सरकार र सवारी चालकबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता
सरकार र आन्दोनमा उत्रिएका सवारी चालकहरुबीच ८ बुँदे सहमति भएको छ ।
गत १ भदौबाट लागू भएको मुलुकी अपराध संहितामा रहेको ‘ज्यान मार्ने मनसाय लिई दुर्घटना गराए जन्मकैद हुने’ प्रावधानको विरोध गर्दै चालकहरु आन्दोलनमा उत्रिएका थिए ।
प्रधानमन्त्री कार्यालयका सचिब केदारबहादुर अधिकारीका अनुसार सवारी चालकहरुको माग अनुसार कानून संसोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएपछि चालकहरुले आन्दोलन फिर्ता लिएका छन् ।
अधिकारीले भने, “उहाँहरुले उठाउनु भएका अन्य माग भौतिक योजना तथा यातायात मन्त्रालयले सम्बोधन गर्ने सहमति भएको छ । आजैबाट आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता भएकाले इन्धन ट्यांकर लगायत सबै सवारीसाधन सञ्चालन हुन्छन् ।”
प्रधानमन्त्री कार्यालय सिहंदरबारमा ३ घण्टासम्म चलेको वार्तामा सरकारका तर्फबाट गृह सचिब, कानून सचिब, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिब लगायतको सहभागिता थियो ।
स्वतन्त्र सवारी चालक संघर्षको नामबाट गरिएको आन्दोलनले काठमाडौं लगायत देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि सरकारले वार्ताको पहल गरेको थियो ।