टिप्पणीआइतवार, भाद्र ३१, २०७५

मौकाको ताकमा पुष्पकमल

शेखर खरेल

प्रयोग र उपयोगको राजनीतिमा खारिएका पुष्पकमल दाहालको ‘अवसरवादिता’ केपी शर्मा ओलीसँगको सत्ता साझेदारीमा जुनसुकै बेला खुलेर आउन सक्छ ।

गएको २४ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई तरङ्गित गर्ने एउटा ट्विट गरे– ‘हामी विकास र समृद्धिको अजेण्डामा हिंडिरहेका छौं । आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुन सक्छ ।’

‘समीकरण फेरबदलमा मात्रै बानी परेका’ को थिए, ओलीले नाम किटेका थिएनन् । चुनावी गठबन्धनका दुई घटक तत्कालीन एमाले र माओवादी केन्द्रले संघीय संसदको निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेर ओली नेतृत्वमा सरकार गठन भइसकेको तर ती दुई पार्टीबीच एकताको प्रक्रिया अवरुद्ध भइरहेको अवस्थामा ओलीको ट्विट कोप्रति लक्षित थियो, त्यो एक प्रकारले ‘ओपन सेक्रेट’ थियो ।

नभन्दै ट्विटको एकाध दिनपछि पार्टी एकताका विषयमा ती दुई दलका अध्यक्ष बीच भएको कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘ट्विट कोप्रति लक्षित थियो ?’ भन्दै ओलीलाई र्‍याखर्‍याख्ती पारे । तर, दाहालसँग तर्कपूर्ण प्रतिरोध गर्नु भन्दा पनि ओली ‘आफूले एक ढंगबाट ट्विट गर्न खोज्दा अर्कै ढंगको हुनपुगेको’ भन्दै उम्किए ।

अहिले लगभग ओलीकै अवस्थामा देखिए दाहाल पनि । दाहालको भदौ तेस्रो साताको भारत भ्रमणपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठकमा पूर्व एमालेका केही शीर्ष नेताले उनलाई भारत भ्रमणका बेला त्यहाँको अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्स लाई दिएको अन्तरवार्ताका कुरा स्पष्ट पार्न दबाब दिएपछि उनी पनि ओली झै उम्किएका छन् ।

उक्त अन्तरवार्तामा दाहालले ‘ओलीसँग दुई वर्षपछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये कुनै एक पद आफूलाई दिइने समझदारी बनेको’ खुलासा मात्रै गरेका छैनन्, आफू त्यही भावनाका साथ अघि बढिरहेको र त्यो कुरा भारतीय नेताहरूलाई पनि बताएको उल्लेख गरेका छन् । तर, सचिवालय बैठकमा दाहाल पनि ओली झै आफ्ना अभिव्यक्तिको प्रतिरक्षा नगरी आफ्नो भनाइ अन्तरवार्ताकारले बङ्ग्याएर प्रकाशन गरेको भन्दै उम्किएका छन् ।

वाम गठबन्धनका मुख्य घटक तत्कालीन एमालेका अध्यक्ष ओली निर्वाचनपछि बन्ने सरकारका स्वाभाविक रूपमा मुख्य हकदार थिए । निर्वाचनका बेला पनि ओलीलाई नै भावी प्रधानमन्त्रीको रूपमा उभ्याइएको थियो ।

भारतीय नाकाबन्दीका बेला कार्यकारी प्रमुखका रूपमा भारतसँगको ओलीको अडान वाम गठबन्धनको मतदाता आकर्षित गर्ने मुख्य मुद्दा थियो र परिणाम पनि त्यसै अनुसार गठबन्धनको पोल्टामा पर्‍यो । त्यसैले सरकार गठनमा तत्कालीन माओवादी केन्द्रको कुनै दाबी नरहँदा पार्टी अध्यक्ष दाहाल चूपचाप देखिए । तर एमाले र माओवादीबीचको रस्साकस्सी त्यसबेला सतहमा देखियो, जब यी दल एकीकरणको सम्मुख पुगे ।

सरकारको नेतृत्व ओलीलाई छाडेका दाहाल एकीकृत पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व, नभए दुई या तीन वर्षपछि सरकारको नेतृत्वको प्रतिबद्धता ओलीबाट चाहन्थे । एकीकरणमा विलम्ब हुनुको कारण पनि यही थियो ।

दाहालका यी शर्तबाट असहज बनेका ओली शायद उनलाई मनोवैज्ञानिक झट्का दिन चाहन्थे । यसै समयमा ओलीले दाहालको नाम उल्लेख नगरी समीकरण फेरबदलको ट्विट गरे, जसबाट दाहाल तरङ्गित भन्दा पनि आक्रोशित बनेका थिए ।

दाहाल खासमा एक यस्ता ‘डेमागग्’ हुन्, जो शक्ति र सत्तामा रहिरहन कुनै पनि सम्झौताका निम्ति पछि पर्दैनन्, भलै त्यो सम्झौताका पक्षधर देशभित्रका हुन् वा देश बाहिरका ।

ओली, दाहालको ‘अवसरवादिता’ बारे जानकार भन्दा पनि भुक्तभोगी हुन् । २०७२ असोजमा नयाँ संविधान जारीसँगै दाहालको समर्थनमा कार्यकारी प्रमुखको सत्तारोहण गरेका ओली उनै दाहालको कोल्टे फर्काइमा सिंहदरबारको कुर्सीबाट भुइँमा झर्न पुगे ।

सत्ता साझेदार तत्कालीन माओवादी केन्द्रको समर्थन फिर्तीका कारण सत्ताबाट बहिर्गमित हुँदै गर्दा ९ साउन २०७३ को संसदको सम्बोधनमा ओलीले दाहाललाई भएभरका शब्द, उपमा र विम्बको प्रयोगबाट घोर अवसरवादीका रूपमा चित्रण गरेका थिए । ओली कटाक्षका कारण कुम हल्लाइरहेका दाहालको मुख त्यति बेला रातो–नीलो बनेको थियो ।

तीन दशकसम्म पार्टीको एकछत्र नेतृत्वकर्ता अनि प्रयोग र उपयोगको राजनीति गर्दै दुईदुई पल्ट देशका कार्यकारी प्रमुख बनिसकेका पुष्पकमल दाहालले केपी शर्मा ओलीलाई पूरै पाँच वर्ष कार्यकारी प्रमुख र पार्टीको आगामी महाधिवेशनमा समेत अध्यक्षको कुर्सी सुम्पिनेछन् भनेर कसैले सोच्छ भने त्योभन्दा अबोध कल्पना अरू हुनै सक्दैन ।

‘प्रचण्डपथ’ को नयाँ भाष्यका साथ दश वर्ष सशस्त्र युद्धको नेतृत्व गरेका दाहाल खासमा एक यस्ता ‘डेमागग्’ हुन्, जो शक्ति र सत्तामा रहिरहन कुनै पनि सम्झैताका निम्ति पछि पर्दैनन्, भलै त्यो सम्झैताका पक्षधर देशभित्रका हुन् वा देश बाहिरका ।

एकअर्काको छायाँसम्मलाई देखिनसहने दाहाल र ओली आवश्यकताको सिद्धान्त अनुसार अहिले सत्ता सहयात्री मात्र होइन, एउटै पार्टीका सहयात्री बनेका छन् । ओली सरकारको शून्य डेलिभरी र अकर्मन्यताको सर्वत्र आलोचना भइरहँदा समेत दाहालले जुन मौनता साधेका छन्, त्यसबाट उनी सही मौकाको ताकमा रहेको अनुमान गर्न गाह्रो छैन ।

ओलीले दाहाललाई काँध बिसाउने प्रतिबद्धता गरेका छन्/छैनन् त्यो दाहाललाई नै थाहा होला । तर, जुन अकर्मन्यता र अभिमानका साथ ओली अघि बढिरहेका छन्, उनलाई पाँच वर्षअघि नै सरकारको काँध बिसाउनुपर्ने बाध्यता आउन सक्छ । र, त्यति समयसम्म सत्ता राजनीतिका कुटिल र महत्वाकांक्षी खेलाडी दाहाल पभेलियनमा नरही मैदान प्रवेश गरिसक्ने दाउमा हुनेछन् । हिन्दुस्तान टाइम्स सँगको अन्तरवार्तामा शायद दाहालले यसै कुराको संकेत गरेको हुनुपर्छ ।

प्रतिकृया दिनुहोस