फिलिपिन्समा शक्तिशाली आँधी, हङकङमा त्रास
फिलिपिन्समा आज शनिबार शक्तिशाली आँधी (सुपर टाइफून मंगखत) आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ। आँधीका कारण अहिलेसम्म तीन जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन्।
फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र वर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पुर्याउने अनुमान गरिएको छ। यस आँधीको मार्गमा ४० लाखभन्दा बढी मानिसहरू रहेका छन्।
प्रतिघण्टा १८५ किलोमिटरका दरले आँधी आएको मौसम अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले आँधी आउने बेलामा घरबाहिर ननिस्कन र सुरक्षित तरिकाले घरभित्रै बस्न आह्वान गरेका थिए।
स्थानीय समयानुसार गएराति १:४० पछि आँधी त्यहाँ आइपुगेको थियो। आँधीपछि त्यो क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
आँधी आउदो मङ्गलबारसम्म नै जारी रहने अनुमान गरिएको छ। यो अवधिमा सामुद्रिक र हवाई यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन्।
फिलिपिन्समा प्रत्येक वर्ष औसतमा २० ओटा यस्तै आँधी आउने गरेका छन् भने सयौँको मृत्यु हुने गरेको छ। त्यसैका कारण पनि दशौँ लाख गरिबीको रेखामुनी पर्ने गरेका छन्।
त्यसैगरी हजारौ बासिन्दा बाढी पहिरोबाट पनि प्रभावित हुने गरेको समाचारमा जनाइएको छ ।
हङकङमा ‘सुपर टाइफून’को त्रास !
फिलिपिन्सबाट हङकङतर्फ बढिरहेको शक्तिशाली सामुद्रिक आँधी आइतबार बिहानसम्म हङकङ नजिक आउने अनुमान गरिएको छ। हङकङ सरकारले जनतालाई सुरक्षित रहन भनेको छ भने सुरक्षा निकाय र आपतकालीन सहयोग केन्द्रहरुलाई सजग गराइएको छ। सुपर टाइफून यो सालको सबैभन्दा शक्तिशाली आँधी हो। यसको डायमिटर ८०० किमी र गति २०९ किमी प्रतिघण्टासम्म पुग्न सक्ने पुर्व अनुमान गरिएको छ।
– एएफपी