टिप्पणीसोमवार, कार्तिक १५, २०७३

नेपाल सम्वत् : मिथ्याको चर्चा

वसन्त महर्जन

शंखधर साख्वाःको एक स्केच

विशेषतः नेवार समाजमा वर्षको एकपटक नेपाल सम्वत् र शंखधर साख्वाः को खूबै चर्चा हुने गर्छ । खोलाको बालुवा ल्याएर घरमा राख्दाराख्दै सुन भएको र त्यही धनले देशवासीलाई ऋण मुक्त गरी नेपाल सम्वत् शुरु गरेको तिलस्मी कथालाई अनेक तवरले पुष्टि गर्ने कसरत यही बेला हुन्छ ।

विभिन्न जातीय समुदाय रहेको नेपालमा सबैका मौलिक कुराहरू स्वतः नेपाली हो । निश्चित भूगोल र समयमा विकास भएका संस्कृति सम्बन्धित जातीय समुदायको पहिचान बन्नु स्वाभाविक हुन्छ । जुन जातिका भए पनि ती संस्कृति नेपाली समाजमा समाहित भइसकेपछि त्यो नेपालकै पहिचान हो । यस अर्थमा, औपचारिक रुपमा घोषणाका लागि लोकतन्त्र कुर्नु परेपनि नेपाल सम्वत् त्यसअघिबाटै राष्ट्रिय सम्वत् थियो । नेपालमै उत्पत्ति भएको अरु सम्वत् नभएको अवस्थामा राष्ट्रिय सम्वत् घोषित नेपाल सम्वत्लाई नेवारको सम्वत्भन्दा माथि राखेर हेर्न नसक्नु ताज्जुबको विषय हो ।

नेपाल सम्वत् कसको ?
राणाकालमा विक्रम सम्वत्लाई नेपाल सम्वत् बनाउने गोरखापत्रले नेपाल सम्वत्लाई नेवार सम्वत्का रुपमा प्रस्तुत ग¥यो, पंचायतकालमा । बाबुराम भट्टराईले प्रधानमन्त्रीे भएको बेला २०६८ मा नयाँ वर्षको अवसरमा खुलामञ्चमा आयोजित शुभकामना समारोहमा नेवार भाषामा सम्बोधन गर्नु त्यसैको उपज थियो । आन्दोलनकारी नेवारहरूले यो दृष्टिकोणको भने दोष अरुलाई भन्दा स्वयं आफूलाई दिनुपर्छ । अरु समुदायलाई बुझाउन नसक्नु, सबै कुरा आफैंमा सीमित राख्नु र समारोह समिति समावेशी नहुनुले नेपाल सम्वत्लाई संकुचित बनाउने काम गरेको छ ।

नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिलाउने माग भएकोमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेला शंखधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरियो । नेपाल सम्वत् सम्बन्धी आन्दोलन नबुझेका एक नेवार मन्त्रीले एक्कासी राष्ट्रिय विभूतिको कुरा अगाडि बढाएर मूल मागलाई विषयान्तर गरिदिए । पछि पुष्पकमल दाहालको पहिलो प्रधानमन्त्रीत्वकालमा राष्ट्रिय सम्वत्को घोषणा त भयो, तर यसको प्रयोजनको विषयमा सबै मौन छन् ।

नेपाल सम्वत्को आन्दोलन अहिले विशुद्ध सांस्कृतिक विषयवस्तुमा मात्र सीमित छैन । सम्वत् फेरिंदाको शुभकामना ¥यालीमा विभिन्न राजनीतिक दलहरू आफ्नो झण्डा वा चुनाव चिह्न नै लिएर आउन थालेका छन् । काठमाडौंको बसन्तपुरमा मात्र नभई अन्य ठाउँमा आयोजित शुभकामना कार्यक्रमहरूमा पनि त्यस्तै दलीय सक्रियता देखिन्छ । नेपाल सम्वत्बारे ठोस निर्णय लिनुपर्दा पछि हट्ने गरेका दलहरूले यस्ता कार्यक्रमहरूलाई भने नेवार समुदायको ध्यानाकर्षण गर्ने अवसर बनाउन थालेका छन् ।

बेतुकको अनुरक्ति
नेपाल सम्वत् आन्दोलनलाई दलका नेता नजिक हुने भ¥याङ बनाउन खोज्नेहरूको कुनै कमी छैन । हरेक वर्षको समारोह समितिको चाबी सीमित व्यक्तिमा हुन्छ । नेपाल सम्वत् र यसका प्रवर्तक शंखधर साख्वाः को नाममा सीमित व्यक्तिले एकखालको धन्दा नै चलाएका छन् भन्दा फरक पर्दैन । प्रजातन्त्र पुनस्र्थापनापछिका नयाँ वर्षहरू मनाउन संस्कृति मन्त्रालय, काठमाडौं महानगरपालिका र अन्य ठाउँबाट कति आर्थिक सहायता आयो, कहाँ कसरी कति खर्च भयो भन्ने हिसाबकिताब हुने गरेको पाइँदैन ।

नेपाल सम्वत् र राष्ट्रिय विभूति शंखधर साख्वाः सम्बन्धी अध्ययन–अनुसन्धान गर्ने नाममा पनि पैसा खर्च गरिन्छ, तर त्यसको उपलब्धि शून्य छ । यस सम्बन्धमा जति लेख–रचना प्रकाशित गरिन्छन्, ती सबै पुरानै कुराको पुनर्लेखन मात्र हुन् । त्यस्तै, शंखधरको मुहारचित्र भनी दर्जनभन्दा बढी प्रकारका आकृतिहरू ल्याइएका छन् । तिनको आधिकारिकताका सम्बन्धमा भने कोही जिम्मेवार छैनन् । केही आकृतिमा त स्वयं कलाकारको अनुहार देखिन्छ । विभिन्न ठाउँमा राखिएका शंखधरको सालिकका आकृतिहरू पनि एकअर्कोसँग मिल्दैन । शुरुमा पशुपतिनाथ मन्दिर परिसरको एक जोगीको मूर्तिलाई शंखधर साख्वाः को मूर्ति भनिएको थियो, तर त्यसको ऐतिहासिक पुष्टि भने कहिल्यै गरिएन । मूर्तिको हातमा शंख हुनु नै शंखधर हुनु भनेको त होइन होला !

शंखधरको मूर्ति पहिचान गर्न केही वर्षअघि नेपालभाषा मंका खलःको अगुवाइमा एउटा विशेषज्ञ समिति बनेको थियो । त्यसमा रहेका पद्मरत्न तुलाधर, नरेशवीर शाक्य, भुवनलाल प्रधानलगायतका व्यक्तिहरूमध्ये कोही पनि मूर्ति विज्ञानका जानकार होइनन् । यस्ता हचुवा कामको फेहरिस्त बनाउँदा निकै लामो बन्छ । अर्कोतिर, यसरी शंखधर साख्वाः नामका ती पात्रलाई लिएर प्रदर्शन हुने गरेका अनुरक्तिले अन्य समुदायमा यिनी नेवार समुदायको आदि पुरुष नै पो हुन् भन्ने भ्रम सिर्जना भएको छ । यस्ता बेतुकका चर्चाहरूले स्वयं नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक म्हपूजा नै ओझेलमा पर्न थालेको छ ।

प्रतिकृया दिनुहोस