समाचारशुक्रबार, ५ आश्विन , २०७५

यौन व्यवसाय व्यवस्थित गरौं भन्दा राजीनामा मागियो : मुख्यमन्त्री गुरुङ

युवराज श्रेष्ठ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यौन व्यवसाय व्यवस्थित गर्न प्रस्ताव गर्दा आफ्नो राजीनामा मागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

महिला पर्यटन व्यवसायी मञ्च, पोखराको पहिलो वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यौन व्यवसाय व्यवस्थित गर्न बहस गर्नुपर्ने बेला आएको बताए । “भित्रभित्रै धन्दा भइरहने र बाहिर कोही नबोल्ने हो भने समाजलाई हानि मात्र गर्छ”, गुरुङले भने, “यसको व्यवस्थापन गरौं भन्दा संघीय संसदमा मेरो राजीनामा मागियो ।”

मुख्यमन्त्री गुरुङले सरकार अवैध यौन धन्दा टुलुटुलु हेरेर बस्न नसक्ने बताए । उनले यौन व्यवसाय व्यवस्थित गर्न चार उपाय रहेको समेत कार्यक्रममा सुनाए । उनले भने, “पहिलो उपाय, यौन व्यवसायलाई पूर्णरूपमा प्रतिबन्ध लगाउने, दोस्रो यौन व्यवसायलाई अपराधीकरण गर्ने, तेस्रो नियमन गर्ने र चौथो रेडलाइट एरिया तोक्ने र कार्ड सिस्टममा जाने विकल्प छन् । यी विकल्पमा छलफल गरेर एउटा टुंगोमा पुग्नुपर्छ ।”

 ‘पोखरा निदाउन हुँदैन’

मुख्यमन्त्री गुरुङले पर्यटकीय गन्तव्य पोखरालाई चौबीसै घण्टा खुला गर्नुपर्ने धारणा राखे । यसका लागि सुरक्षा दिन सरकार तयार रहेको भन्दै व्यवसायीलाई पनि तयार रहन आग्रह गरे । “पोखराका जनता सुत्न सक्छन्, तर पोखरा निदाउन हुँदैन”, उनले भने, “राति जुनसुकै समयमा आउने पर्यटकलाई पनि पोखराका होटलले स्वागत गर्नुपर्छ ।”

मुख्यमन्त्री गुरुङले पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटकको चाप बढ्ने भएकोले त्यस अनुसार पर्यटन व्यवसायीले तयारी थाल्नुपर्नेमा जोड दिए । उनले काठमाडौंदेखि मुग्लिनसम्मको सडक विश्व बैंक र मुग्लिनदेखि पोखरासम्म एसियाली विकास बैंक (एडीबी)को सहयोगमा विस्तार गर्ने तथा भैरहवा–पोखरा सडक पनि एडीबीको सहयोगमा फराकिलो बनाउने योजना रहेको समेत जानकारी दिए ।

चीनको सीमावर्ती क्षेत्र कोरला र भारतको सीमावर्ती क्षेत्र त्रिवेणीसम्म सडक सञ्जाल बनिरहेको भन्दै मुख्यमन्त्री गुरुङले यी योजना सम्पन्न भएपछि पोखरामा पर्यटक आउन कुनै समस्या नरहने बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण बर्ष, २०२० लाई छिमेकी राष्ट्र पर्यटक भ्रमण वर्ष र २०२२ लाई गण्डकी भ्रमण वर्षका रुपमा मनाउने लक्ष्य राखेको सुनाए । अहिले करीब १० लाख पर्यटकले पोखरा भ्रमण गर्ने गरेको भन्दै उनले २०२२ मा २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको बताए ।

 ‘प्रधानमन्त्रीको विरोध गरेको होइन’

मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध नभई आलोचना मात्र गरेको बताए । “आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री छ, त्यही पार्टीको सदस्य मुख्यमन्त्री भएर प्रधानमन्त्रीको विरोध मात्र गरिरहेको भनेर कतिपयले टिप्पणी गर्छन्”, उनले भने, “मैले विरोध होइन, आलोचना मात्र गरेको हुँ ।”

उनले संघीय सरकारले कानून नबनाइदिएको, आवश्यक कर्मचारी नपठाइदिएको लगायत दृष्टान्त दिँदै यी काम छिटो गर्नुपर्‍यो भनेर प्रधानमन्त्रीलाई भनेको बताए । संविधान कार्यान्वयन गर्न र प्रदेश सरकार सफल बनाउन ध्यान दिनुपर्‍यो भन्दा कतिपयले प्रधानमन्त्रीको विरोध र घेराबन्दी गरेको अर्थमा लिएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस