अपराधी जुनसुकै ओहोदाको भए पनि कारबाही हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कारबाही गरिने बताएका छन् ।
दोषीमाथि कारबाहीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मला पन्तका बुबाआमासँग प्रधानमन्त्रीले अपराधी कुनै हालतमा उम्कन नसक्ने बताएका हुन् ।
उनले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराध भएकाले कडाइका साथ छानबिन र कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेको पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएको र प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको जानकारी पनि गराए ।
प्रधानमन्त्री ओलीले भने, “प्रारम्भिक छानबिनमा केही कमजोरी देखियो । प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्छन् तर अनुसन्धान पूरा नभइकन आरोप लगाइहाल्न मिल्दैन । त्यसैले राज्यले छानबिन गर्छ । राज्यले कानूनी कारबाही गर्छ । दोषीलाई बचाउने कुरा सोच्न पनि सकिन्न ।” रासस