टिप्पणीशनिवार, आश्विन ६, २०७५

मान्छेदेखि मौरीसम्मलाई मख्ख पार्ने चिउरी

हिमालखबर

चिउरीको फूल, फल र पातसम्म हाम्रो जीवनचर्यामा दैनिक खानपानदेखि व्यवसायसम्मका लागि उपयोगी छ।

– कमल मादेन

गाउँघरमा सुत्केरीको मृत्यु भए चिउरी फलको रस खुवाएर शिशु बचाइन्थ्यो भन्ने किंवदन्ती अहिले पनि सुन्न पाइन्छ। यसले दर्शाउँछ, पाकेको चिउरीको रसमा दूधमा हुने पौष्टिक पदार्थ हुन्छ। यसको फल चुसेर नै अनिकाल टरेको किस्सा पनि सुनिन्छ।

भनिन्छ, चिउरी पाक्ने याममा चेपाङका अनुहारमा खुशी छाउँछ। चेपाङले छोरीलाई दाइजोमा चिउरीको बिरुवा दिन्छन् भन्ने त सामान्यज्ञानको प्रश्नोत्तरमै समेटिएको विषय हो। उनीहरू चिउरीको पातबाट बनेको टपरीमा भोजभतेर गर्छन्। चिउरीकै फलबाट रक्सी बनाउँछन्। चिउरीको बीउबाट घ्यू बनाएर त्यसैको भुटुनमा तरकारी पकाउँछन्। टुकी बाल्नुपर्ने कतिपय ठाउँमा यसकै घ्यूबाट बत्ती बालिन्छ।

चेपाङ भन्दा पनि वन क्षेत्रमा फिरन्ते भएर हिंड्ने राउटेहरूको जीवनचर्या चिउरीसँग अझ गजबले गाँसिएको हुनुपर्छ। चिउरीको फल बर्खामा पाक्छ। यसलाई असारे, साउने र भदौरे चिउरी भन्ने गरेको पाइन्छ। पूर्वी तथा मध्य नेपालको तुलनामा पश्चिम नेपालमा चिउरी बढी मात्रामा पाइन्छ।

चिउरी २०–२५ मिटरसम्म अग्लो हुने रुख वर्गको वनस्पति हो। समुद्र सतहबाट २०० देखि १५०० मिटरको उँचाइमा पाइने यो वनस्पतिको वैज्ञानिक नाम ‘डिप्लोकनेमा ब्युटीरेसी’ हो। गाउँघरमा चिउरीको बीउबाट घ्यू बनाइन्छ। यसैले एशिया आएका अंग्रेजहरूले यसलाई ‘इन्डियन बटर ट्री’ भन्ने नाम दिए। वनस्पतिबाट बन्ने घ्यू भएकाले पूजाआजामा बढी प्रयोग गरिन्छ। हिजोआज काठमाडौं उपत्यकाका गुम्बाहरूमा गाईभैंसीको दूधबाट बनाइएको घ्यू भन्दा चिउरीको घ्यू बढी बाल्ने गरिन्छ।

चिउरी मानिसका लागि मात्र उपयोगी वनस्पति होइन। यसको पूmलमा मौरी असाध्यै झुम्मिन्छ। तथ्यांक अनुसार चिउरीको पूmलको रसमा चिनीको मात्रा ४२ प्रतिशत हुन्छ। यसैले चिउरीलाई मह उत्पादनको महत्वपूर्ण स्रोत मानिन्छ। मौरी पालकहरू मौरीका घार चिउरी पाइने जंगलमा सार्ने गर्छन्। चुरे क्षेत्रमा पाइने स–साना चराका लागि पनि चिउरीको पूmल आकर्षणको केन्द्र हुन्छ। यसको फल पाक्दा चमेराहरू झुण्डमै आउँछन्।

 सडक क्षेत्रमा चिउरी रोपौं

सडक विस्तारका कारण पहाडी क्षेत्रमा भू–क्षय भएर पहिरोको समस्या बढ्दो छ। पहिरो नियन्त्रण गर्न विशेषतः चुरे क्षेत्रमा चिउरी रोप्नु उपयुक्त हुन्छ। किनभने चिउरीलाई मलिलो माटो र हेरचाह चाहिन्न। ढुंगा भएको रुखो तथा भिरालो जमीनमा यो बढी सप्रन्छ। यसको अर्को विशेषता, चैत–वैशाखमा अन्य बोटबिरुवाको पात झर्ने मौसममा यसको बोट हरियो हुन्छ। यसको पात ३५ सेन्टिमिटर लामो र १७ सेन्टिमिटरसम्म चौडा हुन्छ। यसको पात गाईबस्तुले मीठो मानेर खान्छन्। हिजोआज खासगरी बाख्रा पालनका लागि चिउरी उपयोगी मानिएको छ।

हाम्रा शहरी क्षेत्रका सडकहरूमा प्रायः मसला, धुपी, कपुर आदि विदेशी रुख रोपिन्छ। काठमाडौं उपत्यकामा भने प्रशस्त मात्रामा ज्याकराण्डा लगाइएको छ। यी रुख राम्रा देखिए पनि हाम्रा वनस्पति नभई विदेशी मूलका हुन्। सडक खण्डमा विदेशी मूलका रुख रोप्ने प्रचलन घटाई आफ्नै ठाउँका चिउरी जस्ता वनस्पति रोप्नु राम्रो हो।

विकास–निर्माणका काम थाल्नुअघि वातावरणीय प्रभाव न्यूनीकरण गर्न अध्ययन प्रतिवेदन बुझाउने प्रचलन छ। विकास आयोजनाहरूले रुख काटिएबापत नयाँ बिरुवा रोप्नुपर्ने हुन्छ। हिजोआज विकास–निर्माणमा एउटा रुख वा मुठीभर काण्ड भएको बिरुवा विनाश भए यसको साटो २५ वटा बिरुवा रोप्नुपर्ने र तिनलाई हुर्काउन पहल गर्नुपर्ने प्रावधान छ।

वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनमा यति संख्यामा रुख काटिन्छन् र यति संख्यामा रुख रोप्नुपर्छ भन्ने लेखिएको हुनुपर्छ। तर, उल्लिखित प्रावधान विकास–निर्माण गर्ने प्रायः कम्पनी वा निकायले कार्यान्वयन गर्दैनन्। अनुगमन गर्ने व्यक्तिहरूलाई खुशी बनाएर प्रतिवेदन अनुरुप बिरुवा रोपिएको र हुर्काइएको भनी कागजी प्रगति विवरण पेश गर्ने चलन छ। यसबारे स्थानीय क्षेत्रका जनता सचेत हुनुपर्ने हो। तर, उनीहरूलाई यो प्रावधानबारे कमै जानकारी भएकोले विकासे कम्पनीहरूले उन्मुक्ति पाएका छन्।

अब खासगरी चुरे तथा मध्य पहाडी क्षेत्रमा बनिरहेका सडक खण्डहरूमा केही वर्ष चिउरी रोप्नुपर्ने प्रावधान बनाउँदा फलदायी हुन्छ। सरकारले चुरे क्षेत्रका सडक र खोला छेउछाउ, भिराला ढुंगे जमीनमा चिउरी रोप्ने दीर्घकालीन कार्यक्रम ल्याउनु उपयुक्त हुन्छ।

 

बहुउपयोगी घ्यू

चिउरीको बोटको औसत आयु ५० वर्ष मानिन्छ। ‘फरेस्ट रिसर्च इन्ष्टिच्यूट युनिभर्सिटी अफ इन्डिया’ का अजय ठाकुर र आरती कुँवरको सन् २०१५ मा प्रकाशित एक लेख अनुसार करीब १५ वर्ष उमेरको चिउरीको बोटमा अत्यधिक फल लाग्छ। चिउरीको बीउबाट घ्यू उत्पादन हुन्छ। बीउ १.८ देखि २.० सेन्टिमिटरसम्म लामो बदाम आकारका हुन्छन्। वनस्पतिविद् डा. भक्तबहादुर रस्कोटीका अनुसार, एक पाथी अर्थात् चार किलो बीउबाट झण्डै दुई किलो घ्यू उत्पादन हुन्छ। एउटा बोटबाट औसत ५० किलो बीउ उत्पादन हुन्छ।

घ्यू उत्पादनका लागि बीउ सफा गरेर करीब एक सातासम्म सुकाइन्छ र ढिकीमा टुक्र्याइन्छ। त्यसपछि टुक्रा–टुक्रा बीउलाई ढकियामा राखिन्छ र ढकियालाई छोपेर ठूलो खड्कुलो वा फोसीमाथि राखेर बाफमा पकाइन्छ। बीउ पाकेको र तातै अवस्थामा काठको कोलमा पेलिन्छ। कोलबाट तेल निस्कन्छ र त्यो तेल करीब एक घण्टापछि घ्यूमा परिणत हुन्छ। घ्यू सेतो, सुगन्धित र स्वादिलो हुन्छ। यो घ्यूको सेवनले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने अनुसन्धानात्मक लेखहरूमा लेखिएका छन्।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा प्रायः घरैपिच्छे चिउरीको घ्यूबाट तरकारी पकाउने प्रचलन रहेको डा. रस्कोटी बताउँछन्। त्यहाँको जंगलमा एक घण्टाको पैदल दूरीको वृत्तमा चिउरीका करीब एक हजार रुख भेटिन्छन्। अर्घाखाँचीदेखि पश्चिम चुरे रहेका जिल्लाहरूमा चिउरी अझ बढी मात्रामा पाइन्छ। डडेलधुरा, बैतडी, डोटी र अछाममा चिउरीको रुख प्रशस्त पाइने जानकारी सामुदायिक वन उपभोक्ता महासंघ–अछामले सन् २०१७ मा तयार पारेको एक अभिलेखमा उल्लेख छ।

चिउरीको घ्यू अर्घाखाँचीमा प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्ममा बिक्री हुन्छ। भारतको सिक्किममा चिउरीको घ्यू गाईको घ्यूको मूल्य भन्दा करीब ३० प्रतिशत कम छ। साबुन, शरीरमा लगाइने लोसन, कपाल मुलायम बनाउने वस्तु आदि उत्पादनमा चिउरीको घ्यू प्रयोग हुन्छ। चकलेट, बिस्कुट आदि उत्पादनमा पनि यो घ्यू प्रयोग हुन्छ।

चिउरीको बीउ पेलेर निस्कने पिना महत्वपूर्ण कम्पोष्ट मल मानिन्छ। यसको प्रयोगबाट विशेषतः जमीनभित्रका कमिला मर्छन्। यसको पिना आलु रोप्दा प्रयोग गरे आलुका दाना कमिलाबाट बचेर सग्ला उत्पादन हुन्छन्। यसैगरी पिनाको पीठोलाई तरकारी बालीमा विषादीको रुपमा पनि प्रयोग गरिन्छ। गाउँघरतिर यसको पिनालाई धूलो बनाएर खोलामा माछा मार्न प्रयोग गरिन्छ। स–साना खोलामा यसको पीठो छर्दा माछाहरू लट्ठिन्छन्। 

 लघु उद्यमको सम्भावना

पश्चिम नेपालका विभिन्न संघसंस्थाले बहु सरोकारवाला वन परियोजना (एम.एस.एफ.पी.)बाट सल्यान, डोटी लगायतका जिल्लाहरूमा चिउरीबाट विभिन्न उत्पादनको कार्यक्रम सन् २०१४÷१५ ताका शुरु गरेका थिए। सो परियोजनाले मानव संसाधन तयार गर्नेदेखि आवश्यक पर्ने सबै मिसिनरी औजार उपलब्ध गराएपछि घ्यू, साबुन, मैनबत्ती आदि उत्पादन शुरु भएका थिए। तर, दातृ निकाय र नेपाल सरकारका प्रतिनिधिबीच समन्वय हुन नसक्दा परियोजनाको पहिलो चरणको कार्यक्रम बीचैमा बन्द भयो।

सरकारले चिउरीलाई लघु उद्यमको रुपमा विकास गर्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। लघु उद्यम सञ्चालन भएमा खेर गइरहेको स्रोत–साधनबाट मनग्य आयआर्जन हुनेछ।

 

प्रतिकृया दिनुहोस