टिप्पणीशनिवार, आश्विन ६, २०७५

च्याउसँगै हराएकाे स‌ंस्कृति

हिमालखबर


कृत्रिम च्याउको चल्तीसँगै प्राकृतिक च्याउप्रति चासो हराउँदै जाँदा अमूल्य किरात मिथकहरू पनि लोप हुन थालेका छन्।

– चन्द्रकुमार राई हतुवाली

पहिले बाहुनलाई च्याउ खान जातले दिंदैनथ्यो, अहिले यो सबैको भान्सामा पुगेको छ । हिजोआज त आर्थिक क्षमता हुनेहरूबीच च्याउको सुप पनि लोकप्रिय बनेको छ । पहिला च्याउ खान जेठ पर्खनु र जंगल पस्नुपथ्र्यो, अहिले प्रविधिको विकासले नेपाली बजारमा पनि विदेशतिर झ्ैं बाह्रैमास च्याउ पाइने भएको छ ।

च्याउ एक प्रकारको ढुुसी हो । यो प्रजातिको ढुुसी पलाउन गर्मी र ओसिलो वातावरण चाहिन्छ । वर्षको जेठ, असार, साउन र भदौ महीना च्याउ पलाउन अनुुकूल समय हो । असोज लागेपछि वर्षात् रोकिने र मौसममा पनि चिसो शुरू हुने भएकोले च्याउ पलाउन छाड्छ । हिउँदमा पलाएको च्याउ खान हुँदैन पनि । आदिवासी जनजातिहरू प्राकृतिक च्याउका पारखी र जानकार समुदायमा पर्छन् । त्यही कारण ‘बाहुनले च्याउ खाउन् न च्याउको बात जानुन्’ भन्ने आहान चलेको हुनुपर्छ । यो आलेख च्याउ र जनजातिमध्ये किरात राई समुदायको संस्कृतिको सन्दर्भमा हो ।

च्याउसँग राईहरूको दुई प्रकारको साइनो–सम्बन्ध रहेको पाइन्छ– व्यावहारिक र मुत्दुमी । मुत्दुम भनेको राईहरूको मानव सृष्टिसँग सम्बन्धित जीवन दर्शन हो । राईहरूका लागि मौसमी स्वाद बोकेर च्याउको सिजन आउँछ । बर्खा लागेपछि वन–जंगल, कुनाकाप्चा, बारीका ठुटा, धमिराका ढिकुरा वा जमीनमा अनेकथरी च्याउ पलाउँछन् । तीमध्ये खान हुने चिनेर टिपिन्छ ।

च्याउको सिजन शुरू भएपछि राईहरूका आँखा कि रूखका ठुुटा कि त भुईंतिर हुन्छन् । गाउँघरमा हूल कसेर च्याउ टिप्न जाने चलनै थियो, हामीले जान्दासम्म । खास गरेर, साता दिन मात्र तर बेस्सरी पलाउने डाङफाङले च्याउ टिप्न हूल कसेर हिंडिन्थ्यो । मनग्गे भेटिए कोसेली बाँड्ने र सुकाएर पछिसम्म खाने चलन थियो । कटुसको ठुटामा पलाउने च्याउलाई किरात राईमध्येका वान्तावाहरू डाङफाङले भन्छन् । वान्तावाहरूका लागि कटुसमा कुलुुङधिपा र साङवालेम च्याउ पनि पलाउँछन् । त्यस्तै, दुधिलोको ठुुटाको च्याउलाई मिचाखान भनिन्छ भने ढिकुरोमा पलाउनेलाई मिनबुक । अन्य राई भाषाहरूमा यी च्याउका फरक नाम छन् ।

सृष्टिको शुरूआत
धमिराको ढिकुरोमा पलाउने च्याउ भने किरातीहरूको मुुत्दुमी मिथकसँग जोडिएको छ । किरात राईहरूका जन्म, विवाह, मृत्यु लगायत सबै सामाजिक–सांस्कृतिक विधि मुुत्दुम अनुसार सम्पन्न हुन्छन् । भिन्न भाषी राईहरूले मुत्दुमलाई फरक नामले बोलाउँछन् । जस्तो, वान्तावाले मुुत्दुम÷मुन्दुम, चाम्लिङले मुन्दुम, साम्पाङले मूद्दूूम, वाम्बुलेले मुन्धुम, खालिङले ख्यालतम्र आदि । वान्तावाको मुत्दुमी सृष्टिकथामा छिचिमिरा निस्कने धमिराको ढिकुरोमा पलाउने निभुु च्याउको विशेष महŒव छ । त्यसअनुसार धमिरा, पृथ्वीलाई बसोबासयोग्य बनाउने जीव हो ।

पहिला पूरै पृथ्वी पानीले छोपिएको थियो । धमिराले नै भित्रबाट माटो निकालेर होचा–अग्ला जमीनहरू बनायो । त्यसपछि पृथ्वी प्राणीका लागि बसोबासयोग्य बनेको वर्णन मुुत्दुममा छ । मुत्दुमले धमिराको ढिकुरोलाई पवित्र मानेको छ । निभु च्याउका फरक–फरक मुत्दुमी मिथक छन् । कुनै मिथकले धमिरालाई बढी महŒव दिएको छ भने कुनैले च्याउलाई । वान्तावा मुत्दुुमको एक कथन अनुसार, समुद्रमा पहिला उन्यूूँ उम्रियो । उन्यूूँ मरेपछि कुहिएर त्यहींबाट धमिरा निस्क्यो । धमिराले जलाम्मे पृथ्वीमाथि माटो निकालेर जमीन तयार गरेपछि जीवजन्तुु र रूखबिरुवाको अस्तित्व देखा पर्न थाल्यो । दुङमाली र वान्तावाहरूको मुत्दुमी मिथक मिल्छ ।

चाम्लिङ राईहरूको मुन्दुमी मिथक अनुसार समुद्रको ढुुङ्गाको कापमा सर्वप्रथम उन्यूँ उम्रियो । उन्यूूँ मरेर कुहिएपछि उत्पत्ति भएको धमिराले माटोको ढिकुरो उठायो, जसमा निभु च्याउ उम्रियो । निभुु च्याउबाट खुम्लेकीरा जन्मियो । खुम्लेबाट सृष्टिको पहिलो स्त्री रिभ्याँमा र पुुरुष रिकपाको जन्म हुनपुुग्यो। यो मिथक अनुसार, आजका किरात राईहरू तिनैका सन्तान हुुन् । पुमा राई र चाम्लिङहरूको मुत्दुमी मिथक मिल्छ ।
साम्पाङहरूको मूूद्दूम अनुसार, सृष्टिकर्ता रुमाहाङ हुन्, जसले पृथ्वी, हावापानी र जीव उत्पत्ति गरे । उनले सृष्टि गरेको हावाले समुद्रको पानीलाई हल्लाउँदा फिंज उठ्यो । त्यो फिंजमा धमिरा उब्जियो र त्यसले ढिकुुरो उठायो । त्यो ढिकुरोमा उम्रेको देउलिङे च्याउलाई सेम्नीमा कीराले खान पुुग्योे। त्यसबाट गर्भवती भएकी सेम्नीमाले मनुष्यरूपी छोरी नायुुमा जन्माइन् । नायुमाको विवाह आकाशका पारुहाङसँग भयो। आजका किरातहरू उनैका सन्तान हुन्।

धमिरा र ढिकुराबाट पलाउने ढिकुरे वा देउलिङ्गे च्याउको मुत्दुममा यस्ता कथाहरू पाइन्छ । फरक फरक राईहरूमा यो च्याउको फरक फरक नाम छ। देउलिङ्गेलाई वान्तावाले मिनबुक, पुुमाले निबुु, चाम्लिङले निभुु, दुमीले खुदिला, वाम्बुलेले मिगिली ठ्वान्के र थुलुुङले सरङे भन्छन्। मुत्दुममा आफ्नो सृष्टिसँग जोडिएको धमिराको ढिकुरोमा कुनै विधिविधान वा पूजा गर्ने चलन भने छैन।

मुत्दुमले ढुुङ्गामाटो, हावापानी, रूखबिरुवा, जीवजन्तु सबैलाई प्रकृतिका महŒवपूर्ण अवयव मानेको पाइन्छ । किरात राई समुदायमा प्रचलित सामान्य मिथकहरूले पनि यही जनाउँछ। यिनले राईहरूको उत्पत्ति स्थल, प्रकृतिसँगको सम्बन्ध, ज्ञान र बसाइँसराइबारे जानकारी दिन्छन्। किरात जनजीवनका सामान्य र मुत्दुमी दुवै मिथक क्रमशः लोप हुँदैछन्। कम्तीमा यिनको दस्तावेजीकरणमा संस्कृतिविज्ञ, मानवशास्त्री–समाजशास्त्री र सरकारले समेत तत्काल काम थाल्न अत्यावश्यक भएको छ।

प्रतिकृया दिनुहोस