च्याम्पियन्स लिग: बलिया टिमको बिजयी शुरुवात, सिटी घरेलु मैदानमै पराजित
युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजन अन्तर्गत समूह चरणका खेलमा युरोपका बलिया टिमहरुले विजयी शुरुवात गरेका छन्।
३ असोज राति सम्पन्न खेलमा साविक विजेता स्पेनको रियल मड्रिडले घरेलु मैदानमा इटालियन क्लब एएस रोमामाथि ३–० गोलको जित निकालेको छ। रियलको जितमा गारेथ बेल, इस्को र मारियानोले एकएक गोल गरे।
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो यही सिजन युभेन्टस् पुगेपछि रोनाल्डोबिना नै च्याम्पियन्स लिगको शुरुवात गरेको रियलले सुखद नतिजा निकालेको हो। तर, इङलिस प्रिमियर लिग बिजेता म्यान्चेस्टर सिटीका लागि भने च्याम्पियन्स लिगको शुरुवात सुखद हुन सकेन।
सिटी आफ्नो घरेलु मैदानमा फ्रेन्च क्लब ल्योनसँग २–१ ले पराजित भयो । पहिलो हाफमै २–० ले पछि परेको सिटीले दोस्रो हाफमा बर्नार्डो सिल्भाको गोलबाट खेलमा पुनरागमन गर्ने संकेत गरेको थियो। तर, निर्धारित समयमा अर्को गोल हुन सकेन। अर्को इङलिस क्लब म्यानचेस्टर युनाइटेडले भने योङ ब्वाइजमाथि ३–० को जित निकाल्यो।
गत सिजन च्याम्पियन्स लिगको फाइनल पुगेको इटालियन च्याम्पियन युभेन्टसले स्पेनिस क्लब भ्यालेन्सियालाई २–० ले पराजित गर्यो । तर, युभेन्टसको यो जित उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पाएको रेड कार्डका कारण छायाँमा पर्न गयो।
जर्मन लिग च्याम्पियन बायर्न म्युनिखले पोर्चुगिज क्लब बेन्फिकामाथि २–० को जित निकाल्दै च्याम्पियन्स लिगमा सुखद शुरुवात गर्यो।
अघिल्लो राति सम्पन्न खेलहरुमा सबभन्दा रोचक लिभरपुल र पेरिस सेन्ट जर्मन (पीएसजी) बीचको प्रतिस्पर्धा रह्यो । स्टार खेलाडीहरु पिएसजीका नेयमार, एम्बाप्पे र काभानी तथा लिभरपुलका मोहम्मद सलाह, रोबर्टो फिर्मिनो र साडियो मानेका कारण पनि यो खेल धेरैका लागि प्रतिक्षित थियो।
लिभरपुलको घरेलु मैदानमा सम्पन्न खेलमा नतिजा ३–२ ले लिभरपुलको पक्षमा आए पनि जितका लागि लिभरपुलले इन्जुरी समय कुर्नुपरेको थियो। लिभरपुलका तर्फबाट फिर्मिनोले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए।
सोही राति सम्पन्न खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनाले पिएसभीमाथि कप्तान लियोनल मेसीको ह्याट्रिकसहित ४–० को जित निकाल्यो। च्याम्पियन्स लिग अन्तर्गत समूह चरणका अन्य खेल अक्टोबर २ मा शुरु हुने छन्।