उखु किसानका लागि अनुदान रकम बढाउने तयारी
सरकारले उखु उत्पादक किसानलाई दिने अनुदान रकम बढाउने भएको छ ।
यसअघि सरकारले प्रस्ताव गरेको अनुदान रकममा किसानले असन्तुष्टि जनाएपछि अर्थ मन्त्रालयले अनुदान रकम बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो ।
राजस्व सचिव शिशिर ढुंगानाले उखु किसानलाई प्रति क्विन्टल ६५.२८ रुपैयाँ अनुदान दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको जानकारी गराए ।
सरकारले बजेटमार्फत उखु किसानलाई प्रति क्विन्टल ६० रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो ।
उखु उत्पादक किसानले पाइरहेको अनुदान रकम सरकारले घटाएको भन्दै त्यसको विरोध गरेका थिए ।
विगतमा उखु उत्पादक किसानलाई चिनी उद्योगीमार्फत अनुदान दिने व्यवस्था थियो ।
सरकारले चिनी उद्योगलाई मूल्य अभिवृद्धी कर (भ्याट) फिर्ता दिने र उद्योगीले भ्याट फिर्ताको रकम उखु किसानलाई दिने गरेका थिए ।
तर, चिनी उद्योगीले किसानलाई समयमै अनुदान रकम नदिएको गुनासो आएपछि सरकारले उद्योगीलाई दिएको भ्याट फिर्ता चालू आर्थिक वर्षको बजेटबाट खारेज गर्दै आफैंले अनुदान दिने घोषणा गरेको थियो ।
राजस्व सचिव ढुंगानाले रौतहट, सुनसरी र महोत्तरी जिल्लाको तथ्यांक संकलन भएको जानकारी दिंदै प्रत्येक जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयले उखु किसानलाई अनुदान रकम प्रदान गर्ने जानकारी दिए ।