कोशी गाउँपालिकाका २६ सिफारिश निःशुल्क
सुनसरीको कोशी गाउँपालिकाले जनउत्तरदायी काम शुरु गरेको छ। यसैक्रममा गाउँपालिकाले २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ।
जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए।
गाउँपालिकाले मोही नामसारी तथा मोही बाँडफाँट सिफारिश, निवेदन दस्तुर, कच्ची घर प्रमाणित, बसोबास प्रमाणित, नाम थर उमेरलगायत संशोधन, टिनको छाना भएको कच्ची घर कायम सिफारिश, तीनपुस्ते खुल्ने सिफारिशलगायतका काम निःशुल्क गरेको छ।
त्यसैगरी नागरिकता प्रमाणपत्र, नागरिकता सर्जमीन, नागरिकताको प्रतिलिपि, अङ्गीकृत नागरिकता, वैवाहिक अङ्गीकृत, विवाह प्रमाणपत्र, जन्म प्रमाणित, मृत्यु प्रमाणित, बसाइँसराइ प्रमाणित, अविवाहित प्रमाणित, चारित्रिक एवं सूचीकृत वर्ग सिफारिश कोशी गाउँपालिकामा स्थायी बसोबास नभएको हकमा, कृषिसम्बन्धी, व्यवसाय बन्द गर्ने, नाता प्रमाणित नेपाली र अङ्ग्रेजीमा, नम्बरी जग्गाको रुख काट्ने, विद्युत् लगायतका सिफारिश निःशुल्क गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष अनितादेवी यादवले जानकारी दिए। – रासस