साततले दरबारको बिजोग
नुवाकोटको विदुर नगरपालिका वडा नं. २ मा पर्ने साततले दरबार क्षेत्रमा भूकम्पले भत्काएको सम्पदा पुनःनिर्माणमा सरकारको चासो नपुग्दा अस्तित्व नै मेटिने आशंका उब्जिएको छ।
भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनःनिर्माणमा सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएको सम्पदाहरु पनि नाश हुन थालेका छन्। भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरवारलाई चिराचिरा बनाएर चर्काएको र रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो।
भूकम्पले भत्काएको बेलामा खासै क्षति नभएको संरचना पनि भूकम्पपछिको चार बर्खामा स्याहार्न नसक्दा भत्किँदै गएको विदुर नपा २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए । “भूकम्पछि तत्काल नेपाल सरकारले चासो दिएर बचेका सम्पदा जोगाउन मात्र ध्यान दिएको भए अहिलेको जति क्षति हुने थिएन,” वडाध्यक्ष शाहीले भने, “भूकम्पले जीर्ण बनेको सम्पदालाई जोगाउन चासो नदिँदा वर्षातको पानीले भत्कायो।”
भूकम्पले माथिल्लो एक तला मात्र भत्किएको तुलजा भवानीको मन्दिर रहेको दरबार वर्षातको पानीबाट जोगाउन नसक्दा भत्किएको छ। गत वर्ष साउनमा मन्दिरको उत्तरपट्टि जगैसम्म भत्कियो। “तत्काल पुनःनिर्माण गर्न नसकेको भए पनि भूकम्पले भत्काएपछि मन्दिरभित्र वर्षात्को पानी मात्र रोक्न सकेको भए भत्किने थिएन,” नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्माले भने।
नुवाकोट दरवार क्षेत्रको ऐतिहासिक सम्पदाहरु भूकम्पले कम सरकारको बेवास्ताका कारण बढी भत्किएको स्थानीय बासिन्दाको आरोप छ । भूकम्पले थोरै भत्काएका सम्पदाहरुलाई जोगाउन सरकारको बेलैमा ध्यान नपुग्दा बर्खाको पानीले भत्काउँदै माटोमै मिलाउन थालेको रिमालले बताए। भूकम्प गएको चार वर्ष पुग्न लाग्दा पनि नुवाकोटको पुरातात्विक महत्वको सम्पदा कहिले बन्छ भनेर कसैलाई थाहा छैन । वडाध्यक्ष शाहीले भने, “चीन बनाइदिन्छ भन्ने सुनेका छौं। पुरातत्व विभागका अधिकारीहरु आउँदा पनि चीनले बनाइदिन्छ भन्छन्। तर, कहिले बनाउन थाल्ने हो उनीहरुले नै थाहा नभएको बताउँछन्।”
चीनका प्रविधिज्ञहरुले गत वर्ष नुवाकोट दरबार क्षेत्रमा आएर एक सातासम्म सर्वे गरेका थिए । त्यो सर्वेपछि तत्काल दरबारको पुनःनिर्माण हुने आशा पलाएको थियो । भूकम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणमा चीनले सघाउने सार्वजनिक भएको थियो । यो समाचार पढेर दङ्ग भएका स्थानीय बासिन्दा अहिले निराश बनेका छन्। “चाँडै दरबार क्षेत्र भूकम्प प्रतिरोधी संरचनाको रुपमा निर्माण हुने भो भनेर खुशी भएका थियौं तर, अहिलेसम्म पुनःनिर्माणको चालचुल केही छैन,” वडाअध्यक्ष शाहीले भने।
नुवाकोटका प्रमुख पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको पुनःनिर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भन्न भय सिर्जना भएको छ । भूकम्पपछिका चार बर्खा झेल्नुपर्दा सम्पदा संकटमा परेको हो । काष्ठकलामा अनुपम नमूना मानिएको दरबार र मन्दिरमा कुँदिएका कलात्मक टुँडालहरु कुहिसकेका छन् । सयौं वर्ष अघि कुँदिएका यी काष्ठकलालाई जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्न नसके आउँदो पुस्ताले पक्कै धिक्कार्ने छ स्थानीय ईन्द्रबहादुर पण्डित भन्छन् ।
– रासस