गाई फार्म सञ्चालनको अनुमति दिन संघीय सरकारसँग गण्डकी प्रदेशको अनुरोध
गण्डकी प्रदेशमा दश हजार गाई पाल्ने गरी फार्म सञ्चालन गर्न सहयोग गर्ने चिनियाँ सरकारको प्रस्ताव स्वीकृत गर्न गण्डकी प्रदेश सरकारले संघीय सरकारसँग अनुरोध गरेको छ ।
गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले गाई फार्म सञ्चालन गर्ने चिनियाँ प्रस्तावलाई स्वीकृति दिन अनुरोध गरेको हो ।
चीन सरकारले गण्डकी र प्रदेश–३ मा गाई फार्म सञ्चालनका लागि सहयोग गर्ने जनाएको छ ।
फार्म संचालनको मोडालिटी कस्तो रहने भन्नेबारे संघीय सरकारले अनुमति दिएपछि मात्र निक्र्यौल हुने गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
बस्नेतले भने, “सार्वजनिक, निजी लगानी वा कुन मोडलबाट फार्म संचालन गर्ने भन्नेबारे निर्णय भएको छैन ।”
दुग्ध विकास बोर्ड मातहत रहेर उक्त फार्म सञ्चालन गर्ने गण्डकी सरकारको योजना छ ।
बैठकले प्रदेश पर्यटन विधेयक, वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा सदुपयोग सम्बन्धी विधेयक निर्माणका लागि पनि सैद्धान्तिक स्वीकृति दिएको छ ।
पर्यटन क्षेत्रको प्रवद्र्धन र नियमनका लागि र वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण गर्दै सदुपयोग गर्न विधेयक बनाउन लागेको जनाइएको छ ।
त्यस्तै आजको बैठकले नवलपुरमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय स्थापना गर्न १४ जना कर्मचारी र पर्यटन प्रवद्र्धन केन्द्रको कार्यालय स्थापना गर्न १५ जना कर्मचारी सहितको कार्यालय स्थापनामा सहयोग गर्न पनि संघीय सरकारसँग अनुरोध गरेको छ ।
युवराज श्रेष्ठ, पोखरा