दीपकराज जोशीविरुद्ध महाभियोगको तयारी, नेकपाका सांसदको हस्ताक्षर संकलन
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी शुरु गरेको छ ।
त्यसका लागि ४ असोजमा नेकपाका सांसदहरुको हस्ताक्षर संकलन गरिएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश तथा अन्य संवैधानिक पदाधिकारीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न प्रतिनिधि सभाका कूल सदस्यमध्ये २५ प्रतिशत संख्या आवश्यक पर्छ ।
प्रस्ताव दर्ता हुनसाथ जोशी स्वतः निलम्बित हुनेछन् । महाभियोग प्रस्ताव पारित हुन प्रतिनिधिसभाको दुइतिहाइ बहुमत आवश्यक पर्छ, जुन नेकपा नेतृत्वको सरकारसँग अहिले कायम छ ।
४ असोज दिउँसो नेकपा संसदीय दलका सचेतक देव गुरुङले संसद भवनमै आफ्नो दलका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएका थिए । संसदमा नपुगेका वा हस्ताक्षर गर्न नपाएका केही सांसदले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर समेत हस्ताक्षर गरेका थिए ।
“हो, जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने गरी तयारी अघि बढेको छ”, नेकपाका एक सांसदले हिमालखबरलाई भने, “प्रस्ताव दर्ताका लागि आवश्यक हस्ताक्षर संकलन भइरहेको छ ।”
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाई विशेष समितिले दुइतिहाइ बहुमतबाट सो पदमा नियुक्तिका लागि अस्वीकृत गरेको थियो ।
संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि जोशी विदामा बसेका थिए । जोशी अस्वीकृत भएपछि संवैधानिक परिषदले जोशीपछिको बरियतामा रहेका सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको थियो । मिश्र संसदीय सुनुवाईबाट सर्वसम्मत रुपमा अनुमोदित हुँदै प्रधानन्यायाधीश नियुक्त भएपछि उनलाई सर्वोच्च अदालतमा स्वागत गर्न जोशी आफैं पुगेका थिए ।
त्यसपछि नियमित रुपमा सर्वोच्च अदालत जान थालेका जोशीले मुद्दा पनि हेर्न थाले ।
तर जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेपछि राजीनामा दिएर बाहिरिनु नै एक मात्र विकल्प रहेको नेकपाका नेताहरुको भनाइ छ । उनीहरुले सर्वोच्च अदालतमा हाजिर भएर केही मुद्दा हेर्ने र त्यसपछि राजीनामा गर्ने ‘भद्र सहमति’ तोडेर सरकारमाथि समस्या पैदा गर्न थालेकाले जोशीमाथि महाभियोग प्रस्ताव ल्याउन लागेको बताएका छन् ।
नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने महाभियोग प्रस्ताव दर्ताको तयारीबारे केही बताउन चाहेनन् ।
नेकपाका अर्का सांसदले जोशीलाई राजीनामाका लागि दबाब दिन हस्ताक्षर संकलन गरिएको संकेत गर्दै भने, “उहाँ आफैले राजीनामा गर्नु सजिलो विकल्प हो, नभए महाभियोग प्रस्ताव ल्याउनुको विकल्प छैन ।”