दुबईका अपार्टमेन्ट बिक्री गर्न नेपालमा अवैध घरजग्गा मेला
नेपालबाट २ हजार ५ सय डलरभन्दा बढी विदेश लैजान कानूनी रुपमा नमिले पनि करोडौं रुपैयाँ पर्ने घर बिक्रीका लागि दुबईका रियल स्टेट कम्पनीहरुको काठमाडौं केन्द्रित प्रचारप्रसार बढ्दो छ ।
दुबईका रियल स्टेट कम्पनीका प्रतिनिधिहरु घर बिक्रीका लागि बजार प्रवर्द्धन गर्न तीन महिनाको अवधिमा तेस्रो पटक काठमाडौं आएका छन्। अजिजी डेभलपर र दमास रियल स्टेट कम्पनीका प्रतिनिधिले आगामी ५, ६ र ७ असोजमा काठमाडौंस्थित अन्नपूर्ण होटलमा 'दुबई प्रोपर्टी शो' हुन लागेको भन्दै विभिन्न व्यक्तिलाई मोबाइलमा एसएमएस पठाइरहेका छन्।
उनीहरुले गोप्य रुपमा मेला आयोजना गर्न लागेका हुन् । होटल अन्नपूर्ण स्रोतका अनुसार, आगामी शुक्रबारदेखि तीन दिनसम्म 'दुबई प्रोपर्टी शो' का लागि हल बुकिङ गरिएको छ।
एसएमएसमा मेलामा सहभागी हुन आमन्त्रण गर्दै रु.डेढ करोड भन्दा बढी फाइनान्सिङ सुविधा र सरल भुक्तानी योजनामा दुबईमा आवासीय अपार्टमेन्टहरु बिक्रीमा भएको व्यहोरा उल्लेख गरिएको छ।
यसअघि यिनै दुई रियल स्टेट कम्पनीले पहिलो पटक गत २ र ३ असारमा ह्यात होटलमा तथा ४ र ५ असारमा होटल अन्नपूर्णमा गोप्य रुपमा 'प्रोपर्टी शो' गरेका थिए । नेपालमा पहिलो पटक गरिएको कार्यक्रमबाट उत्साहित उनीहरुले दोस्रो पटक २६ देखि २८ साउनमा होटल अन्नपूर्णमै दुबईमा घर बिक्रीका लागि प्रचारप्रसार कार्यक्रम गरेका थिए ।
कानूनी रुपमा नेपालीले २ हजार ५ सय डलरभन्दा बढी रकम विदेश लैजान पाउँदैनन् । तर, उक्त रियल स्टेट कम्पनीका प्रतिनिधिले कानूनले निषेध गरेभन्दा बढी रकम कसरी विदेश लैजाने भन्ने प्रश्नमा 'त्यसको जिम्मा आफूले लिने' बताउने गरेका मेलाका एक सहभागीले हिमालखबरलाई बताए।
जानकारहरु नेपालीलाई अपार्टमेन्ट बिक्री गरेर रियल स्टेट कम्पनीले नेरु नै लिने र सो रकम दुबईमा हुण्डी मार्फत लैजाने गरेको बताउँछन्।
यसअघि दुई पटक नेपाल आउँदा आयोजित गोप्य मेलामा दुबईमा घर किन्न इच्छुक विभिन्न धनाढ्यलाई भेटेका अजिजी र दमासका प्रतिनिधिले यसपटकको मेलामा पनि सम्पर्क सूत्रबाट धनाढ्य व्यक्तिहरुलाई आमन्त्रण गरेका छन्। उनीहरुले त्यस्ता व्यक्तिको सिफारिशमा थप व्यक्तिहरुलाई भेट्ने गरेका छन्।
ती प्रतिनिधिहरुले अबको केही वर्षमै दुबई विश्वकै ठूलो व्यापारिक हब बन्ने र त्यहाँको रियल स्टेटमा गरिएको लगानी पाँच वर्षमै दोब्बर हुने भन्दै लगानी गर्न प्रलोभनमा पार्ने गरेका एक सहभागीले बताए । अजिजी डेभलपर र दमास रियल स्टेटले दुबईमा २५ हजार भन्दा बढी फ्ल्याट निर्माण गरिरहेको कम्पनीको वेबसाइटमा उल्लेख छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनाली विदेशी कम्पनीले अनुमति नलिई नेपालमा कुनै पनि कार्यक्रम गर्न नपाउने बताउँछन्। "यस्तो कार्यक्रम हुने गरेको छ भने गैरकानूनी हो । नेपालीले विदेशमा पैसा लैजान मिल्ने कानून पनि छैन", मैनाली भन्छन्, "विभागले यसमा छानबिन गर्नेछ।"
- शरद ओझा