेको छ ।
नेपाल गत वर्ष १०७औं स्थानमा थियो । सम्वृद्धि फाउण्डेसनले क्यानडाको फ्रासर इन्स्टिच्युटसँगको सहकार्यमा सार्वजनिक गरेको आर्थिक स्वतन्त्रता रिपोर्ट २०१८ ले यस्तो देखाएको हो ।
संस्थाले संसारभरिका १६२ देशमा आर्थिक स्वतन्त्रताको अध्ययन गरेको थियो ।
आर्थिक स्वतन्त्रता सूचकांकको पहिलो र दोस्रो नम्बरमा क्रमशः हङकङ र सिंगापुर छन् ।
त्यस्तै, आर्थिक स्वतन्त्रता बढी भएका दश देशको सूचीमा न्यूजिल्याण्ड, आयरल्याण्ड, स्वीट्जरल्याण्ड, अमेरिका, जर्जिया, मौरिसस्, बेलायत परेका छन् । अष्टे«लिया र क्यानडा संयुक्त रुपमा दशौं नम्बरमा परेका छन् ।
सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका दश देशमा सुडान, गिनी बिसाउ, अंगोला, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो, सिरिया, अल्जेरिया, अर्जेन्टिना, लिबिया र भेनेजुएला छन् ।
आर्थिक स्वतन्त्रता सूचकांकमा छिमेकी मुलुक चीन १०८औं र भारत ९६औं स्थानमा छन् ।
सन् २०१६ को तथ्यांकको आधारमा संस्थाले यस्तो प्रतिवेदन निकालेको हो । नेपालले १० मा ६ दशमलव ५३ अंक प्राप्त गरेको छ । गत वर्ष नेपालको अंक ६ दशमलव ५० थियो ।
सरकारको आकारका दृष्टिले नेपालको अंक १० मध्ये ७ दशमलव ९, कानूनी व्यवस्था र सम्पत्तिको अधिकारमा ४ दशमलव ६, अन्तर्राष्ट्रिय व्यापारमा ६ दशमलव ६ छ ।
आर्थिक स्वतन्त्रता बढी भएका देशमा समृद्धि, राजनीतिक र नागरिक स्वतन्त्रता एवं उच्च औसत आयु बढी भएको अध्ययनले देखाएको छ ।
आर्थिक स्वतन्त्रता बढी भएका देशमा समृद्धि, खुशी तथा स्वस्थ जीवनयापनको सम्भावना बढी हुने अध्ययनको निष्कर्ष छ ।
उच्च आर्थिक स्वतन्त्रता भएका जापान, बेलायत, आयरल्याण्ड लगायतका पहिलो चतुर्थांशका देशको औसत आय ४० हजार ३७६ डलर र अन्तिम चतुर्थांशका देश (भेनेजुएला, इरान, जिम्बाबे आदि) को औसत प्रतिव्यक्ति आय ५ हजार ६४९ डलर मात्र भएको अध्ययनले देखाएको छ ।
त्यस्तै, पहिलो चतुर्थांशका देशको औसत आयु ७९ दशमलव ५ वर्ष र अन्तिम चतुर्थांशका देशको औसत आयु ६४ दशमलव ४ वर्ष मात्र छ ।