टिप्पणीआइतवार, आश्विन ७, २०७५

कूटनीतिः पुष्पकमल मार्फत सबैलाई पाठ

टीकाराम राई

भारत भ्रमणमा भव्य खातिरदारी पाएर उत्साहित भएका पुष्पकमल दाहाललाई चीनले आफ्नो ‘गुडबुक’ मा नरहेको संकेत प्रष्टसँग दियो। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो भारत र चीन भ्रमणबारे अहिले कूटनीतिक क्षेत्र तरङ्गित छ । दाहालले भारत भ्रमण (२१–२४ भदौ) को एक साता भित्रै चीन भ्रमण (३० भदौ–३ असोज) गरे । भारत भ्रमणमा दाहालले भव्य स्वागत र खातिरदारी पाए । उनीसँग भेटवार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डेढ घण्टा छुट्याए । गृहमन्त्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वराज र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि दाहालको भेटवार्ता भयो । इण्डियन काउन्सिल फर वल्र्ड अफेयर्सले आयोजना गरेको कार्यक्रममा समृद्धि सम्बन्धी विचार राख्ने अवसर उनले पाए ।

भारतकै जस्तै भव्य स्वागतको अपेक्षा गर्दै पुष्पकमल दाहालले ३० भदौमा चीनको भ्रमण गरे । चीन भ्रमणमा उनको अपेक्षा थियो, राष्ट्रपति सी जिनफिङसँग भेटेर आफ्नो भावी योजना र भारतसँगको आफ्नो सम्बन्धबारे धारणा राख्ने । त्यसका लागि चीन निकट मानिएका सभामुख कृष्णबहादुर महरा, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र चीन निकट पत्रकारलाई परिचालन गरे । यही कारण भ्रमणमा निस्कने क्रममा त्रिभुवन विमानस्थलमा उनले चिनियाँ उच्चस्तरीय नेताहरूसँग भेट हुने ढुक्कसाथ बताएका थिए ।

तर, राष्ट्रपति सीको समय दाहालको लागि जुरेन । दाहाल भ्रमणमा हुँदा राष्ट्रपति सी डाभोस फोरमको सम्मेलनमा आउने राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगको भेटमा व्यस्त थिए । त्यही क्रममा राष्ट्रपति सीले बेइजिङमा पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवालाई भेट दिए । बेइजिङस्थित नेपाली मिसनको निरन्तरको आग्रहपछि ३ असोजमा मात्र उपराष्ट्रपति वाङ छिसान र दाहालबीच भेटवार्ता भयो । राष्ट्रपति सी भने कम्बोडियाको भ्रमणमा गए । तथापि, चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले दाहाललाई महŒवकै साथ भेटी उनको यो भ्रमण सरकारस्तरीय नभई पार्टीगत मात्र भएको संकेत दिए ।

दाहाल दिल्लीमा रहँदा साउथ ब्लकले उनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रचार ग¥यो । दाहालले मोदीसँग भेटवार्ता गर्नुअघि २२ भदौमा उनको भेट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग मिलाइयो । त्यसपछि मात्र २३ भदौमा मोदीसँग भेट भयो । भेटपछि मोदी र दाहालको छलफल भावी रणनीतिक विषयमा भयो भनी प्रचार गरियो । मोदीले डेढ घण्टा समय दिनासाथ दाहालले हौसिएर विदेशी भूमिमा पृथ्वीनारायण शाहको आलोचना गरे । दाहाल फर्केपछि २७–२८ भदौमा बसेको नेकपाको सचिवालय बैठकमा विदेशी भूमिमा उनको अभिव्यक्ति र एक भारतीय अखबारलाई दिएको विवादास्पद अन्तर्वार्ताको आलोचना भयो ।

चीनको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा जाँदा दाहालको पहिलो ट्रान्जिट ग्वान्झउ थियो । ग्वान्झउ शहरमा दाहाललाई स्वागत भेट गर्न चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री को यचौ टी–सर्टमा आए, जुन प्रचलित चिनियाँ कूटनीति विपरीत हो । चिनियाँहरू कूटनीतिक आचरणमा साह्रै संवेदनशील र गम्भीर मानिन्छन् । सम्भवतः दाहाललाई असन्तुष्टिको सन्देश दिन विदेश विभागका उपप्रमुखलाई टी–सर्टमा भेट्न पठाइयो । यसबाट भारतले दाहाललाई ‘प्राइम मिनिष्टर इन वेटिङ’ को रूपमा प्रस्तुत गरेको चीनलाई चित्त नबुझ्ेको संकेत मिल्छ ।

दाहालको भारत र चीन भ्रमणपछि उनीबारे दुवै देशको पछिल्लो कित्तागत धारणा प्रचारमा आएको छ । भारत भ्रमणमा रहँदा दाहाललाई त्यहाँका कार्यकारी प्रमुखले महŒवका साथ भेटेकोले उनी साउथ ब्लकको ‘गुडबुक’ मा भएको एक समूहको बुझइ छ । त्यस विपरीत चीनमा कार्यकारी प्रमुखले भेट्न समय नदिनु र उनलाई कूटनीतिक सम्मान पनि नदेखाइनुले दाहाल चीनको ‘गुडबुक’ मा नभएको दृष्टिकोण प्रचारमा आएको छ । यी दुई बुझइ यथार्थको कति नजिक छन्, समयले निर्धारण गर्ला ।

दाहालको चीन भ्रमण प्रभावकारी नहुँदा उनलाई चीनले उपेक्षा गरेको बुझन भने गाह्रो छैन । राष्ट्रपति सीसँग भेट हुने निश्चित नभए विकल्पमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र विदेशमन्त्रीसँग भेट्ने कार्यक्रम मिलाउन सक्नुपथ्र्यो । यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ प्रभावशाली नेताहरूसँग दाहालको भेट हुन्थ्यो । तर, यसपल्ट स्वदेश फर्किने बेलामा मात्र चिनियाँ उपराष्ट्रपतिसँग उनको भेट भयो ।

दाहालको पछिल्लो भारत र चीन भ्रमण नेपाली नेताहरूका लागि शिक्षाप्रद छ । ठाउँमा नबस्दा एउटा छिमेकीले उचाल्ने र अर्को छिमेकीले थेचार्छन् भन्ने यो अनुभवबाट सिक्न सकिन्छ ।

प्रतिकृया दिनुहोस