रिपोर्टसोमवार, कार्तिक १५, २०७३

उमंगको अर्थशास्त्र

सविता श्रेष्ठ

 

त्यसो त पात्रोले हरेक वर्ष तिहारको तिथि तोकेकै हुन्छ । तर, वर्षेनि आउने तिहारको रूप कस्तो हुन्छ ? यसको तय भने बदलिंदो समाज र बजारले गर्छ । गत वर्ष भूकम्प र भारतीय नाकाबन्दीका कारण आम नेपालीले मन फुकाएर तिहार मनाउन पाएनन् । प्रकोपको पीडासँगै दैनन्दिन सामग्रीको अभावमा तिहार, तिहारजस्तो नभएको अनुभव धेरैले गरे । तर, यो वर्ष देश थोरै भए पनि तंग्रिएको छ । सबैमा आशा छ– यसपटकको तिहार उल्लासमय हुनेछ ।

उपत्यकाका मुख्य बजारहरूमा देखिएको भीडले यस वर्षको तिहार विशेष हुने छनक दिन्छ । अघिल्लो वर्ष ग्राहकले खोजेका सामान दिन नसकेर खिन्न भएका व्यापारीहरूमा यो वर्ष उत्साह छाएको छ । “पोहोर त अभाव नै अभाव थियो”, तिहारका सामान किन्न असन पुगेकी स्वयम्भूकी सरिता कार्की भन्छिन्, “अहिले चाहिने सबै सामान पाइएको छ ।”

तिहारमा खाद्यान्नका अलावा मिठाई, मरमसला, झ्लििमिली बत्ती, फूल, सुनचाँदी, भाँडाकुडा, कपडा, रंगरोगन, सजावटका सामग्रीको कारोबार बढी हुन्छ । काठमाडौंका असन, भोटेबहाल, न्यूरोडमा तिहारलक्षित पसलहरू राखिएका छन् । जहाँ; दियो, मैनबत्ती, बत्ती, रातोमाटो, मसला, ड्राइफुट्स, दीपावलीमा सजाउने, पूजा गर्ने सामग्री, ढाकाटोपी, फूललगायतका सामान छन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव मीनबहादुर तामाङ गएको तिहारमा उपभोक्ताले फूलको अभाव खेप्नुपरे पनि यो वर्ष त्यस्तो नभएको बताउँछन् । “अघिल्लो वर्षको अभावले स्वदेशी फूल व्यवसायीलाई खेती गर्न अझ् प्रेरित गरेकोले पनि उत्पादन बढेको छ”, उनी भन्छन् । तिहारमा मुख्यगरी सयपत्री, मखमली र गोदावरी फूलको खपत बढी हुने गर्छ । मखमली र गोदावरी देशभित्रैको उत्पादनले पुगे पनि सयपत्री भने भारतबाट आयात गरिएको उनी बताउँछन् ।

फ्लोरिकल्चर एसोसिएसनका अनुसार, यस वर्ष सयपत्रीका ११ लाख माला खपत हुने अनुमान छ, जसमध्ये करीब रु.६० लाखजति पर्ने दुई लाख माला आयात हुनेछ । “८० प्रतिशत माग भने यहींको उत्पादनले धान्छ”, तामाङ भन्छन्, “पाँच वर्षभित्र आत्मनिर्भर हुने लक्ष्य राखेका छौं ।”

छैन अभाव
पाँच दिनसम्म हर्ष र उमङ्गका साथ मनाइने उज्यालो पर्व तिहारमा घरलाई नयाँ आकर्षक बनाउने चलन पनि छ । घर सफाइ र रङरोगन पनि गरिन्छ ।

प्लाष्टिकका माला, शुभ दीपावली लेखिएका स्टिकर तथा अन्य रंगीचंगी सजावटका सामान, झ्लििमिली बत्तीको बजार नै तिहार हो । त्यसकारण तिहारमा भारत र चीनबाट यस्ता सामान आयात गरिन्छ । माटाको आकर्षक सादा तथा बुट्टेदार पाला (दियो) भने तराईका जिल्ला र भक्तपुरमा बन्ने गरेको छ । विमिरो, कटुस र ओखर मुलुकभित्रै उत्पादन हुने भए पनि धेरै धरीका मसला, ड्राइफुट्स भारतबाटै ल्याइन्छ ।

तिहार धनकी देवी लक्ष्मीलाई पुज्ने चाड पनि भएकोले योबेला नयाँ भाँडाकुँडा प्रयोग गर्नुपर्ने विश्वास छ । त्यसकारण लक्ष्मीपूजामा तामा तथा चाँदीका भाँडाकुँडाका साथै सुनचाँदीका गहना जोड्ने प्रचलन पनि छ ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य तिहारमा सुनभन्दा चाँदीको कारोबार बढी हुने बताउँछन् । दीपावलीमा चाँदीका सामग्रीमा धन्तेरस, गणेश, लक्ष्मीको मूर्ति, दियो, गिलास, कचौरा, टिकादानी, करुवा, प्लेट, चम्चा तथा सिक्काको कारोबार बढी हुन्छ । तिहारमा दैनिक १५ सय केजी चाँदीको कारोबार भइरहेको बताउँदै शाक्य भन्छन्, “अरू बेलाभन्दा पाँच गुणा बढीको कारोबार भइरहेको छ ।” चाँदीको कारोबार बढेसँगै सुनको बजारमा भने कमी आएको छ । दुई वर्षअघिसम्म दशैंतिहारमा दैनिक ४५ केजी सुनको कारोबार हुने गरेकोमा अहिले करीब २५ केजीमा झ्रेको छ । “भूकम्पपछि मानिसको क्रयशक्ति घटेको छ”, शाक्य भन्छन् ।

बत्तीको बजारमा भने खासै कमी आएको छैन । महाबौद्धका लोहित श्रेष्ठले ७० रुपैयाँदेखि एक हजारसम्मका झ्लििमिली बत्ती बेचेका छन् । तिहार लक्षित विभिन्न डिजाइनका झ्ल्लर, माला बत्ती, फोल्डिङ स्टार, वल्र्ड कप बल्ब, दियो बत्ती, झ्ुन्ड्याउने बल्बहरूको कारोबार बढी भएको उनी बताउँछन् ।

तिहारमा मात्रै रु.७५ करोड जतिको झ्ल्लर, फोटो, माला बत्ती जस्ता झ्लििमिली बत्तीको कारोबार हुने विद्युत् व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेल बताउँछन् । गत वर्ष तिहारका लागि आयात गरिएका सामान नाकाबन्दीका कारण बाटैमा रोकिएको र अहिलेको ५० प्रतिशत कारोबार तिनै सामानले धानेको उनको भनाइ छ । अहिले बजारमा दियो, स्टार, पात, गोलोलगायत आकारका बत्ती चलेका छन् । पहिले भारतबाट आयात गरिने झ्लििमिली बत्ती अहिले धेरैजसो चीनबाट आयात गरिएको खरेल बताउँछन् ।

पशुपति फुड्स प्रालिका प्रबन्धक सुधिरकुमार झको अनुभवमा दशैं, तिहार र आमाबाबुको मुख हेर्ने गरी वर्षको चार पटक मिठाईको सबैभन्दा बढी माग हुने गर्छ । मिठाईमा लड्डु, पेडा, रसमलाई, दूधबरी, लालमोहन, बर्फी, गुलाब जामुन, क्रिम मिठाईलगायतका मिठाईको कारोबार बढी हुन्छ । तिहारमा उपहारका लागि समेत मिठाई उपयुक्त मानिन्छ । अधिकांश मिठाईहरू दूध, खुवा, मैदा, काजु, चिनीलगायतको मिश्रणबाट बनाइन्छ । “पर्वका बेला एउटै मिठाईमा पनि डिजाइन र फिनिसिङ फरक पार्ने गरिएको छ”, झ भन्छन्, “माग अनुसार बदाम, काजु र पेस्ताका मिठाई पनि बनाउने गरेका छौं ।” पछिल्ला वर्षहरूमा ‘सुगर फ्रि’ मिठाइको माग बढ्न थालेको उनी बताउँछन् ।

भाइटीकामा प्रयोग गरिने नरिवल, छोगडा, काजु, किसमिस, सुकुमेल, कागजी बदाम, ओखर, पेस्ता, मखना, मिश्री, कटुसलगायतका मसला, सप्तरङ्गी टीकाको बजार पनि ठूलो छ । तर, यसपटक कुनै पनि सामानको अभाव नभएको असनका व्यवसायी शिखर गुरुङ बताउँछन् । घरमा रंगोली बनाउने चलनले पनि रङको खपत बढेको छ ।

बद्लिने उपहार

काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोबद्र्धन पूजा र भाइटीका गरी पाँच दिनसम्म तिहार मनाइन्छ । खानपानसँगै देउसी, भैलो खेलेर रमाइलो पनि गरिन्छ । यी पाँचमध्ये चारदिन मानिस र पशुबीचको अन्तरसम्बन्धको अर्थ बताउँछ । पाँचौं दिन भाइटीकाले दाजुभाइ र दिदीबहिनीको आत्मीयता र स्नेह प्रगाढ बनाउँछ ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि उपहार आदानप्रदान गरिन्छ । तर, समयसँगै उपहारको स्वरुपमा परिवर्तन भइरहेको छ । पहिले ढाका टोपी, लत्ताकपडा उपहारको रूपमा आदानप्रदान हुने गरेकोमा अहिले सुनचाँदीका गहना, किताब, इलेक्ट्रोनिक्स सामान उपहारको रोजाइमा पर्ने गरेका छन् ।

आर्चिज ग्यालरीका सञ्चालक अनिलकुमार जलान तिहारको समयमा गणेश, लक्ष्मीको मूर्तिको कारोबार बढी हुने बताउँछन् । उपहारका लागि कार्ड, कप, घडी, ब्यागका साथै इयर रिङ, नेकलेश, टपलगायतका गहना पनि बिक्री हुने गरेको उनको भनाइ छ ।

बानेश्वरकी अनिता सिटौलाले गएको तिहारमा भाइलाई घडी उपहार दिएकी थिइन् । यस वर्ष भने मोबाइल फोन दिने सोच बनाएकी छन् । उनी भन्छिन्, “अलि फरक सामान दिंदा भाइ खुशी हुन्छ ।”

विदेशबाट फर्किएका दाजुभाइले दिदीबहिनीलाई सुनचाँदीका गहना दिने चलन बसेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । “सानो टुक्रा भए पनि सुनचाँदी नै दिऊँ, परेको बेला काम लाग्छ भन्ने सोच पलाउन थालेको छ”, उनी भन्छन्, “सुनको सिक्री, झ्ुम्का, टप, सिक्का, चाँदीका अम्खोरा, पूजा थाली, सिक्का उपहार दिने गरेको पाइन्छ ।” केहीले भने ढिक्का सुनचाँदीका टुक्रा लगिदिने गरेको उनको भनाइ छ । त्यसो त दाजुभाइलाई सुनको टप, मुन्द्रा तथा ब्रासलेट उपहार दिने दिदीबहिनी पनि छन् । मत्स्येन्द्रबहालको रोयल क्याप हाउसका सञ्चालक राजेन्द्र श्रेष्ठ तिहारमा पाका उमेरका सदस्यका लागि ढाकाटोपी र किशोरवयका लागि क्याप टोपीको बिक्री बढेको बताउँछन् ।

पर्वको उपहार सूचीमा किताब पनि पर्न थालेको छ । पाटनढोकास्थित पाटन बूक शपकी अञ्जली महर्जन पर्वहरूमा किताब उपहार दिने चलन बढेको बताउँछिन् । “उपहारका लागि धेरैले आख्यान नै रोज्छन्” उनी भन्छिन् ।

प्रतिकृया दिनुहोस