सम्पादकीयबुधवार, आश्विन ३, २०७५

दिल्ली दौडको औचित्य

किरण नेपाल

देशभित्रका समस्या आफैंले समाधान गर्नुपर्छ भन्ने भावना बढिरहेको बेला पार्टीभित्रका गोप्य सहमति दिल्लीलाई बुझाउँदा बलियो भइन्छ कि कमजोर भन्ने थाहा पाउन दाहालले धेरै कुर्नुपर्ने नहोला ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले हालै गरेको भारत भ्रमणले उनकै पार्टीभित्र विभिन्न आशंका उब्जाएको छ ।

नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको पाँच महीना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो पटक नेपाल भ्रमण गरेको दुई साता नपुग्दै दिल्लीले दाहाललाई निम्त्याउनु आश्चर्यजनक त छँदै थियो, उनले त्यहाँ पुगेर दिएको अभिव्यक्तिले विवाद नै निम्त्याएको छ ।

दाहालले पार्टी एकता हुँदा ओलीले दुई वर्षभित्रै आफूलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद दिने सहमति गरेको दिल्लीबाट खुलासा गरेका छन् । उनको यो अभिव्यक्ति सत्ता राजनीतिको लालसासँग मात्र जोडिएको छैन, विदेशी भूमिमा पुगेर उनले गरेको खुलासाले विगतदेखिका उनका वैध–अवैध सम्बन्धका तन्तुहरू कहाँसम्म जोडिएका छन् भन्ने तथ्य फेरि सम्झाइदिएको छ ।

अझ आश्चर्यजनक रूपमा उनले ओलीसँग भएको सहमति पालना हुने र यदि नभएमा दुई वर्षपछि त्यसै अनुसार सोचिने जानकारी भारतीय नेताहरूलाई दिएको एक अन्तर्वार्ताका क्रममा बताएका छन् । दाहालको यो व्यवहारबाट प्रष्ट छ– उनी नेपालको सत्ता राजनीतिको चाबी आफूसँग राख्न र आफ्ना आन्तरिक मामिला आफैं मिलाउन सक्षम छैनन् । भारत र त्यहाँका विभिन्न एजेन्सीहरूसँग उनको शंकास्पद सम्बन्ध अझै पनि कायम छ ।

गत वर्ष असोजमा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताका लागि समझदारी बन्दा मंसीरको आम निर्वाचनलगत्तै पार्टी एक हुने घोषणा गरिए पनि निर्वाचन सम्पन्न भएको ६ महीनासम्म कुर्नुपर्‍यो । स्पष्ट छ, एकताले यति लामो समय लिनुका पछाडिको कारण पदका लागि दाहालले गरेको ‘बार्गेनिङ’ थियो ।

नेपाली राजनीतिमा खेलिरहन बानी परेको भारतले दाहाललाई निम्त्याएर नेकपाभित्र विकल्पको रूपमा उभ्याउने प्रयास गरेको छ ।

तर, त्यसबेलाको सहमतिको विस्तृत विवरण र लिखतबारे अन्य नेताहरूले अहिलेसम्म मुख नखोलेको अवस्थामा दाहालले दिल्ली पुगेर त्यसको खुलासा गर्दा नेपाली राजनीतिमा तरंग सिर्जना गरेको छ । यद्यपि, ओली र दाहालबीच सहमति भएको र अरू नेताहरू पनि त्यसबाट बेखबर नरहेको आकलन भएको पनि छ ।

तर, सम्बन्ध विस्तारको नाममा दाहालले त्यसको विवरण दिल्लीमा बुझाउनुपर्ने कारण चाहिं बुझिनसक्नु छ । हिजो शेरबहादुर देउवाले दिल्ली पुगेर ‘संविधान संशोधन गरिनेछ’ भन्दा सार्वभौमिकतामाथि आँच आएको ठान्ने तत्कालीन एमालेका नेता कार्यकर्तालाई दाहालको यो तरिका कस्तो लागेको होला अनुमान गर्न सकिन्छ । 

दिल्ली र दाहाल दुवैको पारस्परिक आवश्यकता अनुसार यो भ्रमण आयोजना गरिएको बुझन अब गाह्रो छैन । दाहाल दिल्ली पुगेदेखि उनको खातिरदारी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँगको रात्रिभोजबाट शुरू हुँदै गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटघाट, भारतीय सञ्चारमाध्यममा उनले पाएको प्राथमिकता र दाहालकै हाउभाउले पनि यो भ्रमण एक पक्षको मात्रै आवश्यकता थिएन भन्ने बुझिन्छ ।

नेपाली राजनीतिमा खेलिरहन बानी परेको भारतले दाहाललाई निम्त्याएर नेकपाभित्र विकल्पको रूपमा उभ्याउने प्रयास गरेको छ । योसँगै तत्कालीन एमालेभित्र प्रयोग गर्दा सफल नभएको सूत्रलाई दिल्लीले नवगठित नेकपाभित्र कार्यान्वयन गर्ने कोशिश पनि गरेको छ । उता दाहालका लागि पनि आफ्ना पछाडि बलियो साथ छ भनेर देखाउने अवसर बनेको छ, यो भ्रमण ।

दिल्लीसँग दाहालको सम्बन्ध विगतदेखि नै रहस्यमय र उतारचढावयुक्त छ । भारतमा बसेर नेपालमा हिंसात्मक युद्ध निर्देशन गरिरहँदा होस् वा पहिलो पटक प्रधानमन्त्री हुँदा/बाहिरिंदा, दोस्रो पटक प्रधानमन्त्री हुँदा होस् वा एमालेसँग एकता गर्दा उनको दिल्लीसँगको सम्बन्ध भिन्दाभिन्दै आयाममा प्रकट भएको छ ।

आगामी दुई वर्षभित्र पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद लिने र त्यसका आडमा अर्को पद पनि हत्याउने योजनामा रहेका दाहालले वर्तमान सरकारको बढ्दो अलोकप्रियता, सरकारप्रति छिमेकीको अरुचि र पूर्व एमालेभित्रको अन्तरविरोधलाई उपयोग गर्न सक्दा आफू अनुकूल वातावरण बन्ने आकलन गरेका हुनसक्छन् ।

नत्र केन्द्रमा एकताको घोषणा भए पनि देशभर पार्टी एकतालाई असरल्ल छाडेर र एकीकृत पार्टीभित्रको आन्तरिक समीकरणको पूर्ण चित्र नआइपुग्दै दिल्ली दर्शनका लागि उनी हतारिने थिएनन् ।

दाहालको दिल्ली भ्रमणले प्रधानमन्त्री ओलीलाई त झस्काएको हुनुपर्छ नै, अरू नेताहरूलाई पनि एकठाउँमा उभिएर सोच्न बाध्य बनाएको हुनुपर्छ ।

देशभित्रका समस्या आफैंले समाधान गर्नुपर्छ भन्ने भावना बढिरहेको बेला पार्टीभित्रका गोप्य सहमति दिल्लीलाई बुझाउँदा बलियो भइन्छ कि कमजोर भन्ने थाहा पाउन दाहालले धेरै कुर्नुपर्ने नहोला । तत्कालीन एमालेभित्रका दुई पक्षबीचको अन्तरविरोधमा उनले खेल्न खोजेको बुझेका नेता कार्यकर्ता एकताका बाँकी प्रक्रियामा कसरी प्रस्तुत हुन्छन् त्यसैबाट धेरै कुरा स्पष्ट हुनेछ ।

पढ्नुहाेस् । 

प्रत्युत्पादक ‘प्रचण्ड–कार्ड’

प्रतिकृया दिनुहोस