टिप्पणीसोमवार, आश्विन ८, २०७५

राजनीतिक कर्मकाण्डमा इन्द्रजात्रा

वसन्त महर्जन

संस्कृति र राजनीति बेग्लै विषयवस्तु र क्षेत्र भएका कारण सांस्कृतिक कुरामा राजनीति हावी हुन दिंदा यसले संस्कृतिलाई आफ्नो कर्मकाण्डमा नै सीमित पारेर अर्थहीन बनाइदिने खतरा रहन्छ ।

२० भदौ २०७४ः इन्द्रजात्राको अवसरमा जीवित देवी कुमारी, गणेश, भैरवको रथयात्रा हेर्न वसन्तपुरमा उपस्थित सर्वसाधारण । तस्वीरः रासस

प्रत्येक वर्ष काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा भदौ–असोज (भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्णचौथीसम्म) मा मनाइने इन्द्रजात्रा विशुद्ध सांस्कृतिक पर्व हो ।

उपत्यकाको सांस्कृतिक जीवनसँग घनिष्ट सम्बन्ध रहेको यो पर्व आजभोलि सामाजिक तथा सांस्कृतिक जीवनभन्दा पर राजनीतिक कर्मकाण्डमा खुम्चँदै गइरहेको छ । सांस्कृतिक गतिविधिमा राजनीतिक क्षेत्रका व्यक्तित्वको उपस्थिति ठीकै मान्न सकिए पनि उनीहरूकै वर्चस्व हुनुले चाहिं संस्कृति पतन हुने खतरा बढाउँछ ।

हनुमानढोका परिसरमा ‘यःसिं’ भनिने लिङ्गो विधिवत् ठड्याएपछि इन्द्रजात्रा शुरू हुन्छ । इन्द्रजात्रा भनिए पनि यसमा ‘इन्द्र’ नामक देवता एक्लैको जात्रा हुँदैन । यःसिं ठड्याएको तेस्रो दिनपछि हुने कुमारी, गणेश र भैरवको रथयात्राको छुट्टै आकर्षण हुन्छ, त्यसैले यसलाई ‘कुमारी जात्रा’ वा ‘कुमारी रथयात्रा’ पनि भनिन्छ । तर यस पर्वसँग सम्बन्धित जनसमुदायले समग्र पर्वलाई ‘यँन्याःपुन्हि’ भन्ने गरेको पाइन्छ ।

यस अवसरमा पूजा प्रसादको रूपमा ‘समेबजि’ खाने भएका कारण ‘समेबजि पुन्हि’ पनि भनिन्छ । काठमाडौं बाहेक अन्यत्रको नेवार समाजमा पनि ‘समेबजि’ टोल छिमेकमा बाँड्ने र खाने भएका कारण यँन्याःपुन्हि कुनै एक गतिविधिसँग मात्र सम्बन्धित सांस्कृतिक पर्व नभएर अनेकौं गतिविधिको समग्र नाम हो ।

कुमारी रथयात्राको शुरू दिन राष्ट्रप्रमुख तथा विशिष्ट पदाधिकारीहरूको उपस्थितिलाई जात्राको एक अङ्ग नभई अवलोकन गर्न आएका विशिष्ट व्यक्तिका रूपमा मात्र बुझ्नुपर्दछ । यसअघि राजतन्त्रकालमा राजारानीको उपस्थिति हुन्थ्यो भने राणाकालमा राणाहरू यसलाई विशेष महत्व दिई सजिसजाउ भएर आउँथे ।

देशमा गणतन्त्र स्थापनापछि राजारानीको ठाउँमा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति जात्रा अवलोकनका लागि आउनेदेखि विपक्षी राजनीतिकर्मीहरूको बुझाइमा इन्द्रजात्रा भनेको सत्तासीन व्यक्तित्वहरूको विरोध गर्ने थलोको रूपमा विकास भएको छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल जहाँ गए पनि अवरोध गर्ने अभियान नै चलाएर बसेको तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपले सांस्कृतिक पर्वस्थललाई कुरुक्षेत्रका रूपमा परिणत गरिदिएको धेरै भएको छैन । यो संस्कृतिमाथि राजनीतिको ठाडो हस्तक्षेप थियो ।

यसरी नै अर्थमन्त्रीको पदमा रहेका बाबुराम भट्टराईले इन्द्रजात्राका लागि दिनुपर्ने सामान्य खर्चमा पनि कटौती गरिदिंदा इन्द्रजात्रा विधिवत् समापन नै गर्न नपाएको घटना नेपालको सांस्कृतिक इतिहासमा एउटा कलङ्क हो । भट्टराईको यो अविवेकी अभ्यासले पहिल्यैदेखि असन्तुष्ट जनतालाई भड्काउने काम मात्रै गरेन, संस्कृतिका नाममा राजनीति गर्न चाहनेहरूलाई राजमार्ग नै निर्माण गरिदियो ।

इन्द्रजात्रा झट्ट हेर्दा हिन्दू धर्म–दर्शनसँग सम्बन्धित संस्कृति जस्तो देखिए पनि यसमा बौद्ध गतिविधि पनि देख्न पाइन्छ । हिन्दू र बौद्ध नै भनिए पनि अन्यत्र अभ्यास नगरिने धार्मिक क्रियाकलाप यहाँ पाइने हुँदा यसलाई धर्मभन्दा माथि राखेर हेर्नुपर्ने हुन्छ । वास्तवमा यहाँ हिन्दू र बौद्ध धर्म–दर्शनभन्दा फरक आफ्नै पाराको जीवन–दर्शन झल्किने पक्षहरू पनि देख्न पाइन्छ ।

संस्कृतिहरू कुनै निश्चित धर्म–दर्शनसँग सम्बन्धित हुन्छन् भन्ने आम बुझाइ छ, तर त्यस्तो संस्थागत धर्म–दर्शनभन्दा पर रहेर पनि संस्कृतिको विकास भइरहेको हुन्छ । यिनीहरूलाई आदिवासी संस्कृति भनेर पनि बुझ्न सकिन्छ । इन्द्रजात्राका अवसरमा देखिने कतिपय सूक्ष्म गतिविधिले यस्ता आदिवासी संस्कृतिको झ्लक दिन्छ जुन नेपालको आफ्नो मौलिक र अपूर्व सम्पदा हो ।

सबै कुरालाई आ–आफ्नै धर्मसंस्कृति वा शास्त्रको आँखाले हेर्ने र त्यही अनुसार व्याख्या गर्ने अतिवादी सोचले कतिपय आदिवासी संस्कृतिहरू मासिने खतरा हुन्छ, यो इन्द्रजात्रामा पनि अनुभव गर्न पाइन्छ ।

इन्द्रजात्रा भनौं वा यँन्याःपुन्हि, यो एक बहुआयामिक सांस्कृतिक पर्व हो । यसको शुरूआत कहिले र कसरी भयो भन्ने छलफलको छुट्टै विषय होला तर यसको विकासमा कुनै निश्चित समय र व्यक्तिको मात्र योगदान नरहेको स्पष्ट छ ।

यस सन्दर्भमा सम्पादन गरिने कतिपय प्रचलनहरू अहिले हराएको छ भने कतिपय पुनस्र्थापित पनि छन् । मल्लकालमा नै बन्द भएको ‘यःसिं’ ठड्याउने कार्य राजा प्रतापसिंह शाहको पालाका पुनः शुरू भयो । दुई दिन मात्र हुने कुमारीको रथयात्रालाई तीन दिन बनाउने कार्य राजा रणबहादुर शाहको पालामा भयो ।

यस पर्वमा समावेश गरिएको ‘गुर्जु पल्टन’ लाई गोरखाली अधीनताको प्रतीक मानी बन्द गर्नुपर्ने आवाज उठाउनेहरू पनि छन् । तर यो इतिहास र सांस्कृतिकचेतको अभाव हो । एक राजनीतिक कालखण्डको अवशेषलाई अर्को राजनीतिक कालखण्डमा मेट्दै जाने हो भने केही पनि बाँकी रहँदैन ।

संस्कृति र राजनीति बेग्लै विषयवस्तु र क्षेत्र भएका कारण सांस्कृतिक कुरामा राजनीति हावी हुन दिंदा यसले संस्कृतिलाई आफ्नो कर्मकाण्डमा नै सीमित पारेर अर्थहीन बनाइदिने खतरा रहन्छ । 

प्रतिकृया दिनुहोस