इङलिस प्रिमियर लिग: चेल्सी बराबरीमा रोकियो, लिभरपुल र सिटी उक्लिए
इङलिस प्रिमियर लिगमा चेल्सीका नवनियुक्त प्रशिक्षक माउरिजियो सारीको लगातार जितको यात्रा रोकिएको छ ।
सारीले इङल्याण्डमा आफ्नो डेब्यु सिजनमा शुरुवाती पाँच खेलमा शतप्रतिशत नतिजा निकालेका थिए । तर, आइतबार साँझ भएको प्रिमियर लिगको छैठौं खेलमा भने चेल्सी लण्डनको अर्को प्रतिद्धन्द्धी वेस्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकियो ।
वेस्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले यो सिजनकै पहिलो गोलरहित बराबरी खेलेको हो । पुरा अवधि खेल नियन्त्रणमा राख्दा पनि चेल्सीले पाएका कैयौं अवसरलाई सदुपयोग गर्न सकेन । वेस्ट ह्यामले पनि खेलको ७८ औं मिनेटमा पाएको शानदार अवसर खेर फाल्दा चेल्सीमाथि जित हासिल गर्ने अवसर गुमायो ।
यो बराबरीसँगै चेल्सी ६ खेलबाट १६ अंक जोड्दै अंक तालीकाको तेस्रो स्थानमा रहेको छ । गत साता चेल्सी शीर्षस्थानमा थियो । समान १६ अंक भए पनि गोल अन्तरका आधारमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।
सिटीले शनिबार साँझको खेलमा कार्डिफ सिटीमाथि ५–० को जित निकालेको थियो । लगातार ६ वटै खेलमा जित हात पारेको लिभरपुल १८ अंक सहित शीर्षस्थानमा छ । लिभरपुलले शनिबार साँझको खेलमा साउथह्याम्प्टनलाई ३–० ले पराजित गरेको थियो । आइतबार राति सम्पन्न अर्को खेलमा आर्सनलले एभर्टनमाथि २–० गोलको जित निकाल्यो ।