सुर्खेतमा फिस्टुला केन्द्र स्थापना
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला केन्द्र स्थापना भएको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँको हाताभित्रै रु ६ करोडको लागतमा फिस्टुला अस्पताल सञ्चालनमा ल्याइएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आज ५ असोजमा उदघाटन गरेको १७ शैयाको सुर्खेत फिस्टुला केन्द्र इन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) अन्तर्गतको फिस्टुला फाउण्डेसनकोे सहयोगमा स्थापना भएको हो ।
फिस्टुला केन्द्रका निर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा. सेर्ली हेउडका अनुसार सुर्खेतमा सन २००९ देखि फिस्टुला उपचारका लागि शिविर सञ्चालन हुने गरेकोमा अब अस्पताल नै स्थापना भएपछि वर्षभरी नै सेवा दिन सकिने बताइन् ।
फिस्टुला केन्द्र क्षेत्रीय अस्पतालकै निगरानीमा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बर खड्काले बताए । फिस्टुला केन्द्रमा स्त्री रोग विशेषज्ञ सहित १७ जना कर्मचारीको दरबन्दी छ ।
कर्णालीका महिलाहरुमा फिस्टुलाको समस्या अत्यधिक हुने गरेकोले सुर्खेतमा अस्पताल स्थापना गरिएको केन्द्रकी निर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा. सेर्लीले बताइन् । डा सेर्लीकै पहलमा केन्द्रको स्थापना भएको हो ।
लक्ष्मी भण्डारी, सुर्खेत