ब्लगशनिवार, भाद्र ३०, २०७५

राजाले टेकेको माटोको टीका

भैरव रिसाल

देश र जनताको अवस्था बुझ्न राजा महेन्द्रले २०१४ सालमा गरेको २३ दिन लामो सुदूरपश्चिम यात्रा विभिन्न घटना/प्रसंगका कारण रोचक थियो ।

राजा महेन्द्र देश र जनता पढ्न चाहन्थे । यी दुई कुरा नबुझे राज्य सञ्चालन गर्न सहज हुँदैन भन्ने राजनीतिको गुह्य उनले बुझेका थिए । देश र जनता पढ्न नै उनले देश भ्रमण गरे । त्यस क्रममा १२ वैशाख २०१४ मा उनी सुदूरपश्चिमको भ्रमणमा निस्किएका थिए ।

जम्माजम्मी १३०० को टोली रहेको उक्त सवारीमा हजार भन्दा बढी त सैनिक नै थिए होलान् । पत्रकारको हैसियतमा म पनि त्यो भ्रमणमा सहभागी थिएँ । २३ दिन लामो त्यो सवारी धनगढी, डडेल्धुरा, बैतडी र डोटीका लागि थियो । २०१४ सालमा देशमा ३५ मात्र जिल्ला थिए ।

त्यो बेला नेपालमा हेलिकप्टर थिएन । पहाडी क्षेत्रको यात्रामा राजा घोडा चढ्थे । राजा महेन्द्र चढ्ने रातो र कालो रङको घोडा थियो । दिनभरको यात्रापछि घोडालाई आफैंले मासको दुई–तीन वटा बारा खुवाउँथे । पिठ्यूँ सुमसुम्याएर माया पनि गर्थे । घोडा यसै पनि ज्ञानी प्राणी । त्यसमा पनि गद्दीनसीन राजाले चढ्ने भनेपछि विशेष सधाइएको थियो होला ।

मान्छे बगाएपछि पुल
१२ वैशाखमा महेन्द्र धनगढीबाट डोटीतिर उक्लिए । भ्रमण सकेर उनी ४ जेठमा काठमाडौं फर्किए । राजा कालो गाईको दूध खाँदा रहेछन् त्यो पनि बाच्छाबाच्छी नमरेको गाईको । त्यो बेला जिल्ला, गढी, गौडा र गोश्वारामा बडाहाकिम नै हाकिम हुन्थे । सवारी शिविरदेखि कालो दुहुनो गाई बन्दोबस्त गर्नेसम्मको जिम्मा सम्बन्धित जिल्ला बडाहाकिमको हुन्थ्यो ।

दर्शन गर्न ८/१० जना मान्छे जम्मा भएका ठाउँमा राजा घोडाबाट ओर्लन्थे । प्रायः उनीहरूसँग कुराकानी पनि गर्थे । अनौठो कुरा, राजा घोडाबाट ओर्लेर टेकेको र दुई–चार पाइला हिंडेका ठाउँको माटो खासगरी आमा, हजुरआमा उमेरकाहरूले निधारमा लगाउँथे । राजाले टेकेको भुइँमा औंलाले छोएर त्यो औंला ढोग्थे । तर, लोग्नेमान्छे तथा छोरी र बुहारी उमेरका महिलाहरूले त्यसो गरेको मैले देखिनँ ।

आजभन्दा ६१ वर्षअघिको सुदूरपश्चिम हो, मैले देखेको र यहाँ लेखेको । त्यो भ्रमणमा राजासँग डोटी, डडेल्धुरा र बैतडीका जनता आफ्नो ठाउँमा स्कूल, स्वास्थ्य संस्था, सडक, पुल, आकाशवाणी नमागी हुलाक माग्थे । म पत्रकारका नाताले स्थानीयहरूसँग स्कूल, अस्पताल, खानेपानी, पुल, सडक माग्नोस् भन्दै हिंड्थें ।

डोटीको तिलताली शिविरमा राजाको दर्शन गर्न सेतीपारिका गाउँबाट फौज आएको थियो । उर्लेको सेती नदी तर्ने क्रममा एक जनाको बगेर ज्यान गयो । तब टोलीमा काठमाडौंबाट आएका रामनाथ ‘अघोरी बाबा’ ले राजासँग कुरा गरे । एउटा झाेलुङ्गे पुल बनाउने रकम निकासा भयो ।

राजालाई हँसाउने मामा बाबुसाहेब
सवारी टोलीमा चार जना ताम्दान–उलिन काठमा चढेर यात्रा गर्थे । उनीहरू हिंड्न नसक्ने र घोडा समेत नचढ्ने भए पनि सवारीमा नभई नहुने भएकोले गएका थिए ।

ताम्दान यात्रा गर्नेमा सवारी मन्त्री (जो अर्थ, योजना, मालपोत तथा उद्योग वाणिज्य मन्त्री थिए) सरदार गुञ्जमान सिंह, डा. सुशीलचन्द्र हल्डर, राजाका लागि खाना तयार गर्ने प्रमुख बाबर्ची र राजालाई बेलुकी शिविरमा हँसाउने मामा बाबुसाहेब चूडाविक्रम शाह थिए ।

उनी रानी रत्नका मामा भएकाले ‘मामा बाबुसाहेब’ भनिंदो रहेछ । उनको जागिर नै रहेछ, राजा महेन्द्रलाई हँसाउने । मामा बाबुसाहेब खुट्टा टेक्दा पनि लर्खराउने पातला थिए । उनीसँगै डा. हल्डर र बाबर्ची दुब्ला पातला भएकाले उनीहरूको ताम्दान तीन/तीन जनाले बोक्थे । तर, सरदार गुञ्जमान मोटा भएकाले चार जनाले पनि बल्लतल्ल बोक्थे ।

रामलाल गोल्छा नाच्दा राजाको खित्का
दरबारको राजनीति अनौठो । राजाका सचिवहरू राजालाई मनोरञ्जन दिलाउन अनेक तिकडम गर्थे । महेन्द्र बृहत् साहित्य सम्मेलनमा सहभागी हुन विराटनगर गएका थिए । त्यसरी जाँदा उनी त्यस क्षेत्रका केहीलाई भेट्ने र कुरा सुन्ने ।

एक साँझ उद्योगपति रामलाल गोल्छाले आफ्नो परिवारले मात्र भेट्ने गरी दर्शनभेट माग्दा अनुमति पाएछन् । अनेकौं उपहारसहित उनको ठूलै परिवार उपस्थित भयो । उमेर ढल्किसके पनि अग्लो कद र आकर्षक व्यक्तित्वका गोल्छा चौथो पुस्ता सहित फुरुङ्ग थिए । उनले राजासँग शालीन शैलीमा आफ्ना कुरा राखे । राजाले पनि गम्भीर भएर उनका कुरा, उद्योग–व्यापारका अप्ठेराबारे विस्तारमा सुने ।

कुराकानीको क्रम सकिएपछि दरबारियाहरू रमाइलो खेल देखाउन अघि सरे । दरबारका एक सचिवले राजासँग भने, “सरकार, हाम्रा उद्योगपति रामलाल गोल्छा उद्योग चलाउन मात्र होइन, नाच्न र गाउन पनि उस्तै सिपालु हुनुहुन्छ ।” राजा मनोविनोदको भावमा रहेछन्, मुसुक्क हाँस्दै भने, “ए हो र ? हेरौं न त नाच, सुनौं न त गीत ।”

तब रामलाल नाच्न र गाउन थाले । त्यो वृद्धवय र त्यसमा पनि ठूलो ज्यानले के नाच्नु, भुँडी मात्र हल्लाए । गाउन त सक्दै सकेनन् । राजा लगायत सबै खित्का छाडेर हाँसे । गोल्छाका पनाति–पनातिनीले पनि रमाउँदै ताली पिटे ।

प्रतिकृया दिनुहोस