कला/साहित्यमंगलवार, आश्विन ९, २०७५

दाइको सम्झनामा, ‘द लाइफ, वर्क्स् एण्ड लिगेसी अफ खगेन्द्रबहादुर बस्न्यात’

हिमालखबर

पुस्तक सार्वजनिक गर्दै सिंहबहादुर बस्नेत । तस्वीर: सोनिया अवाले

खगेन्द्रबहादुर बस्न्यात जसले आधा शताब्दीअघि नेपाल अपाङ्ग संघ र खगेन्द्र नवजीवन केन्द्र स्थापना गरेर अपाङ्गता भएकाहरुको जीवनलाई सहज बनाउने काम गरे उनको जीवनका महत्वपूर्ण घटना र संघर्षको पाटोलाई समेटेर तयार पारिएको पुस्तक ‘द लाइफ, वर्क्स् एण्ड लिगेसी अफ खगेन्द्रबहादुर बस्न्यात’ ८ असोजमा सार्वजनिक गरिएको छ ।

पुस्तकमा खगेन्द्रका भाइ सिंहबहादुर बस्न्यातले दाइको सम्झना र उनको योगदानलाई विभिन्न भागमा लिपिवद्ध गरेका छन् । केही भागमा खगेन्द्रलाई नजिकबाट चिन्नेहरुका संस्मरण समेत राखिएको छ ।

परम्परागत सैनिक परिवारमा जन्मिएका खगेन्द्र युवावस्थामै हड्डी सम्बन्धी रोगका कारण ओछ्यान परे । भारत र बेलायतमा समेत सफल उपचार हुन नसकेपछि उनले आफ्नो सम्पूर्ण जीवन र जायजेथा अपाङ्गता भएका व्यक्तिहरुका लागि अर्पण गरे । उनको ४९ वर्षको उमेरमा २०३४ सालमा निधन भएको थियो ।

काठमाडौंको जोरपाटीमा स्थापित ‘खगेन्द्र नवजीवन केन्द्र’मा अहिले हाड तथा नसासम्बन्धी १०० शैयाको अस्पताल छ, जसमा विपन्न व्यक्तिहरुको निःशुल्क उपचार भइरहेको छ ।

अपाङ्गता भएकाहरुका लागि खगेन्द्र माध्यमिक विद्यालय सञ्चालनमा छ भने अपाङ्गता भएका टुहुरा बालबालिकाका लागि केन्द्र परिसरमा एसओएस बालग्राम सञ्चालित छ । केन्द्रले विभिन्न जिल्लामा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सञ्चालन, नक्कली हात खुट्टा निर्माण जस्ता कार्य पनि गरिरहेको छ ।

पुनर्स्थापना केन्द्र र अस्पताल सञ्चालमा मात्रै सीमित थिएनन् बस्न्यात । आफ्नो ‘सेन्स अफ ह्युमर’ ले हुरुक्कै पार्ने बस्न्यातले अपाङ्गता भएका व्यक्तिहरुका लागि खेलकुदको व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउनेदेखि नेपालमा समाज कल्याण मन्त्रालयको स्थापनाका लागि समेत पहल गरेका थिए ।

८ असोजमा ललितपुरको कोपुण्डोलस्थित लेखक सिंहबहादुर बस्न्यातको आवास परिसरमा आयोजना गरिएको एक शान्त कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरिएको हो ।

खगेन्द्र र नवजीवन केन्द्रसँग प्रत्यक्ष परोक्ष सम्बन्धित केही व्यक्तिहरु र थोरै सञ्चारकर्मीको सहभागितामा आयोजित छोटो कार्यक्रममा सिंहबहादुरले आफ्ना दाइप्रति सम्मान प्रकट गर्दै खगेन्द्र आफ्नो दाजु मात्र नभइ नेपालकै अमर छोरो भएको छोटो मन्तब्य दिए ।

“शारीरिक अपाङ्गता भएको एउटा सामान्य मान्छे खगेन्द्रबहादुर बस्न्यातले आधा शताब्दी अघि नै यति ठूलो काम गर्नुभयो कि त्यसकै छत्रछायाँमा नेपालमा थुप्रै सामाजिक संघ संस्था हुर्कन पाए,” कार्यक्रममा सहभागी पत्रकार कुन्द दीक्षितले भने, “सरकारले गर्नुपर्ने काम उहाँले गर्नुभयो तर, गुनासो कहिल्यै गर्नुभएन ।”

एसओस बालग्राम, रिडर चेसार होम, समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम, नेपाल अर्थोपेडिक अस्पताल, स्पाइनल इञ्जरी पुन्स्र्थापना केन्द्र जस्ता कैयन संस्था स्थापना हुनुमा प्रत्यक्ष–परोक्ष खगेन्द्रबहादुर बस्न्यात र नवजीवन केन्द्रकै प्रेरणा र सहयोग छ ।

लेखक सिंहबहादुर अहिले आफैं पनि विरामी अवस्थामा छन्, अस्पतालमा उपचारपछि बाँकी जीवन घरमै विताउन चाहेर फर्केका उनलाई हिंडडुल गर्न, बोल्न धौधौ छ । त्यसैले पुस्तक लेखिएको लामो समयपछि मात्रै सार्वजनिक भएको हो ।

अमेरिकाको जर्ज वासिंङटन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि सिंहबहादुर कुनै बेला ब्याडमिन्टनमा राष्ट्रिय च्याम्पियन थिए ।
बेलायत लगायत देशका लगि नेपाली राजदूत रहिसकेका उनी भायोलिन वादनमा रुची राख्छन् । उनले आफ्नै स्वरमा नेपाली लोकगीतहरु रेकर्ड गराएका छन् ।

राजनीति, खेल र संगीत तीन विधामा उत्तिकै रुची राख्ने सिंहबहादुरले आफ्ना दाईको बारेमा लेखेको यो पुस्तक असहज परिस्थितिमा पनि अरुको सेवा गरेर सन्तुष्ट जीवन बाँच्न सकिन्छ भन्ने प्रेरणा पनि हो ।

पुस्तक पाटन ढोकास्थित पाटन बुक सपमा पनि उपलब्ध छ ।

पुस्तकः द लाइफ, वर्क्स एण्ड लिगेसी अफ खगेन्द्रबहादुर बस्न्यात (१९९२–१९७८)
लेखकः सिंहबहादुर बस्न्यात
पृष्ठ संख्याः १५० + ११
प्रकाशक: जगदम्बा प्रेस

प्रतिकृया दिनुहोस