ब्लगसोमवार, आश्विन १, २०७५

गोमालाई बिजुली ट्रली

कनकमणि दीक्षित

समय मिलाउन सक्नुहुन्छ भने जानुहोला जोरपाटी, गोमा दुलाललाई भेट्न ।

पीडा, हिंसा वा बिचल्लीमा परेका नागरिकलाई राज्यले जबसम्म संविधानले दिएको जीवन, स्वास्थ्य र सामाजिक सुरक्षाको अधिकार पूरा गर्न सक्दैन, त्यो अभिभारा अन्य नागरिकको हुन जान्छ ।

पीडा त देशमा सर्वत्र छ, कुनै एक व्यक्तिको अवस्था उजागर गर्न खोज्दा बाँकी लाखौं पीडितको कुरा नि ! भन्ने प्रश्न पनि जायज हो । तर एउटा नागरिकको पीडा र आकांक्षाको कुरा राख्नु अनुचित होइन– विम्ब हो, जसले अरू धेरैको अवस्था प्रतिनिधित्व पनि गर्छ ।

यस्तै कथा हो ४९ वर्षीया गोमा दुलालको, जसका इच्छा–आकांक्षा अहिले एउटा ‘इलेक्ट्रिक ट्रली’ मा आएर केन्द्रित, वा भनौं सीमित हुन पुगेको छ ।

टुँडिखेलछेउ अन्तर्राष्ट्रिय ह्विलचेयर दिवस र्‍यालीमा सहभागिता जनाउँदै गोमा दुलाल ।

मैले गोमालाई चिनेको १६ वर्षअघि हो, जब स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रले जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रबाट आफ्नो काम शुरु गर्‍यो । छेवैको अपाङ्गता भएकाहरू बस्ने राइडर चेशर होम्स्‌मा बस्दथिइन् गोमा ।

शिर र हात बाहेक शरीरका कुनै अंग नचल्ने गोमाको सौहार्दता उल्लेख्य थियो । भर्खर स्थापित ‘स्पाइनल’ का हामीले उनीबाट धेरै हौसला पायौं । पछि पुनर्स्थापना केन्द्र साँगा, काभ्रे सर्‍यो तर हाम्रो लागि गोमाको ओज उस्तै रह्यो ।

रौतहटमा पाँच छोरी र एक छाेरा मध्येकी माहिली गोमा जन्मेको माघ २०२५ मा । ११–१२ वर्षमा हिंड्न–ओर्न गाह्रो हुन थाल्यो । उनी बिस्तारै थला पर्दै जाँदा विपन्न परिवार हेटौंडा जिल्ला अस्पताल पुग्यो, तर रोग पत्ता लागेन । कुइना र घुँडाका जोर्नी सुन्निन थाले, बिस्तारै शरीर चल्नै नसक्ने भयो ।

पुरानो ट्रलीमा गोमा ।

२०४६ सालमा जोरपाटीस्थित ‘एचआरडीसी’ संस्थामा हाडजोर्नी सर्जन डा. अशोक बाँस्कोटाले उनको रोग पत्ता लगाए । यो थियो ‘मल्टिपल र्‍यूमाटोइड आर्थराइटिस्’, जसले जीउ भरिका ‘जाइन्ट’ लाई आक्रमण गर्छ । जसको रोकथाम र उपचार छैन, मात्र ‘व्यवस्थापन’ गर्न सकिन्छ ।

डा. बाँस्कोटाले पहल गरी गोमालाई राइडर चेशर होम्स्‌मा भर्ना गराए । आज उनको जोरपाटी बासको झण्डै दुई दशक भइसक्यो । शरीरमा रोगको आक्रमण बढ्दै गएर ह्विलचेयरमा बस्न नसकेपछि उनलाई ‘ह्विल बेड’ अथवा ट्रलीमा राखियो ।

गोमा दुलाललाई नयाँ साथी बनाउन मन पर्छ, गफिन रमाउँछिन्, नयाँ कुरा जान्न–सिक्न चाहन्छिन् । जीउ कमजोर छ, उत्साह यथावतै ।

ओल्टाईपल्टाई गर्ने, खान दिने, भित्र बाहिर गर्ने सबै अरूको सहारामा । गोमाकी माता दश वर्षअघि बित्नुभयो, पिता बितेको पाँच वर्ष भयो । बाबुआमा बितेपछि दाइ–बहिनीहरूसँग उनको सम्पर्क पातलिएको छ । कहिलेकाहीं मोबाइल फोन कसैले कानछेउ अडाइदिन्छ र भलाकुसारी गर्ने मात्र हो ।

गोमाको जीउ अहिले ढुंगाको ढिक्का जस्तो भएको छ, हातखुट्टामा हाड र छाला मात्र छन् । तर आँखामा उत्सुकता झल्कन्छ, बोलीमा मिठास ।

नयाँ बिजुली ट्रली ।

उनको मनोरञ्जन गर्ने माध्यम गीत–संगीत हो । गएको दुई दशकमा उनको खुशीको क्षणमध्ये एक हो, जब अमृत गुरुङ र उनको ‘फोक्–रक’ ब्याण्ड ‘नेपथ्य’ ले जोरपाटीमै आएर त्यहाँ विभिन्न कारणले थला परेका जमातमाझ कन्सर्ट गरे । आजभोलि गायक–संगीतकार कुमार पौडेल हरेक शुक्रबार जोरपाटी आएर गाउँछन्, गोमालाई खुशी पारेका छन् । “संगीत त म छउन्जेल सुन्छु, संगीत नभए त मरिन्छ होला !”

चार दशक रोग व्यहोरेकी गोमाको शरीर उमेर बढ्दै जाँदा झनै कमजोर भएको छ । यस उमेर र अवस्थामा चाहिने पौष्टिक परिकार नभई सबैलाई तयार पारिदिएको खाना उनको थालमा पर्छ । तर उनलाई सबैभन्दा खट्केको पक्ष आफ्नो ‘मोबिलिटी’ हो । आफ्नो ‘म्यानुएल’ ट्रली कसैले नघचेटिदिएसम्म उनी भित्र–बाहिर गर्न सक्दिनन् सबथोकको लागि अरूकै भर ।

‘स्पाइनल’ का मित्रहरूलाई एक वर्षअघि गुहारिन् गोमाले, “एउटा इलेक्ट्रिकल ट्रली भए म आफ्नो हातले यताउता गर्न सक्नेथिएँ, अहिले जस्तो अरूमा पूरै भर पर्नुपर्दैनथ्यो ।” ‘स्पाइनल’ संस्थाका स्टाफले पहिला त गोमाका लागि बिजुली ट्रली काठमाडौंमै बनाइदिने कोशिश गरे । पछि भारतबाटै मगाउने निधो गरे । त्यो ‘ह्विल बेड’ अहिले आइपुगेको छ, र प्रशिक्षणपछि जोरपाटीमा गोमाको स्वामित्वमा जानेछ ।

गोमा दुलाललाई नयाँ साथी बनाउन मन पर्छ, गफिन रमाउँछिन्, नयाँ कुरा जान्न–सिक्न चाहन्छिन् । जीउ कमजोर छ, उत्साह यथावतै । गोमा आफैं ट्रली गुडाएर आउनेछिन्, यदि तपाईं जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्र पुग्नुभयो भने ।

प्रतिकृया दिनुहोस