टिप्पणीसोमवार, आश्विन १, २०७५

फैलिंदो पोखरा खुम्चिंदो पोखरा

मिलन बगाले

पर्यटकीय शहर पोखराको सुन्दरता र स्वच्छता घना बस्ती र प्रकृतिमाथिको अचाक्लीका कारण नासिंदै जाने डर बढेको छ ।

फेवातालस्थित तालबाराही मन्दिर ।

देशभरका अधिकांश शहर जस्तै पोखरासँग पनि फोहोर थुपार्ने, बटुल्ने र प्रशोधन गर्ने उन्नत प्रविधि र भरपर्दो बन्दोबस्त छैन । तर, पोखरा अरू शहरजस्तो फोहोर छैन । उपमहानगरपालिकाबाट महानगरपालिका बने पनि नक्शामा क्षेत्रफल बढेको मात्र हो, अर्थोक थपिएको होइन ।

हराभरा पोखरा घरैघरले भरिने क्रमसँगै रूखो देखिंदैछ । पोखरालाई हरियालीयुक्त सुन्दर र समृद्ध बनाउने गुरुयोजना बनेको, त्यसै अनुसार घरबस्ती र बाटो बनेको, तालको संरक्षण भएको र योजनाबद्ध रूपमा पोखरा भरिंदै गएको खबर मैले सुनेको, पढेको छैन ।

पोखराको घना बसोबास हेर्दा नक्शा अनुसार बनिरहेको नलागे पनि बिग्रिनबाट भने बचेको छ । त्यसको एउटै कारण हो, सामाजिक पूर्वाधार संरक्षण र सरसफाइमा पोखरेलीको चेतना । सरसफाइ पोखराको जीवनशैली र संस्कृति दुवै हो ।

२०५७ देखि २०५९ सालसम्म पढ्नका लागि म पोखरा बसें । केही महीना चिप्लेढुंगा र धेरै समय नदीपुर बस्दा मैले सधैं याद गरेको एउटा कुरा अन्यत्र भन्दा फरक थियो । कोठा, चोटा पिंढी हुँदै बाटोको मुखैनेर फोहोर मिल्काउने चलन पोखराले जानेन । झ्याल खोलेर पल्याकपुलुक दायाँबायाँ हेर्दै बाटोछेउ फुत्त फोहोर फाल्ने चलन पनि पोखराले सिकेन ।

बाटो, आँगन, पिंढी हुँदै कोठा–चोटा बढार्ने, पखाल्ने पोखरेली चलन अहिले पनि ज्यूँका त्यूँ छ । त्यो चलनको झ्ल्को घर, आँगनका साथै पार्क र मन्दिरहरूमा पनि देख्न सकिन्छ ।

हिलाम्य सडकका बडेबडे खाल्डा जेनतेन छिचोल्दै ढुंगा छापिएको आँगनबाट मार्बल हालिएको भर्‍याङ हुँदै पार्केट ठोकिएको बैठक कोठामा बसेर सरकारलाई गाली गर्ने हाम्रो समग्र राष्ट्रिय चरित्रभन्दा अलि फरक छ पोखरा । त्यसैले त चोक, मन्दिर, पार्क सबैतिर सिनित्त छ ।

रूख काटेर अग्लिने रहर
पोखराका घर धेरै अग्ला नभए पनि अग्लिने होड शुरू भएको छ । नयाँ र ठूल्ठूला नगर बसहरूले यात्रामा सहजता थपेका छन् । तर, सबै चीज राम्रा मात्र छैनन् । बडेबडे र नौला डिजाइनका घरहरूले सजिएको लेकसाइडले फेवाताललाई त्यति धेरै माया गरेजस्तो लाग्दैन ।

ताल धमिलो नभए पनि अझै सफा तालको आशा हरेक पर्यटकले पोखरेलीबाट गर्छन् । नमिचिएको ताल, अग्ला घरले नघेरिएको ताल, राम्ररी स्याहारिएको ताल, किनारभरि झुप्रा होटल र भट्टीहरूले नघेरिएको ताल । यो अपेक्षा पूरा भए जस्तो लाग्दैन ।

पोखरा सेरोफेरोमा वरपीपलका चौतारी धेरै छन् । तर, लेकसाइडले त वरपीपल काटेर ठुटा मात्रै जोगाउने उपद्रो जानिसकेछ । काट्नेसँग रेडिमेड जवाफ होला । तर, वरपीपल काटेर, चौतारो मासेर गरिने ‘विकास’ ले सिमेन्ट भर्न सिकाउला, आफ्नोपन जोगाउन सिकाउन्न ।

मौलिकता मासेको शहरले पर्यटकलाई कसरी लोभ्याउला ? आफ्नो जस्तै घर, बस्ती र शहर हेर्न कोही अर्काको देश, शहर र बस्तीमा किन जाला ? वरपीपलका रूखभन्दा धेरै अग्लिने रहर गरिरहेछ, लेकसाइड । विश्व शान्ति स्तूपाबाट नियाल्दा देखिन्छ, पोखराको अग्लिने रहर । रूख उखेलेर अग्लिने रहर पोखराको लागि आत्मघाती हो । केही वर्षअघि अर्मलामा भकारी जस्ता भ्वाङ परेको घटना पोखराले बिर्सनुहुँदैन ।

‘पोखरामा आठ अर्बको लगानीमा अठार तले अपार्टमेन्ट !’ शीर्षकको समाचार मैले पोखरा बस्दा नै पढें । मुख्यमन्त्रीले प्रदेशको विकासलाई टेवा पुग्ने भन्दै तारिफ गरेका थिए । फेवाताल, लेकसाइड, शान्ति स्तूपा सबै ‘सिमेन्टकै पहाड’ बाट देखिने, अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा सबै तयार हुने खबरमा उल्लेख थियो ।

यसरी जतासुकै अपार्टमेन्टहरू बन्दै गए समग्र शहरी सौन्दर्य के होला ? अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि हवाई सुरक्षामा कस्तो असर गर्ला ? यसतर्फ सोचविचार आवश्यक छ ।

तालवाराही र सरसफाइ
फेवातालको बीचमा रहेको तालवाराही मन्दिर पोखराको गहना हो । पानीभित्रको फराक ठाउँ र त्यसमाथि मन्दिर लगायतका सुन्दर संरचना हामी नेपालीका लागि दुर्लभ हो । समग्र व्यवस्थापनमा कमजोरी नदेखिए पनि एउटा कुनामा फोहोर थुपारिएको दृश्य शोभनीय लाग्दैन ।

फोहोर स्याहार्न डस्टबिन राख्न नसकिने होइन । त्यस्तै, तालभित्रको मन्दिरमा पूजा गर्नुअघि, हातखुट्टा धुन धाराको व्यवस्था छैन । धेरैजना पानी नपाएर अल्मलिएको देखिन्छ । अर्कातिर फोहोर थुपार्ने ठाउँमा पानीका बोतल थुप्रै भेटिन्छन् । धारो बनाएर बोतलका पानी बिक्रीलाई तालवाराहीमा निरुत्साहित गर्ने हो कि ?

प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने तर्खरसँगै घर बन्ने क्रम अबका दिनमा अझ बढ्नेछ । अहिलेसम्म पोखरेलीको स्वअनुशासनमा बाँचेको छ पोखरा । बस्ती घना बन्ने क्रमसँगै त्यो अनुशासन खुकुलिंदै जाने र अन्ततः अर्को भद्रगोल काठमाडौं बन्ने सम्भावना छ । पोखराको सभ्यता र प्रकृतिलाई जोगाउने प्रयासको जय होस् !

प्रतिकृया दिनुहोस